Saturday 27th June 2026

लघुकथाः इसारा -पुष्पा नेपाल (सुवेदी)


जिल्लामा दोस्रो चरणको निषेधाज्ञा शुरु भैसकेको थियो । देशैभरि महामारी चलेको र अस्पतालमा अक्सिजनसम्म नपाएर मान्छे मरिरहेको खबर बाहेक केहीपनि सुन्न पाइन्नथ्यो समाचारमा पनि । म आफ्नै गाउँमा, आफ्नै घरमा सानो किराना पसल चलाउँथे ।निषेधाज्ञाले खासै असर त गरेको थिएन तर पनि मान्छेहरु मरिरहेको खबरले धेरै डराइरहेको थिएँ । यसैले खतरा नटरुञ्जेल भित्रैबस्ने निर्णय गरे र घरभित्रै धुनिएर बस्न थाले।

पसल बन्द गरेपछि छिमेकीहरुसँग समेत सम्पर्क टुटेको थियो । एकदिन दिउँसो बच्चाहरूलाई खाजा बनाउन म भान्सामा गएँ ।मेरो भान्सा पहिलो तल्लामा थियो भने पल्लो घरको भान्सा दोस्रो तल्लामा थियो । यसैले मेरो भान्साको सबै गतिविधि पल्लो घरको भान्साबाट देखिन्थ्यो । त्यो दिन पनि पल्लो घरको दिदीले देख्नुभएछ र बोलाउनु भयो । हामी मज्जाले गफ गर्दै थियौ त्यहीबेला दाई पनि झ्यालमा देखा पर्नुभो र दिदीको ठिक पछाडि उभिएर म तिर हात बढाउनु भयो, फेरि हत्केला फर्काएर आफ्नै ओठमा राख्नुभयो र मुन्टो पनि हल्लाउनु भयो तर दिदीले देख्नुहोला भनेर सजग हुनुहुन्थ्यो । म छक्क परे,कुनै कार्यालयमा ठूलो पदमा काम गर्ने समाजको सम्मानित मान्छे । सबैलाई मान सम्मान गर्नुहुन्थ्यो, अझै भनौ समाजका अफ्ठ्याराहरु वहाँले नै फुकाइदिनु हुन्थ्यो  तर आज मलाई कस्तो इसारा गर्नुभएको होला । म रनभुल्लमा परें । दाइको इसारा गर्ने क्रम जारी रह्यो । म भने कसैलाई भनु कि नभनु , के गरौ के गरौ भन्ने दोधारमा परिरहेको थिएँ ।

फेरि अर्को दिन दाइलाई झ्यालमा देखे तर मलाई देख्ने बित्तिकै हराउनु पो भयो । मनैमनले सम्झे सायद सुध्रिनुभयो होला ।सोच्नसम्म पनि भ्याएकै थिइन। दाई त मेरै घरको झ्यालमा पो आइपुग्नु भएछ। अबभने मजाले थर्काउँछु भन्दै उहाँको छेउमा मात्र पुगेको थिएँ, आफै शुरु हुनुभयो ।

बहिनी! बहिनी! तपाईंको पसलमा बेच्न बाँकी चुरोट छैनन्? अस्तिदेखि इसारामा सोध्छु,जवाफै दिनु भएन । बुढीले थाहा पाई भने चुरोट पिएको भनेर मारीहाल्छे । अहिले सुतेकी छ, त्यही भएर म आएको । मलाई चुरोट छ भने छिटो दिनुहोस्न बरु पैसा पनि लिइहाल्नु । म भने जडवत उभिएको उभिएई थिएँ ।

पुष्पा नेपाल (सुवेदी )
इलाम


सम्बन्धित शीर्षकहरु

इरान र संयुक्त राज्य अमेरिका बीच युद्ध अन्त्य गर्ने उद्देश्यले भएको सम्झौतालाई इरानका प्रमुख वार्ताकार Mohammad Bagher Ghalibaf ले “अमेरिकाको…

कुवेतको लुलु हाइपरमार्केटले आफ्नो खुद्रा व्यापार यात्राको महत्वपूर्ण उपलब्धि हासिल गर्दै बहुप्रतीक्षित २५औँ वार्षिकोत्सव उत्सव सुरु गरेको छ। यस अवसरमा…

भेनेजुएलामा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प र २० भन्दा बढी परकम्पपछि आपतकाल घोषणा गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण…

प्रतिकृयाहरू
...