Wednesday 24th September 2025

झापामा महिला तथा बालबालिका वेपत्ता हुने क्रम वर्षेनी बढ्दो


तितोपाटी – खुला सिमानाका कारण झापामा महिला तथा बालबालिका हराउने क्रम बढेको छ। वैदेशिक रोजगारीका नाममा समेत महिलाहरू वर्षेनी हराउने क्रम रोकिएको छैन।

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७४–०७५ मा ५१२ महिला तथा बालबालिका हराएको निवेदन परेकामा महिला ३६६, बालक ४४ र बालिका १०२ छन्। जिल्लाका विभिन्न इलाका प्रहरी कार्यालयमा निवेदन परेका ३६६ महिलामध्ये २६७ जना मात्र फेला परेको प्रहरीले जनाएको छ। ९९ महिला अझै बेपत्ता छन्। हराउनेमा ४४ बालकमध्ये ३६ फेला परेका छन् भने ८जना फेला परेका छैनन्।

सोही अवधिमा १०२ बालिकामध्ये ८५ जना फेला परेका छन् भने १६ बालिका अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा विगत ४ वर्षमा हराएका भेटिने कमै मात्रामा छन्। आव २०७१–०७२ मा हराएका ३३० महिलामध्ये १६० मात्र भेटिएका छन्, जसमा १७० जना अझै बेपत्ता छन्।

त्यस्तै २०७२–०७३ मा महिला तथा बालबालिका ३५५ जना हराएको निवेदन परेकामा २३६ फेला परेको प्रहरीले जनाएको छ। तिनमा ११९ अझै बेपत्ता छन्। आव २०७३–०७४ मा हराउने महिला तथा बालबालिका ४२८ थिए जसमा फेला परेका २७६ छन्। १ सय ५२ जना अझै बेपत्ता छन्। जिल्लाका विभिन्न इलाका प्रहरीमा निवेदन परे पनि फेला पर्नेको संख्या भने कम छ।

महिला तथा बालबालिका क्षेत्रमा काम गर्दै आएकी महिला अगुवा भोजकला दवाडीले नेपाली महिला वैदेशिक रोजगारीका क्रममा खाडी मुलुकमा घरेलु कामदारका लागि भारतीय बाटो हुँदै जाने गरेको बताइन्। इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार खुला सीमाना भएका कारणले गर्दा महिला हराउने क्रम बढेको हो।

रोजगारीमा लगाइदिन्छु भनेर प्रलोभनमा पारेर भारतका विभिन्न शहरमा नेपाली चेलीहरू बेचिएकाले पनि कम मात्रामा फेला पर्ने गरेको प्रहरीको भनाइ छ। सामाजिक सञ्जालले गर्दा पनि बढी मात्रामा युवती प्रेममा पर्ने र झुटो विवाहका सम्बन्धमा पारेर नेपाली चेलीहरु भारतमा बेचिने गरेका छन्।

-रासस


सम्बन्धित शीर्षकहरु

काठमाडौं: पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा रहेको नेपालको अन्तरिम सरकारले यस महिना भएको भ्रष्टाचार विरोधी प्रदर्शनका क्रममा भएको हिंसाको छानबिन…

नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि…

लेबनानी स्वास्थ्य मन्त्रालयले आइतबार दक्षिणी लेबनानमा इजरायली ड्रोन आक्रमणमा तीन बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको जनाएको छ। राज्यद्वारा सञ्चालित…

प्रतिकृयाहरू
...