Monday 27th May 2024

म भन्दा मेचुअड त कोही देख्दिन – मेयर हर्क सांम्पांग


तोयानाथ दाहाल, उपेक्षित, मेयर हर्क सांम्पांग आज भोली घृणाका पात्र बन्दै गएका छन । उनको मति र गतिमा सुधार नहुने हो भने भविष्यमा धरानले सधै कर्फ्युमा बाँच्न पर्ने अवस्था पनि आउन सक्छ । नेपालको संविधानले बर्जित गरेको गाई गोरु काटेर खान नहुने कुरा उनलाई राम्ररी थाहा छ तर उनी आफ्नो कर्तव्य निभाउनबाट चुके । घटना गोरु खाएको काण्डबाट मात्र उग्र बनेको होईन त्यस भन्दा पहिले बालगोपाल मन्दिर अगाडीको चर्च निर्माण देखि नै शुरु भएको देखिन्छ ।

हर्कले चुनाव जितेपछि धराने जनतालाई पानी खुवाउछु , सावन फयाक्ट्रि खोल्छु भन्दै गर्दा देशै भरी उत्साहा जाग्यो । विदेशबाट उनलाई नसोचेको सहयोग पनि जुट्यो । श्रमदान गर्न धरान बाहिरबाट पनि मानिसहरु आईरहे । उनले गरेको आव्हान सफल पार्न धरान बाहिरबाट बोट विरुवा पनि भित्रिरहे । सवै कुरा ठिकठाक चलिरहेको थियो । हर्कलाई प्रेरणा र जनताका सच्चा प्रतिनिधी भनेर बर्णन गर्न थालिएको थियो । देशका तीन मुख्य लोकप्रिय मेयर मध्य उनको नाम कहिले नम्बर १ त कहिले नम्बर २ नम्बरमा मानिसहरुले लिने गर्दथे । जनताले खोजेको विकाश थियो । धरानले मागेको पानी थियो । एक प्रकारले विकासको लागि हर्क मोडेल भनेर देशभरीका जनतामा आफ्ना मेयरलाई उनको अनुकरण गर्न दवाव दिने स्थिती बनेको थियो । चितवनमा रबि लामीछानेले समेत हर्क मोडेलमा एउटा प्रोजेक्ट गरेर त्यहाँका जनतालाई पानी खुवाए ।

हर्कको हाईहाई निक्कै चुलिएको थियो उनको विरोधमा कसैले एक शव्द बोल्यो भने धरान उर्लिने अवस्था बन्यो । सामाजिक सञ्जालमा कसैले लेख्यो भने उसलाइ समाजमा, परिवारमा बाच्नै असहज बन्ने गर्दथ्यो । उनको विरोध गर्ने वडाध्यक्षलाई धरानमा हिड्न बोल्न नै अप्ठयारो परिस्थिती बन्यो ।

पत्रकारले प्रश्न सोध्दा डा. सुरेन्द्र केसीले शुरु शुरुमा बोल्नै चाहेनन बोले पनि प्रशंसा गर्थे । उता सहकारी आन्दोलन तथा भ्रष्टचार विरोधी अभियान्ता दुर्गा प्रसाईले त झन बोलेमा हर्कले गित बनाउछन भन्दै प्रश्न नसोध्न भने । तर हर्कको उचाई चुलिएको बेला एमाले नेता विष्णु रिमालले धरानको बौलाहा मेयर भनिदिए । रिमाललाई सामाजिक सञ्जालमा यति धेरै गाली मिल्यो ती गाली गर्ने मध्यको यो पंक्तिकार पनि एउटा हो तर अहिले पश्चताप छ । उनले बौलाहा भनेर ठिकै भनेका रहेछन भन्ने लाग्न थालेको छ ।

हर्क परिश्रमी र विवेकी होलान भन्ने मानिसहरु सोच्थे तर उनको असली रुप एक वर्षपछि देखिन थाल्यो । उनमा जनसमर्थनको उन्माद चढयो । आफ्नो लोकप्रियता उनले सम्हाल्न सकेनन । त्यो मानसम्मान र ईज्जतलाई धान्ने उनको औकात रहेन । कसैकसैले त उनले पाएको मेयरको पद “बोका को मुखमा कुविन्डो” जस्तै भएको तर्क दिन थाले ।

हर्कले गुपचुपमा बालगोपाल मन्दिर अगाडी चर्च बनाउन किन दिए ? सवैको सवाल यहि छ । चर्चका नाममा नक्सा पास नभए पछि त्यो ईलिगल काम भयो भनेर किन भन्न सकेनन ? उनले त्यसको निर्माण रोक्ने किन चासो देखाएनन ? बास्तवमा उनले बेलायती सस्थाबाट पाएको पुरस्कार सँग चर्चको सौदावाजी भएको रहेछ । यसै कारण उनलाई सवै कुरा थाहा भएर पनि मौन बसे वा भित्र भित्रै उनीहरुलाई ढाढस दिदै गए । यो आरोपलाई उनको व्यवहारले पनि पुष्टि गर्दै आएको देखिन्छ ।

जब चर्चको विरोध हुन थाल्यो त्यसको प्रतिवादमा मेयर हर्क स्वयं ओर्लिए । जात हेर्दै थाहा हुन्छ मेरो विरोध गर्ने भने जस्ता कुरा उनले लेख्न थाले । उनले क्षेत्रीबाहुन देखिने थरका कमेन्टहरुमा जातिय विद्धेष फैलाउने जवाफ दिन थाले । म राई भएको कारण क्षेत्रीबाहुनले विरोध गरे भन्ने भाष्य उनले आफै निर्माण गर्न थाले । उनलाई मेयर हुन अघि र मेयर भए पछि उनको काममा कुन क्षेत्रीबाहुनको विरोध थियो र ? जात हेरेर समर्थन र विरोध गर्ने कुरा आफैमा निच र घृणास्पद हुदै हो । असल मान्छेले यसरी सोच्दैनन । उनले विगतमा मात्र होईन बर्तमानमा समेत वरिपरि रहेका समर्थकको घेरामा प्रहार गर्न थाले । जात र धर्मको विरोध गर्न चेतना चाहिन्दैन । यी दुई कुरा उछालेर लडाउने हो भने त्यहाँ न्याय र अन्याय समेत हेरिन्दैन । जात र धर्म भन्ने कुरामा हात हाल्नु हुदैन यो धेरै संवेदनशिल विषय हो भन्ने हेक्का नभएको मेयर कस्तो मेयर होला ?

धरानमा धेरै मेयर, उपमेयर आए गए । कसैले विकाश गरे, कसैले गरेनन होला । कोही भ्रष्ट निस्किए होलान । कसैको क्षमता पुगेन होला । त्यही भएर धरानले नयाँ टेष्ट खोज्दा हर्क रोजाईमा परेका हुन । उनलाई मत दिनेहरुले हेर्ने भनेको उनको काम र व्यवहार हो । त्यसैले उनी स्थापित वा विस्थापित हुने हुन । यहि ताल हो भने हर्कले पाँच बर्षमा धरानलाई असहिष्णुताको शहर बनाउने देखियो । अराजकहरुको बस्ती बनाउने देखियो । विद्धेष र घृणा बाडेर उनले धरान छोड्लान तर धरानले कहिल्यै उठन नसक्ने घाउ लिएर बाँच्न पर्ने हुन सक्छ । नेतृत्व खराव भए कसरी शहर वा समाज भत्किन्छ भन्ने उनले बुझ्न जरुरी छ  तर हर्कलाई कसले सम्झाउने ? उनले आफू भन्दा मेचुअड त कोही देख्दिन भन्छन । यो उनको कस्तो खालको घमण्ड हो सुन्ने मान्छे नै छक्क पर्दछन् ।

चर्च काण्डपछि बृक्षारोपणमा पनि हर्कले ज्यादती गर्न थाले । भू माफिया भन्दै आफूलाई रिस उठेकाहरुको नम्बरी जग्गालाई जनवल लगाएर उठिबास लगाउने, डोजर चलाएर घर भत्काई दिने जस्ता अपाच्य र अमर्यादिन धम्कि दिन थाले । उनको नगरका सवै नागरिक जसले उनलाई मत दिएनन तिनीहरुका पनि उनी  अभिभावक हुन त्यहि हिसावले उनले भूमिका निभाउन पर्ने थियो ।

उता नगरको सिमाना विवादमा ईटहरी नपा सँग पौठे जोरी र भिडन्त निम्त्याउने कोशिष पनि उनले गरिरहेका थिए । जुन कुराहरु टेवलबाट सामधान हुन सक्छन त्यसलाई पनि उनले लडाई गरेर जित्ने रणनितीमा उत्रेको देखे पछि ईटहरीले पहिलेदेखि नै उनीमाथि घृणा बर्षाउन थालिसकेको थियो । यसै बीचमा गोरु काण्ड आई दियो । कानूनको विरुद्ध धरानकै सार्वजनिक स्थलमा गोरु काटेर सामुहिक भोज गर्ने र समाजिक सञ्जालमा प्रसारण गरेको उनले देखेनन् । यसमा उनको मौनता अचम्मको थियो । अरुको आस्थामाथि चोट दिने कार्य आफैमा अस्वीकार्य हुन्छ, उनले यति कुरा पनि बुझन चाहेनन्। संविधानको खिलाफ गए त्यो दण्डनिय हुन्छ त्यसो नगर भनेर उनले चुईक्क बोलेनन् । एउटा विज्ञप्ति निकाल्न पनि जरुरी ठानेनन् । जब कर्फ्युको घोषणा भयो,  जब पूर्व मेयरहरुको सदभावपूर्ण अभिव्याक्तिहरु सार्वजनिक भए तब लाजगाल एउटा विज्ञप्ति हर्कले पनि पोष्ट गरे । तर कर्फ्युको समयावधी सिद्धिन अगाडी नै उनले पुन सामाजिक सञ्जालमा धम्किपूर्ण स्टाटस पोष्ट गर्न थाले ।

एकाएक हर्कले पाएको वाहीवाही ३६० डिग्रिमा विपरित भएपछि उनी निर्लज्ज छन तर उनको अहमताले स्वीकार्न सकिरहेको छैन । दुनिया सवै बबुरो देख्ने यी स्वघोषित विद्धान मेयर अहिले भन्न थालेका छन । जसरी भए पनि मेरो नाम आउनु हो, चिनिनु हो, धरान बाहिर र देशविदेशमा मेरो प्रचार भयो भन्न थालेका छन, हेर बुद्धि !! यी सवै हर्कका हर्कतले के सावित गर्दछ भने उनी मेयरका लागि लायक पात्र होईनन । उनलाई परेको चिठ्ठा मात्र हो । उनी धरानमा जबसम्म मेयर रहिरहन्छन त्यो शहर शान्त नहुने देखियो । मिलेको धरान, सदभाव बोकेको धरान अब यहि क्रमले अघि बढ्ने हो भने बस्न लायक शहर नहुने देखिन्दैछ । सवैले बेलैमा सचेत बनौ । घृणा र विद्धेष फैलाउने, अरुको आस्थामा चोट पुरयाउने र समाजिक रुपमा अशान्ति मच्चाउदै कानून हातमा लिनेहरुका विरुद्ध सचेत बन्न जरुरी छ ।

धरान घेर्न आउने हजारौको भिड देखिपछि हर्कले आफू पानीमाथिको ओभानो बन्न गणतन्त्र मास्न खोज्नेहरुको षडयन्त्र देख्न थालेका छन । उनको यो अभिव्याक्तिले मागेको नै गणतन्त्रको अन्त्य हो । जब उनले जात र धर्मलाई गिजोल्न थाले यसले समग्र राज्य व्यवस्था नै भत्काउने काम गर्दछ । बरु उनको कर्मले गणतन्त्रको जग भत्काउनु पर्दछ भन्ने सन्देश प्रवाह गरेको छ । गणतन्त्र मन्दिर अगाडी चर्च बनाउन, गोरु देशैभरी काटेर खान आएको हो भने त्यस्तो गणतन्त्र र संघियतालाई भत्काउनै पर्ने हुन्छ ।


सम्बन्धित शीर्षकहरु

पपुवा न्यु गिनीमा सिंगै गाउँमा पहिरो खस्दा त्यहाँ बसोबास गर्ने हजाराै मानिस पुरिएको खबर छ । पपुवा न्यू गिनीमा शुक्रबार…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

चक्रवात रामलले गति लिएपछि बंगलादेशको तटीय क्षेत्रसँग जोडिएका धेरै गाउँहरू खाली गरिँदै छन्। हजारौं मानिसहरु सुरक्षित स्थानको खोजीमा गाउँमा घरबार…

प्रतिकृयाहरू
...