तितोपाटी – तेर्हथुममा दश वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा आठराई गाउँपालिका–२ खाम्लालुङका ५४ वर्षीय चक्रबहादुर लिम्वुलाई प्रहरीले पक्राउ गरेको छ । जंगलमा गोठालो गएकी बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा लिम्वुलाई प्रहरीले पक्राउ गरेको हो ।
लिम्वुले गत साउन ५ गते बालिकालाई बलात्कार गरेपनि घटना साउन ११ गते मात्र सार्वजनिक भएको थियो । आफु बलात्कृत भएको बारे बालिकाले जानकारी नगराएकाले घटना ढिलो गरी वाहिर आएको पीडित पक्षको भनाई छ ।
घटना सार्वजनिक भएपछि केही दिनसम्म गाउँमै मिलाउने प्रयास गरिएको थियो । उक्त घटना बारे स्थानीय अधिकारकर्मीले जानकारी पाएपछि उनीहरुकै अगुवाईमा प्रहरीमा जाहेरी दर्ता भएको हो । इलाका प्रहरी कार्यालय संक्रान्तीको रोहबरमा पीडित बालिकाको स्वास्थ्य परीक्षण गरी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक बासुदेव यादवले वताए ।