Sunday 24th May 2026

१७ जना टुक्काकारले सिर्जना गरेका “माटो” विषयका उत्कृष्ट टुक्काहरू


“माटो विषयका टुक्काहरू”
१/
प्रकृतिले विविध खनिज दिईन् यो देशको माटोलाई,
अविवेकी सन्तानले सकेनन् उजिल्याउँन बाटोलाई।
२/
सुन सरि मूल्यवान जडिबुटी यही माटोमा छरपस्ट,
आफ्नै घरको भेद नचिनी धाउँछौं अन्त रोग बोक्दै कष्ट।
३/
विश्व सामु कृषिप्रधान देश गनिन त गनिन्छ नेपाल,
बिडम्बना खेत बाँझो राखी बिदेशीन्छौँ सहदै अनिकाल।
४/
जतिपनि होलान् संसारभरका नवीन प्रविधि सिकौं घुमी,
सिपका दक्षता प्रयोग गरी बिकास गरौं आफ्नै मातृभूमि।
५/
कतै भेटिन्न अलौकिक माटो पहाड तराई हिमाल साथ,
पूण्यभूमि हो हाम्रो अवस्थित आराध्य देव पशुपतिनाथ ।

✍️ शर्मिला श्रेष्ठ, ललितपुर
हाल अमेरिका

१/
माटो मेरो मुटु
दुख्छ कुटुकुटु।
२/
माटो बिना तन
खाली हुन्छ मन।
३//
माटो रुँदा मन रुन्छ
देशभक्ति यस्तो हुन्छ।
४/
माटो उठाएर कसम खाएँ
किन फेरि घुसदेखि रमाएँ।

✍️ पौडेल विमुन्स, पोखरा

१,
आमा नै हुन् जन्मभूमि जननी,
बेची खाएका छन् शोसक बनी।
२,
आमा अनि माटो दुबै हुन् बराबरी,
जन्मभूमि बचाउँछु म आँफु मरी।
३,
मेरो देशको माटो राखेको छु छातीमा,
सधैं म निदाउँदा दिन अनि रातीमा।
४,
आफु भन्दा प्यारो लाग्छ म जन्मिएको माटो,
नेता मिली खाए देश बनाउँनु को साटो।

✍️ जगत थापा, बझाङ्ग

१/
जानकी माटाको लगाउँला चन्दन
छोडेर म जान सक्दिनँ यो बन्धन ।
२/
मातृभूमि हो स्वर्ग नठान्नू अपरम्
सदा म पूज्छु वन्दे नेपाल मातरम् ।
३/
एक मुठी माटोले बनेको मुटु मेरो
यो देशको सीमाना हो हृदयको घेरो ।
४/
माटामा पसिना थोपा पोख्छु म निरन्तर
फुल्छन् स्वणर्सरि दाना छैन केही अन्तर ।
५/
भेट्ने छैन है त्यसले जिन्दगीको बाटो
जसले भुल्छ आफ्नै मातृभूमिको माटो ।

✍️ श्रीकृष्ण शर्मा, पोखरा

१/
माटोबाटै त मान्छे बन्छ
देश के हो?मुटुले भन्छ।
२/
माटोमा नै सपना देखिन्छ
माटोकै इतिहास लेखिन्छ।
३/
माटोले पालेको छ तन
माटो हो संसारकै धन ।

✍️ भूषण जंग, ललितपुर, हाल अस्ट्रेलिया

१/
राख्नुहुन्न बाँझो जिमी छोड्नुहुन्न गाउँघर,
प्राण यही मट्टी जीवको परौँ यसकै भर।
२/
स्वाधीनता,पहिचान,गौरवगाथा सारा,
माटो देश-देश मुटु हो,गुञ्जिरहोस् नारा।
३/
हिमाल,पहाड,तराईको भूगर्भले धन्य!भनोस्,
अन्तिम पल देह मेरो यही भूमिको माटो बनोस् ।

✍️ धनु शर्मा, पोखरा

१/
मन जस्तो फराकिलो हुन्न कुनै पाटो ,
जतासुकै भएपनि प्यारो आफ्नै माटो ।
२/
छाती भित्र सजिएको नेपाल छ राम्रो ,
स्वाधीनता जगतैमा इतिहास हाम्रो ।
३/
एक्लै छोडी परिवार विदेशिनु साटो,
ज्ञान सीप लगाएर खेलाउँछु माटो ।

✍️ केशवप्रसाद ढकाल ’प्रीतबीज’
सिरान्चोक-७, उपल्लो गोहोरे, गोरखा

१/
स्वर्ग भन्दा प्यारो छ यसको नाता
यहीँ माटो त हो हाम्रो अन्नदाता ।
२/
यो कस्तो अनौठो सृष्टि भएको जगत
माटोमै पूर्खाको मिसिएको छ रगत ।
३/
माटोले विर्सनै नसक्ने लाको छ गुन
हाम्रो गाँस, बास, कपासको जननी हुन् ।

✍️ रिजाल विनोद , मोरङ्ग

१/
बिदेशी भुमिमा चर्को घामले रातदिन अताउँछ,
आफ्नै जन्मथलो को त्यो मायाले झनझन सताउँछ।
२/
विभिन्न थरिका अन्नपात फल्दछ,
अनेकौं औषधि राखे माटो मोर्दछ।
३/
माटो मै हुन्छ सबैको उब्जनिको आश,
हामी मानवको त्यसैमा हुन्छ नि बास।

✍️ शोभा अर्याल, बुटवल

१/
कल्पना बिहिन छ जीवन ञ् नभए माटो,
मृत्यु पछि आवश्यक छ हेर अर्को पाटो।
२/
आमा सरह नै पुजनीय मेरो देशको माटो,
कोटी प्रणाम छ-गास,बास र कपासको साटो।
३/
धैर्य अनि सहनशीलताको पाठ घोकाउँछ माटो,
सबथोक दिन्छ र माग्दैन, देखाउँछ त्यागको बाटो।

✍️ अरुण कुमार भुजेल , गोरूबथान,कालेबुङ्ग।

१/
आमा सरह माटो नै हुन् मेरी मातृभूमि जन्मदाता ,
यी हाम्री धर्ती छैनन् भने संसारनै रहनन् बिधाता ।
२/
सबै माटोमानै हुन्छ हाम्रो गास वास कपास ,
यीनैमा रहन्छ जन्मनु बाच्नु र मर्नुको खास ।
३/
माटो नभए केही उब्जदैन बन्दैन ,
यसले कसैलाई कोही केही भन्दैन ।

✍️ बेदु न्यौपाने, काठमाडौ

१/
माटो को आजै टीका लगाऊ
सङ्कल्प गरी सबै जगाऊ
२/
घान रोप्ने फाटमा घर उम्रनाले
किसानी भन्दा गुलामी रोजे बाले
३/
हामीले नै हो हराभरा बनाउने
भन त साथी कहिले हो रमाउने

✍️ रघु न्यौपाने, पोखरा

१/
जन्मभुमी प्यारो हुन्छ मनैमनले गुन,
परिश्रम गरे यहि माटोमा फल्छ सुन ।
२/
माटो राम्रो भयो भने बिरुवा राम्रो हुन्छ ,
अन्नबाली नफले त हाम्रो नि मन रुन्छ ।
३/
जिउँछु अब किसानी बनी ,
माटो बिना हुदैन उब्जनी ।

✍️ ललिता अभागी, सिन्धुली

१/
सुन फल्छ हिरा फल्छ,हो मेरो देशको माटो,
मकै फल्छ गहुँ फल्छ हाम्रो पसिनाको साटो।
२/
जन्मिएर ताते गर्दा त्यहि थियो माटो
कति मिठो हुन्थ्यो बरै मकैको त्यो आटो।
३/
आज सबै बाँझो मेरो पुर्खौली त्यही पाटो,
भन्छन् त्यसैलाई बनाए मोटरको बाटो।
४/
जन्मिने हुर्किने र त्यसैमा बिल्ने साटो,
त्यसैको त नाम हो मेरोदेशको माटो।

✍️ सुरेशकुमार पान्डे, दाङ घोराही-१८

१/
जन्मिएको थलो यहीँ धरामा सबै मान्छे धेरै,
आफ्नै मातृभूमिको नै त राम्रो लाग्छ माटो मेरै
ि
२/
माटो सबैको साझा हुन्छ ,
मान्छेको मन सारै छुन्छ
ि
३/
रगत बगाऊँ सबैले आफ्नै माटोमा,
राम्रो बनाऊँ मिलेर देशको बाटोमा
ि
४/
प्यारो लाग्छ सारै नै माटो आफ्नै देशको,
गर्नुपर्छ केही यहाँ राष्ट्रिय भेषको
ि
✍️ रिता खराल , रुपन्देही

१/
सुन चाँदी हिरामोती लगाउँनुको साटो
बरु लाउँछु निधारमा एकचिम्टी माटो ।
२/
दुनियाँको जीवन जीउँन माटो नै आधारभयो ,
प्रकृतिको बरदान सरि सतहमा रहिरह्यो ।

✍️ रामकृष्ण दुवाडी, पोखरा ।

१/
प्राण भन्दा प्यारो लाग्छ आफ्नै देशको माटो
कहाँ भुल्न सक्छु र आफूले हिँडेको बाटो।
२/
निधारमा माटोको टीका आऊ लगाएर
कम्मरलाई खुकुरी यो जाऊ सजाएर।
३/
मेरो देशको माटो उर्वर छ धेरै
जता जाऊँ उतै देख्छु जमिन मेरै।

✍️ मुक्तिनाथ अधिकारी, भरतपुर चितवन


सम्बन्धित शीर्षकहरु

बिद्या भण्डारी पुनः सक्रिय राजनीतिमा फर्किने घोषणाले नेपाली राजनीतिमा केवल शक्ति समीकरणको बहस मात्र होइन, संवैधानिक नैतिकता र राष्ट्रपतिको संस्थागत…

Donald Trump ले अमेरिका–इरान तनाव अन्त्यतर्फ “अन्तिम चरणको समझदारी” नजिक पुगेको दाबी गरेपछि विश्व राजनीतिमा नयाँ बहस सुरु भएको छ।…

Narendra Modi ले सुनको अत्यधिक आयातले देशबाट ठूलो मात्रामा विदेशी मुद्रा बाहिरिने भन्दै नागरिकलाई अनावश्यक रूपमा सुन नकिन्न आग्रह गरेका…

प्रतिकृयाहरू
...