Friday 11th September 2026

एनआरएनए नीति प्रतिष्ठानको अध्यक्षमा घले, पन्त र आचार्यले दिए बधाई


काठमाडौं (जीएनएन) —  गैर आवासीय नेपाली संघ (एनआरएनए) को नीति प्रतिष्ठानमा पूर्व अध्यक्ष एवम् प्रमुख संरक्षक शेष घले चयन भएका छन् ।

संघको बिहीबार बसेको पदाधिकारी (अफिस बेयरर्स) बैठकले घलेलाई नीति प्रतिष्ठानको अध्यक्षमा चयन गरेको हो । संघका अध्यक्ष कुमार पन्तले शुक्रबार  सो निर्णय सार्वजनिक गरेका हुन् ।अध्यक्ष पन्तका अनुसार प्रतिष्ठानका अन्य सदस्यहरु भने घले स्वयम्ले नै चयन गर्ने छन् ।

अध्यक्ष पन्तले नीति प्रतिष्ठानको अध्यक्षमा चयन भएकोमा घलेलाई बधाई दिँदै ‘नेपालको सामाजिक–आर्थिक विकास र समृद्धिका लागि सरकारसँग मिलेर नीतिगत पहलकदमीका पक्षमा काम गर्न उहाँलाई सफलता मिलोस्’ भनेका छन् ।

त्यस्तै, संघका सल्लाहकार एवम् पूर्व उपाध्यक्ष कुल आचार्यले संघको नीति प्रतिष्ठानको अध्यक्षमा चयन भएकोमा घलेलाई बधाई दिएका छन् । आचार्यले विगतमा ‘एनआरएनए : भिजन २०२० एण्ड बियोंड’  जस्तो दस्तावेज तयार पारेर संघलाई आधुनिक र समय सुहाउँदो संस्था बनाउन उनले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका छन् ।

बधाई सन्देशमा आचार्यले भनेका छन्, ‘आगामी दिनमा नेपाल र प्रवासमा रहेका थिंक ट्यांकहरुसँग सहकार्य गरी नेपालको सामाजिक, आर्थिक रुपान्तरणमा गैर आवासीय नेपालीहरुको भूमिकाबारे ठोस र रचनात्मक सुझाव  दिन प्रतिष्ठान सफल होस् भन्ने शुभकामना ।’

त्यसैगरी संघका उपाध्यक्ष सोनाम लामाले पनि संघका प्रमुख संरक्षक घले नीति प्रतिष्ठानको अध्यक्षमा चयन भएकोमा बधाइ दिएका छन् । लामाले नेपालको आर्थिक तथा सामाजिक विकासका लागि अनुकूल हुने गरी नीति निर्माणमा घलेलाई सफलता मिलोस् भन्ने शुभकामना पनि दिएका छन् ।


सम्बन्धित शीर्षकहरु

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच नयाँदिल्लीमा महत्वपूर्ण द्विपक्षीय वार्ता भएको छ। आगामी BRICS शिखर सम्मेलनको पूर्वसन्ध्यामा…

भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि सरकारले प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत वितरण र पुनःस्थापनाको कामलाई तीव्र बनाएको छ।…

इजरायली सेनाले दक्षिणी लेबनानको अली अल–ताहेर पहाडमुनिको हिजबुल्लाह सुरुङ संरचना विस्फोट गराएको र त्यसपछि ४.१ म्याग्निच्युडको कम्पन रेकर्ड भएको जनाएका…

प्रतिकृयाहरू
...