Wednesday 24th December 2025

कविताः “किन हटेनन् अझै बिभेदहरु ?” -मुकुन्द कृष्ण थापा


रगत पसिनाले सिंचीत माटोमा
अङ्कुरित बिज हुर्काउँदै,
पल्लवित लोकतन्त्रको वृक्षमा
गणतन्त्रको रङ्गीचङ्गी फूल फुलाएर
वीरताको अमर गाथा कोरेकाहरु,
परिबर्तनको प्रतिफलबाट बन्चित भएर
बाँचिरहेछन् ,
गुमनाम जिन्दगी !
जीवनोपयोगी शिक्षाबाट ठगिएर
व्यापारिकरणको नङ्ग्राले चिथोरिएर
ठालुहरुको होच्याइबाट थलिएर
थिलथिलो भएका पाठशालाहरुले
जन्माइरहेछन् ,
बेरोजगार बहादुर र कान्छाहरु ।
पुर्णीमालाई लखेटेर
औँसीले साम्राज्य गरिरहेको आधा आकाशमा
झलमलाई रहेछन् ,
पितृसत्तात्मक सोचका ताराहरु ।
असमानताको कालोपत्रे बिछ्याउँदै
एउटै पाङ्ग्राले रथ हाँकिरहेछन् ,
एक्काइसौँ शताब्दीका अर्जुनहरु ।

पहिचान लुकाउनेहरुको विवशता देखेर,
सिर निहुराउँदै मानवता झोक्राइरहेछ ।
आफैँले सजाएका मन्दिर महलहरु हेर्दै,
छुवाछूतले फाटेका मन सिलाउने मेसिन
आविष्कार नहुनुका कारणहरु,
खोजिरहेछन् आरनहरु ।
सङ्कीर्णताको माला भिरेर
अहङ्कारको टीका लगाएर
ठूलो हुने होडबाजीको मृगतृष्णामा दौडिँदै
शीतयुद्धमा भाग लिइरहेछन् ,
धर्मका अनुयायीहरु ।
हुरी बतास र बर्षादसँग
आत्मासमर्पण गरिरहेछन् ,
चिसो चुल्हो बोकेका श्रमजीवीका वासस्थानहरु ।
वर्गीय उत्पीडनका खाडलहरु गहिर्‍याउँदै
बगिरहेछन् निरन्तर,
भोकको आगोलाई निभाउन नसकेका
अभावलाई बगाउन नसकेका
पसिनाका नदीहरु ।

सुशासनको रटानले तिर्खाएर
धारा उपधाराहरुले
प्यास मेटेकाहरु सामुन्ने
ठडिरहेछन् प्रश्नका सगरमाथाहरु
आखिर,
किन हटेनन् अझै बिभेदहरु ???

मुकुन्द कृष्ण थापा
खोटाङ


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केटले कुवेतमा खेलौना महोत्सव २०२५ सम्पन्न गर्यो । लुलु हाइपरमार्केटले कुवेतभरिका परिवारहरूलाई भव्य शैलीमा उत्सवको मौसम मनाउने अवसर प्रदान…

गत वर्ष, इजरायलसँगको युद्धको परिणामस्वरूप आकार घटाइएका कारण तेहरानले आफ्नो सेना पुनर्स्थापना प्रदान गर्न हिज्बुल्लाहलाई सयौं मिलियन डलर स्थानान्तरण गरेको…

गीतकार जावेद अख्तर र मौलाना मुफ्ती शमील नदवी बीचको युट्युब च्यानलमा भएको बहसले सामाजिक सञ्जालमा व्यापक छलफल सिर्जना गरिरहेको छ।…

प्रतिकृयाहरू
...