Thursday 18th June 2026

बलात्कार पछि हत्या गरिएकी भनिएकी किशोरीको मृत्य रहस्यमय


तितोपाटी – भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको रहस्यमय मृत्यु भएको छ । बिहीबार दिउँसैदेखि हराएकी उनको शुक्रबार बिहान भीमदत्त नगरपालिका–२ र १८ को सिमानामा पर्ने निम्बुखेडाको पत्थर खोलाछेउ उखुबारीमा शव भेटिएको हो । घटनास्थल उनको घरबाट एक किलोमिटर दूरीमा छ ।

स्थानीय सरस्वती उच्चमाविको कक्षा ९ मा अध्ययनरत निर्मलाको हत्या भएको आशंका प्रहरी र आफन्तले गरेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी ज्ञानबहादुर सेठीका अनुसार उनको बाहिरी शरीरमा कहीं पनि घाउचोट छैन । उनको मृत्युको कारण खोजी भइरहेको डीएसपी सेठीले जानकारी दिए ।

आमा दुर्गादेवीका अनुसार निर्मलाले चलाएको साइकल महेन्द्रनगर–बागफांटा सडकको छेवैमा थियो । कापी–किताब पनि साइकलमै थिए । बिहीबार दिउँसो साथी रोशनीको घर गएकी निर्मला त्यसपछि घर नफर्किएको दुर्गाले जानकारी दिइन् ।

‘गाउँकै सोझी र पढाइमा मेहनती थिई,’ निर्मलाकी छिमेकी विमला पन्तले भनिन्, ‘छोरीकै सहारामा आमाले गुजारा गरिरहेकी थिइन् ।’ घरैमा चटपटे पसल चलाउँदै आएकी दुर्गा बिहीबार निर्मलालाई पसल जिम्मा लगाएर सामान लिन भारतको बनवासा गएकी थिइन् । फर्केर आउँदा छोरी नदेखेपछि खोजी सुरु गरेको र साँझ प्रहरीमा खबर गरेको दुर्गाले बताइन् ।

शव भेटिएलगत्तै निम्बुखेडा र उल्टाखामका महिलाले ‘हत्यारा’ पत्ता लगाई कारबाही गर्न माग गरेका छन् । उनीहरूले दोषीलाई कडा कारबाही गर्न, पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन र घटनास्थल सुरक्षा दृष्टिकोणले संवेदनशील भएकाले प्रहरी बिट स्थापना गर्न माग गर्दै दिनभर प्रदर्शन गरे । शुक्रबार सांँझ प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा ५ प्रहरी र २ आन्दोलनकारी घाइते भएका थिए । उनीहरूको धनगढीस्थित सेती अञ्चल अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ । शनिबार पनि दिनभरि भीमदत्त नगरपालिका कार्यालय, महाकाली अञ्चल अस्पताल र प्रशासनअगाडि महिलाले प्रदर्शन गरेका छन् । पीडितको आन्दोलनमा नेविसंघसमेत मिसिएपछि आन्दोलन उग्र बनेको छ ।

घटनाबारे जानकारी गराउँदा भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टले बेवास्ता गरेको भन्दै महिला आक्रोशित बनेका हुन् । ‘मेयरसापले चासो नदिँदा आन्दोलन चर्किएको हो,’ निर्मलाका काका भोजराज पन्तले भने, ‘घटनास्थलमा मेयरसाप गइदिएको भए शुक्रबारै कुरा मिलेर अन्तिम संस्कार गरिसक्थ्यौं ।’ उनले पटक–पटक फोन सम्पर्क गर्दा पनि बिष्टले अटेरी गरेको आरोप लगाए ।

प्रहरीको पनि लापरबाही
दुर्गाले बिहीबार साँझ ५ बजे छोरी हराएको खबर प्रहरीलाई गरेकी थिइन् तर प्रहरीले केहीबेरमा आउने भन्यो । फेरि ६ बजे वडा प्रहरी कार्यालयमा फोन गर्दा एकछिनपछि आउने खबर आयो । राति १० बजे वडा नं. १८ को सालघारीमै रहेको अस्थायी प्रहरी बिटमै पुगेर जानकारी गराउँदासमेत प्रहरीले चासो नदिएको भोजराजले बताए । ‘राति ११ बजेतिर प्रहरी आएर केहीबेर खोजी गर्‍यो,’ भोजराजले भने, ‘त्यसपछि रात धेरै भयो, भोलि खोजौंला भनेर फर्किए ।’ समयमै प्रहरीले खोजीमा चासो देखाएको भए निर्मलामाथि घटना नहुने उनको बुझाइ छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी ज्ञानबहादुर सेठीले राति २ बजे मात्रै वडा प्रहरी कार्यालयमा खबर आएको बताए । उनले खबर पाउनेबित्तिकै प्रहरी परिचालन गरिएको जानकारी दिए । शनिबार सांँझ अबेरसम्म पनि पीडित पक्ष र प्रहरी प्रशासनबीच वार्ता चलिरहेको छ । शनिबार बिहानैबाट पटक–पटक छलफल भए पनि निष्कर्षमा पुग्न सकिएको छैन । शुक्रबार नै शवको पोस्टमार्टम भएर आफन्तले बुझे पनि अन्तिम संस्कार गर्न मानेका छैनन् । उनीहरूले माग पूरा नभएसम्म अन्तिम संस्कार नगर्ने अडान लिएका छन् ।

असार अन्तिम साता कञ्चनपुरकै कृष्णपुर नगरपालिकाण्–२ को लालझाडी जंगलमा पनि एक किशोरीको हत्या भएको थियो । कृष्णपुर नगरपालिका–२ कै १७ वर्षीया कविता बिष्टको शव लालझाडी जंगलमै हत्या गरी बालुवाले पुरिएको अवस्थामा भेटिएको थियो । उक्त घटनामा संलग्न दुई जनालाई नियन्त्रणमा लिई अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

-कान्तिपुरबाट


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

प्रतिकृयाहरू
...