Wednesday 27th November 2024

चित्रमा पञ्चाङ्ग, भाग – ८७


पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १
मिति : २०८०/०७/१५
प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण
————————-
चन्द्रावती अधिकारी
चित्र सङ्कलन
———————–
सविता के.सी.
समायोजक
—————–
सविता के.सी.
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार ।
हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको सतासीयौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन र मौलिक भाव झल्किने आफ्नो मनले देखेको पञ्चाङ्ग आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।
नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित पञ्चाङ्ग लेख्नुहुन अनुरोध छ ।
चित्रमा पञ्चाङ्ग
===========
पञ्चाङ्ग १
हिजोआज फल्न छाड्यो मकै थाँङ्ग्रो देखिँदैन बुझ्यौ
कुरकुरे र लेज छाडी मकै त हेरिँदैन बुझ्यौ
यो इतिहास भइसक्यो चित्रमा हेर्ने रमाउने
मकै भटमासको पोल्टो कतै नि भेटिँदैन बुझ्यौ
दुखेको टाउकोलाई त्यो हाँडीले सेकिँदैन बुझ्यौ ।
सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ ।
पञ्चाङ्ग २
काम गर लौ
बिउ छर लौ
ढुङ्गा माटोको
हुन्छ भर लौ
भाग्छ डर लौ ।
– आर्त अकुलीन
पञ्चाङ्ग ३
धेरै गुणकारी अन्न मकै छ
रसिलो पोषिलो धन्न मकै छ
अन्नकै राजा भन्छन् मकैलाई
सजिलो छ रोप्न र खन्न मकै छ
मर्दैन भोकले टन्न मकै छ ।
होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
पञ्चाङ्ग ४

किसानले समय हेरेर काम गर्छ हेर
राम्ररी खनजोत गरेर मकै छर्छ हेर
परिश्रम गरे हाम्रो देशमा नहुने के छ
सबैले यसरी मकै फलाउनु पर्छ हेर
यसैले सबै समस्याहरू पनि टर्छ हेर ॥

छरछिमेकमा पनि ठुलीले काम टार्दिहुन्
घरमा पनि त उनै मुलीले काम टार्दिहुन्
मेहनतले यति धेरै मकै फलाएपछि
सबै खर्चबर्च यसै सुलीले काम टार्दिहुन्
पुग्दै नपुगे नाकको फुलीले काम टार्दिहुन् ॥

पहाडका गाउँमा गएर हेर मकैको सुली भेटिन्छ
त्यसको हेरचाह गर्ने पहाडी सुन्दर ठुली भेटिन्छ
परिश्रम गरे मकै घेरै उत्पादन हुन्छ पहाडमा
धेरै मकै फलाउन सक्ने घर घरमा मुली भेटिन्छ
मागेरै खानु परे पनि माना भरीभरी चुली भेटिन्छ ॥
गुणनिधि घिमिरे अमेरिका
पञ्चाङ्ग ५
मकैको थाक्रो अब फोटोमा मात्र परिमित हुने भयो
पहिले मकै फलाउथे भन्ने कुरा अतीत हुने भयो
के भन्नु बस्ती बढेर खेती योग्य जमीन हराएकोले
गाउँ बेसीमा पनि हरेक कुराको खण्डित हुने भयो
खाली बजारिया चिजबिजको मात्र जीवित हुने भयो।
सरस्वती श्रेष्ठ इटहरी
पञ्चाङ्ग ६
मैकैको थाँग्रो देख्न फोटोमा सिमित भयो
आफुले गरेका खेती पनि अतित भयो
उब्जनी मासेर सहरीकरण भए पछि
बिशाधीको खानाले मनै भयभीत भयो
रहनसहन देखि मन आजित भयो ।
दुर्गा भट्टराई
मोरङ
पञ्चाङ्ग ७
बर्षमा तीन बाली लगाउन सकिन्छ
बाझो खेत खनेर फलाउन सकिन्छ
हुन्छ मकै नेपालका सबै भूभागमा
संघर्षले निराशा ढलाउन सकिन्छ
फेरी मकैका शुली बनाउन सकिन्छ ।
सुस्मिता अधिकारी ,काठमाडौँ
पञ्चाङ्ग ८
गाउॅमा पनि मकैको सुली भेटिन्न अचेल
बुढीको पनि नाकमा फुली भेटिन्न अचेल
बिकास हो कि बिनास हो यो क्यै पत्तो भएन
बालक बृद्ध मात्र छन् मुली भेटिन्न अचेल
शहरतिर झरिछन् ठुली भेटिन्न अचेल ।
घनश्याम पौडेल,पोखरा
पञ्चाङ्ग ९
अब मकैको थाँग्रो कहानीमा मात्र सीमित भयो
खेती गरिन्थ्यो भन्ने कुराहरु पनि अतित भयो
जमीन प्लटिङ गरेर व्यापार गर्न थालेपछि
यथार्थ एकदम तस्बिरमा चाहिँ जीवित भयो
हाम्रो सामाजिक सञ्जाल बजारमा विनीत भयो ।
#पृथक प्रकृति,झापा
पञ्चाङ्ग १०
बाउबाजेले खेती गरे कुन्यू सुली राखे
शाखा सन्तान अल्छी भए सबै भुलिराखे
देशप्रेमी भन्दै गर्छन् आँफूहरूलाई
तस्वीरमा झन्डासँगै हिमाल चुली राखे
साँठगाँठ गरी देशमा शत्रु हुलिराखे ।

खोरिया र पाखो बारी बाँदरको राज छ
टौवा सुली कुन्यू छैनन् नकाम न काज छ
आधुनिक बन्दै गए पर्देशिए सबै नै
पि आर सि आर के हो गर्विलो यो ताज छ
शिरमाथि भोकमरी डरलाग्दो बाज छ ।
चन्द्रावती अधिकारी
पञ्चाङ्ग ११
साना ठुला अनेकौं जँघारहरु तर्छ किसानले
बिहान देखि बेलूकासम्म काम गर्छ किसानले
मकैको थाक्रो देखेर रिस गर्ने गर्दछन् छिमेकी
साहुको ऋण तिर्न माना पाथीले भर्छ किसानले
बर्ष दिनभरिलाइ पुर्याउनु पर्छ किसानले ।
-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती-३,काभ्रे
पञ्चाङ्ग १२
आफ्नै बारीमा मुरी का मुरी फालाउने गर्थ्यौं मकै
भाँचेर छोडाउँदै चर्को घाममा चलाउने गर्थ्यौं मकै
गुन्द्रुकको अचार भटमास मोहीको खाजा आहा
आगो बाल्न खोया बोट जरा जलाउने गर्थ्यौं मकै
आँफू होइन पाहुनालाई नि खिलाउने गर्थ्यौं मकै ।
प्रदीप के रिमाल
इटहरी सुनसरी।
पञ्चाङ्ग १३
बाटो पुग्यो बत्ती पुग्यो गाउँमा कुटो कोदालो चलाउन छाडे
खाजा पनि पानीपुरी ,चटपटे खान्छन् मकै फलाउन छाडे
आजभोलि त गफ मात्रै दिन्छन् सबैले खेती कसले गर्छ र,
सबै सुबिधा भोगी भए अब त सिन्का पनि ढलाउन छाडे
सबै कुरा तैयारी हुन्छ भान्सामा आगो पनि बलाउन छाडे ।
-पशपती राई खोटाङ ।
पञ्चाङ्ग १४
आज भोलि देखिदैन मकैको सुली यहाँ
प्याकेट खाजा खान्छन् अर्गानिक भुलि यहाँ
स्वास्थ्यको लागि अर्गानिक उत्तम आहार
कहाँ देख्न पाइन्छ र मकैको चुली यहाँ
युवा जति विदेश, छन् घरका मूली यहीँ ।
शोभा आचार्य गौतम
काठमाडौँ
पञ्चाङ्ग १५

थाङ्ग्रामा मकैको अग्लो सुली देखियो
पहिचानको टुक्रा यो चुली देखियो
अब त मेहनती जोडै हराएछ
शहर छिरेका ठुले-ठुली देखियो
नोकर र चाकरको कुली देखियो ।
अच्युत घिमिरे, सर्पाङ, भुटान
पञ्चाङ्ग १६
गुणगान गरि के गनुँ, धेरै छ मकैको महत्त्व
च्यातिएको मन के तनुँ, धेरै छ मकैको महत्त्व
अचेल बेवास्ता हुँदैछन् , प्राकृतिक चिजहरूमा
घमण्डी आफै म के बनुँ, धेरै छ मकैको महत्त्व
हुन्छन् तत्त्वहरू,के भनुँ, धेरै छ मकैको महत्त्व ।
प्रेम थापा “मन”बागलुङ
पञ्चाङ्ग १७
मीठो खाजा मकैको
छिटो ताजा मकैको
तागतिलो पोसिलो
भुट्दा बाजा मकैको
लिटो माजा मकैको ।।
धनमाया चौधरी कैलाली
पञ्चाङ्ग १८
मकै फलाएं सुली बनाएं आ हारा यही
हामि नेपालीहरूको पोसालो चारा यही
एजनता हो अर्गेनिङ्ग खान्की खानुपर्छ
मधेश पहाड र हिमालको नारा यही
देशलाई चिनाउंने आंखाको तारा यही ।
सुरेशकुमार पाण्डे दाङ घोराही १८
पञ्चाङ्ग १९
सहर बस्छु बालककालको बही सम्झन्छु
प्यास लाग्दाखेरि माली गाईको दही सम्झन्छु
खन्न भोक लाग्दा आमा ममभन्दा पहिला त
हजुरकै हात त्यो प्रिय साथ सही सम्झन्छु
थाङ्ग्रो सम्झन्छु भुटेका मकै र मही सम्झन्छु ।
श्रीकृष्ण शर्मा पोखरा
पञ्चाङ्ग २०
पहिले त मकैको थाङ्रा लाइन्थ्यो गाउँमा
मकै भटमास भुटेर खाइन्थ्यो गाउँमा
जताततै अर्गानिक मात्र खाने कुरामा
पौस्टिक तत्व भिटामिन पाइन्यो गाउँमा
मकै खोसेल्न अर्मपर्म ल्याइन्थो गाउँमा ।
तारा घिमिरे स्वेच्छा
सङ्खुवासभा
पञ्चाङ्ग २१
अनाज मध्ये मकै असल अन्न हुन्छ
खेती बिग्रदा यो मन त्यसै खन्न हुन्छ
पकाएर खाना अनि भुटी खाजानास्ता
मलजल मिले मकै सप्री टन्न हुन्छ
खेती सप्रे किसान वर्ग सम्पन्न हुन्छ ।
बुद्धिप्रसाद सापकोटा
गैँडाकोट ७, नवलपुर
पञ्चाङ्ग २२
प्राचीन समयको मकैको शुली देखियो यहाँ
चित्रमा देखिएकोले नै पञ्चाङ्ग लेखियो यहाँ
हामीमा जोस र जाँगर थियो पहिले पहिले
युवा जोसहरू सबै खेती कार्य छेकियो यहाँ
छुट्टीमा भएपनि खेत-बारीमा टेकियो यहाँ ।
शिव कुमार रेग्मी
पोखराथोक,पाल्पा
पञ्चाङ्ग २३
आहा कति राम्रो सुली मकैको
हेर खातै खात चुली मकैको
दुर्लभ भयो देख्नलाइ पनी
खाना खाऔं है नभुली मकैको
गाउँ शहर बटुली मकैको ।
सरिता सेढाई धादिङ्ग
पञ्चाङ्ग २४
स्वास्थ्यकालागि अति राम्रो मकै
अन्नबाली हुने कति राम्रो मकै
मधुमेहमा मकै खानु राम्रो हुन्छ
भुटेर, सातुपनि त्यति राम्रो मकै
खाँदापनि नहुने क्षति राम्रो मकै ।
कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी
पञ्चाङ्ग २५
माटो बिरामी भयो उब्जनी दिन सक्दैन जत्तिपनि अचेल
उपचार कहाँ चेकजाँचसम्म हुँदैन कत्तिपनि अचेल
परदेशका ल्याउँदै र कमाई गरिदिँदै बेफुर्सदी युवा
पहिलेका मलिला अन्नदान भागे छैन यत्तिपनि अचेल
सोचाइ नयाँ परिचालनमा लिइबस्छौँ खतिपनि अचेल ।
जमुना आचार्य सिन्धुपाल्चोक
पञ्चाङ्ग २६
मकैको थाङ्रो हेरौँन
नेपाल हाम्रो हेरौँन
झुत्ताको कुन्यू बनाई
राखेको राम्रो हेरौँन
सुख्खा र चाम्रो हेरौँन ।
विवश पारदर्शी
झापा,
पञ्चाङ्ग २७
आमाले धोति च्याति भोटो खुटेको याद आयो
गल्ति सुधार्न सिस्नोपानी किटेको याद आयो
खेतियोग्य जमिनहरु पल्टिङ्ग भएपछि
मुला,मोहि,गुन्द्रुक ,मकै भुटेको याद आयो
युवापुस्ता प्रदेशि हुदै छुटेको याद आयो
संगीता खरेल
चन्द्रागिरी ८ मातातिर्थ
काठमाडौँ
पञ्चाङ्ग २८
राेटी र मिठाे ढिँडाे त्याे रागा माेइसँग खाएकाे सम्झिन्छु
हरियो मकै पाेलेकाे खान साथीसँग धाएकाे सम्झिन्छु
मकै खेतीबाट गर्याे प्रगति किसानले मानुन् अचम्म
पप कर्न , ग्लुकोज, तेल बजारमा छाएकाे सम्झिन्छु
मकैबाट शय गुना नाफा बेपारीले खाएकाे सम्झिन्छु !
टीकाराम जाेशी, टीकापुर।


सम्बन्धित शीर्षकहरु

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले आगामी १३ डिसेम्बर २०२४ शुक्रबारका दिन रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। ‘रक्तदान जीवनदान’…

सुरक्षा अधिकारीहरूले हालै गरेको मूल्याङ्कनअनुसार १०१ बन्धकहरूमध्ये केही विदेशी कामदारहरू समेत ५० जना अझै जीवित रहेको विश्वास गरिएको छ। एक…

पश्चिमी उत्तर प्रदेशको सम्भल जिल्लामा आइतबार बिहान शाही जामा मस्जिदको सर्वेक्षणका क्रममा भएको हिंसामा तीन जनाको मृत्यु भएको छ ।…

प्रतिकृयाहरू
...