Wednesday 4th March 2026

कानू्न व्यावसायीको अावरणमा ठगी गरि हिंड्ने पक्राउ


तितोपाटी – नुवाकोट जिल्लाको बेलकोट–७ स्थायी घर भएका मनोहर तिवारी पेसाले कानुन व्यवसायी हैनन् । तर सधैँजसो कालोकोटमा सजिएर छातीको दायाँतर्फ नेपाल बार एसोसिएसनको लोगोसमेत लगाएर अदालत चहार्दै हिँड्ने तिवारीले ठगी धन्दा नै चलाएको खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको छ ।

लामो समयदेखि ‘म वकिल हुँ, न्यायाधीशलाई भनेर मुद्दा जिताउँछु’, भनेर ठगी गर्दै आएका तिवारी अहिले महानगरीय प्रहरी परिसर काठमाडौँको हिरासतमा छन् ।

अदालत परिसरमा भेटिएकालाई ‘मुद्दा मिलाउँछु’ भन्दै भ्रम सिर्जना गरेर ठगी गरेपछि पीडितले पैसा मागेको खण्डमा तिवारीले ‘मेरो श्रीमती डीएसपी छिन्, तलाई थुनाएर जेलसमेत हालिदिन्छु’ भन्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

‘कानुन व्यवसायीको आवरणमा ठगी गरेको जाहेरी परेपछि उनलाई नियन्त्रणमा लिएका हौँ’ महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (डीएसपी) मोहन थापाले भने, ‘अदालतबाट ठगी मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको छ ।’

कसरी ठग्छन्, मनोहरले ? हेरौं केही उदाहरण :

ठगी नम्बर १

काठमाडौं– २६ मा केही व्यावसायीहरू मिलेर ‘सामूहिक व्यावसायिक बचत तथा ऋण सहकारी संस्था’ खोलेका थिए । ‘ज्योती समूह, सुधिर बस्नेत तथा लालिगुराँस सहकारीको कानुनी सल्लाहकार हुँ’, भन्दै उक्त सहकारीको सम्पर्कमा पुगेका तिवारीले ५ करोड लगानी गरेर ‘सामूहिक व्यावसायिक बचत तथा ऋण सहकारी संस्था’लाई वाणिज्य बैङ्क बनाउने योजना सुनाए ।

सहकारी सञ्चालकहरूले उनको कुरा पत्याए अनि ५ करोड बराबरको सेयर दिन राजी भए । मौखिक रूपमा सहकारीका सञ्चालकहरू सेयर दिन सहमत भएसँगै मनोहरले उक्त सहकारीको कार्यालयमा आफ्नै हालीमुहाली जमाउन थाले ।

२०७४ माघबाट सहकारीको आर्थिक क्रियाकलामा हस्तक्षेप गरेका तिवारीले ऋणीहरूबाट उठेको रकम, निक्षेपकर्ताले जम्मा गरेको रकमसमेत सहकारीको खातामा हाल्नुको साटो खल्तीमा हाल्न थालेको सहकारी सञ्चालहरूले आरोप लगाएका छन् ।

सञ्चालक समितिको निर्णय बेगर १ करोड हाराहारी पैसा हिनामिना गरेका तिवारीले आफ्नो सर्त बमोजिम ५ करोड सेयरसमेत नहाली २०७५ वैशाखबाट सम्पर्कविहीन भएपछि उक्त सहकारीका सञ्चालकहरूले प्रहरीलाई गुहारेका छन् ।

‘पछिल्लो समय उनले हिनामिना गरेको पैसा माग्दा तिवारीले हामीलाई मेरी श्रीमती डीएसपी हो, तिमीहरूलाई ठीक पार्छु भन्दै धम्क्याए’ उक्त सहकारीका एक सञ्चालकले भने, ‘उनले सशस्त्र प्रहरीका केही अफिसरहरूलाई समेत सहकारीको कार्यालयमा लिएर आउँथे ।’

ठगी नम्बर २

काठमाडौंको तारकेश्वर नगरपालिका–८ बस्ने देवी पाठक सामान्य चिया पसले हुन् । काठमाडौं जिल्ला अदालतमा उनको ‘बैना रकम कारोबार’ सम्बन्धमा मुद्दा चलेको थियो । देवी पाठकको पसलमा चिया खान गएको बेला मुद्दा लडिरेको कुरा थाहा पाएपछि मनोहरले ‘न्यायाधीशसँग मेरो सेटिङ छ, मुद्दा मिलाइदिन्छु’ भन्दै १ लाख २० हजार पैसा लिए । पछि देवीले मुद्दा हारेपछि पैसा माग्दा मनोहरले भने, ‘मेरी श्रीमती डीएसपी हो, तँलाई थुनाएर जेल हाल्छु ।’

अहिले देवी पाठक मनोहरविरुद्ध १ लाख २० हजार ठगीको जाहेरी लिएर महानगरीय प्रहरी परिसर काठमाडौं पुगेकी छिन् ।

ठगी नम्बर ३ :

काठमाडौंको तारकेश्वर नगरपालिका–१० बस्ने विपिन सिम्खडा घडेरीको खोजीमा थिए । ‘प्रतिआना २० लाखको दरले ३ आना घडेरी मिलाइदिन्छु, मलाई तत्काल १० लाख दिनुस्’ भन्दै विपिनको १० लाख लगेपछि तिवारी सम्पर्कविहीन भए । विपिनले न घडेरी पाए न आफ्नो १० लाख नगद् । पैसा माग्दा उसैगरी ‘श्रीमती डीएसपी छ’ भन्दै धम्की दिए ।

माथि उल्लेखित ३ घट्ना उदाहरण मात्र हुन् । विभिन्न व्यक्तिहरूलाई झुटा मुद्दा हालेर हैरान बनाउँदै आएका तिवारीविरुद्ध अरू पनि ठगीको उजुरी परेको महानगरीय प्रहरी परिसर काठमडौंले जनाएको छ ।

कानुन व्यावसायी भनेर मुद्दाका पक्षहरूको साथमा विभिन्न इजलास, मुद्दा शाखा र अभिलेख शाखामा जाने तिवारीले अदालती काम कारवाहीमा समेत अवरोध हुनगरी बिचौलियाको भूमिका निर्वाह गरेको भन्दै ललितपुर जिल्ला अदालतले २०७२ चैत २३ गते अदालत प्रवेशमा निषेध गर्ने निर्णय नै गरेको थियो ।

अदालतले विचौलिया घोषित गर्दै प्रवेश निषेधको निर्णय गरेको सम्भवतः नेपालको पहिलो घट्ना हुनुपर्छ तिवारी प्रकरण ।

काठमाडौं– १६ बालाजु बस्दै आएका तिवारीले गोलढुङ्गामा रहेको १ तले पक्की घर पास गरिदिन्छु भन्दै तारकेश्वर–१० बस्दै आएका उद्धव सापकोटाको चितवन गुञ्जनगरको घर तथा नगद ३० लाख लिएर ठगी गरेको बताइएको छ ।

‘जिल्ला अदालत काठमाडौँ र पुनरावेदन अदालत पाटनमा चलिरहेको मेरो मुद्दा जिताइदिन्छु भन्दै मसँगबाट मनोहर तिवारीले १६ लाख १० हजार ठगी गरेका छन्’, नक्सालका कुमार प्याकुरेलले काठमाडौं प्रहरीमा दिएको जाहेरीमा भनिएको छ, ‘नेपाल बार एसोसिएसनको लोगो र कालो कोट लगाएको हुनाले विश्वासमा पर्दा ठगिएँ ।’


सम्बन्धित शीर्षकहरु

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

चीनका विदेशमन्त्री वाङ यीले सोमबार आफ्नो इरानी समकक्षीलाई फोनमा भने कि मध्यपूर्वमा युद्ध फैलिँदै गर्दा बेइजिङले अमेरिका-इजरायली आक्रमणहरू विरुद्ध आफ्नो…

प्रतिकृयाहरू
...