Sunday 6th September 2026

पत्रकार महासंघ बेलायतको अध्यक्षमा अर्याल विजयी, महासचिवमा बस्नेत


तीतोपाटी डटकम-नेपाल पत्रकार महासंघ बेलायत शाखाको अध्यक्षमा ध्रुवराज अर्याल विजयी बनेका छन् । आइतबार लन्डनमा सम्पन्न निर्वाचनमा अर्यालले २६ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी अर्का उम्मेदवार श्याम लुईंटेलले १६ मत पाएका थिए । दश मतको अन्तरले अर्याल अध्यक्षमा विजयी भएका हुन् । अध्यक्ष पदका दुवै उम्मेदवार यसअघिको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष थिए । नवनिर्वाचित अध्यक्ष अर्याल पछिल्लो १२ वर्षदेखि बेलायतमा क्रियाशिल पत्रकार हुन् ।

त्यसैगरी, शाखाको महासचिव रातोपाटीकर्मी नरेन्द्र बस्नेत विजयी भएका छन् । महासचिव पदमा उनी २७ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी जगन कार्कीले १५ मत प्राप्त गरे । १२ मतको अन्तरमा बस्नेत विजयी भएका हुन् ।यसैगरी वरिष्ठ उपाध्यक्षमा ३२ मतसहित दिनेशकुमार परियार विजयी भए । उनका प्रतिस्पर्धी सञ्जयभक्त कँडेलले १० मत पाएका थिए ।

शाखाको १५ सदस्यीय कार्यसमितिका अन्य सबै पद निर्विरोध भएपनि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवका लागि निर्वाचन भएको हो । जम्मा ४३ मतदातामध्ये ३८ जनाले पोस्टल मतदान गरेका थिए भने बाँकी ५ जनाले आइतबार प्रत्यक्ष मतदान गरेका हुन् । ति मध्य १ भोट बदर भएको थियो ।

महासंघ बेलायतको नयाँ कार्यसमितिको उपाध्यक्षमा यसअघि नै शिव भण्डारी, महिला उपाध्यक्षमा प्रमिला लाबुङ राई, सचिवमा मञ्जु भण्डारी र खेमराज रानाभाट, कोषाध्यक्षमा एसके गुरुङ, सहकोषाध्यक्षमा सुरेन्द्र इंग्नाम तथा सदस्यहरुमा गोमा राना, नरेन्द्र नेम्वाङ र जयराम तामाङ निर्विरोध निर्वाचित भइसकेका छन् । कार्यसमितिका बाँकी तीन सदस्य पछि मनोनित गरिनेछन् ।

शाखाको नयाँ कार्यसमितिको कार्यकाल तीन वर्ष रहनेछ । अधिवेशन केन्द्रिय प्रतिनिधि वरिष्ठ पत्रकार भगीरथ योगीले निर्वाचित समितिलाई शपथ खुवाएका थिए ।शाखाको पाँचौं समितिको निर्वाचन रमेश सराङकोटी नेतृत्वको निर्वाचन समितिले गराएको थियो । समितिमा शाखाका संस्थापक अध्यक्ष नवीन पोखरेल, पूर्व अध्यक्ष चिरन शर्मा, सल्लाहकार संगीता मरहट्ठा र पूर्व सल्लाहकार केशव भण्डारी सदस्य तथा सोलिसिटर दीपक भट्टराई कानूनी सल्लाहकार थिए ।

शाखालाई यसअघि नवीन पोखरेल र चिरन शर्माले एकएक तथा नरेश खपांगीमगरले दुई कार्यकाल नेतृत्व गरेका थिए ।

साभार-रातोपाटी डटकम


सम्बन्धित शीर्षकहरु

रसुवा जिल्लाको भोटेकोशीदेखि त्रिशूली नदीसम्म भदौ १० गते आएको भीषण बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको राहत तथा पुनःस्थापनाका लागि नेपाल…

कुवेतको गृह मन्त्रालयले Decision No. 1410 of 2026 जारी गर्दै विदेशी नागरिकसम्बन्धी रेसिडेन्सी कानुनको कार्यान्वयन नियमावलीमा महत्वपूर्ण संशोधन गरेको छ।…

दक्षिणी लेबनानमा हिजबुल्लाहले इजरायली सैनिकलाई लक्षित गर्दै विस्फोटक ड्रोन प्रहार गरेपछि इजरायली सेनाले हिजबुल्लाहका सैन्य पूर्वाधारमाथि हवाई तथा स्थल कारबाही…

प्रतिकृयाहरू
...