पञ्चाङ्गहरु
१
आयो राष्ट्रिय धान पर्व अब ता,फोटो खिचौँला भनी।
मन्त्रीको पद कुद्छ खेत छ कहाँ,माटो थिचौँला भनी।
कैले खेत न टेक्छ वर्ष दिनमा,हेर्ने कुरा के गरूँ।
ऐले खेल्छ हिलो लडेर कसरी,खुट्टा किचौँला भनी।
भत्ता खान विधान ऐन कसरी,आफैँ मिचौँला भनी।
तोयानाथ सुवेदी
२०७८/०१/१५
२
छुपुमा छुपु बियाड रोपौँ मिलेर रोपारी
मिहिनेत गरौँ झार फालौँ जिलेर रोपारी
हाम्रो काम राम्रो गरेर फलाउनु छ धेरै
दहि र चिउरा खाउँ पानी निलेर रोपारी
काम गरौँ शरीरलाई नै थिलेर रोपारी
सोमनाथ लुइटेल रवि पाल्पाली
३
असार पन्ध्र धान दिवस परेको छ।
बाउसा रोपारी नि बेसी झरेको छ।
मानो रोपेर मुरीको सपना देख्ने हो,
बाँझो खेतमा जोति काम सरेको छ।
मिहिनेती हातले श्रम गरेको छ।
सुशिला पौडेल, काठमाडौँ ।
४
बहर गोरु असार दाउने खेतमा
लाठे रोपार असारे गाउने खेतमा
आहा! चौतारीमा आवतजावत राम्रै
असारे लुगा सुन्दरी लाउने खेतमा
फुरुङ्ग छे लेकबेसी धाउने खेतमा ।
सविता के.सी.
५
आफ्नै दिदीबहिनी र आमा लुटिन्छ यहाँ
जोगाउनुको साटो आफैले कुटिन्छ यहाँ
दुस्सासन र दुर्योधन बाट प्रतेक पहिलामा
द्रोपधीको साडी आङ्बाट छुटिन्छ यहाँ
नारि अस्मिता कुरामा मात्र जुटिन्छ यहाँ
रामराजा के.सी., फर्पिङ, काठमाडौँ ।
६
रोपार छन् रातै रातै गुन्यू चोली लगाएर खेतमा
हली खेताला छन् रम्दै पञ्चै बाजा बजाएर खेतमा
असारको पन्ध्र आज रङ्गीन छ आकाश धर्ती जम्मै
अभिषेक गर्छ मेघ पूणर् घडा सजाएर खेतामा
सप्तरङ्गी ओढी घुम्टो आईन अरे लजाएर खेतमा ।
चन्द्रवति अधिकारी, कोहलपुर ।
७
आज दहि च्यूरा खाने असार पन्द्र के गर्ने
दिनमा काम गरौ रातमा त चन्द्र के गर्ने
कडा काम गर्दा कडै खाजा दै च्यूरा आलु अचार
समयमा पानी दिई रहेछन् इन्द्र आयो के गर्ने
समयमा खेति नभए हुन्छ मुख बन्द के गर्ने
मधुसूदन प्रसाद घिमिरे ।
८
आज शहरमा भव्य कार्यक्रम छ भलादमी जुटाए
कारागारका कैदी दलाल र भ्रष्टहरुलाई छुटाए
“आत्मनिर्भर कृषि , समृद्धिको दृष्टि “ उखाने नारा होला
मल बिउ र विषादीमा राहत भन्दै अरवौं लुटाए
बिचरा किसान गह्रामा पानी पुगेन भक्कानो फुटाए
गङ्गार्जुन रिमाल, नवलपुर
९
हलि दाइले खेत गह्रा जोतौ असार
दिदि बहिनि छुपुछुपु रोपौ। असार
असार मा दहि चिउरा खाउ रमाइ
कुलाबाट पानिको पालोछोपौ असार
बाउसेले हिलो बनाई खेलौ। असार।
लक्ष्मी बस्याल बर्दिया
१०
असार पन्ध्र नि आयो यसरी आज ,
मनमा उमंग छायो कसरी आज ,
मानो रोपी मुरी फलाउने किसान,
दही चिउरा नि खायो जसरी आज,
उत्सव सरी पो ल्यायो त्यसरी आज
🌷रिता खराल , रुपन्देही 🌷
११
उमेर पुगेर नै माया गर्ने मन हुँदोरहेछ।
त्यसको लागि त तयार सधैं तन हुँदोरहेछ।
प्रेम गरेपछि त्यो प्रेमिकालाई पनि किन हो खै,
भित्री मनदेखि अब नजिक पन हुँदोरहेछ।
चेलीबेटी संग बोल्दा पनि जलन हुँदोरहेछ।
रविन भण्डारी
१२
मल बीउ नपाई आएछ असार
मुरिको सपना लौ भएछ असार
सुरिलो भाका गुन्जिन्छ गैरि खेतमा
दही चिउरा मिठो पाएछ असार
लाठे रोपार गीत गाएछ असार
रामहरी शर्मा, तारकेश्वर, काठमाडौँ
१३
छुन्न भने पनि हिलोमा जाउँजाउँ लाग्ने
नजाने पनि ठाडा भाका गाउँगाउँ लाग्ने
भन्छन् मुठी रोपेर मुरी फलाउने बेला हो
सुन्दैमा त्यो दहि चिउरा खाउँखाउँ लाग्ने
गैरी खेतमा हल गोरु दाउँदाउँ लाग्ने।।
श्रीभक्त पौडेल
चितवन , हाल स्पेन
१४
हो हो माले हो हो तारे हलीले गाउँछ आज,
धर्मराज थापाज्यूको सम्झना आउँछ आज ।
रोपारले गीत गाए मिठो असारे भाकामा
मायालुको गीत सुन्न लेकबेसी धाउँछ आज ।
सुन फलाई पेट भर्ने यही प्यारो ठाउँ छ आज।
लक्ष्मी प्रसाद मिश्र, पाउँदी, लमजुङ।