जिल्लामा दोस्रो चरणको निषेधाज्ञा शुरु भैसकेको थियो । देशैभरि महामारी चलेको र अस्पतालमा अक्सिजनसम्म नपाएर मान्छे मरिरहेको खबर बाहेक केहीपनि सुन्न पाइन्नथ्यो समाचारमा पनि । म आफ्नै गाउँमा, आफ्नै घरमा सानो किराना पसल चलाउँथे ।निषेधाज्ञाले खासै असर त गरेको थिएन तर पनि मान्छेहरु मरिरहेको खबरले धेरै डराइरहेको थिएँ । यसैले खतरा नटरुञ्जेल भित्रैबस्ने निर्णय गरे र घरभित्रै धुनिएर बस्न थाले।
पसल बन्द गरेपछि छिमेकीहरुसँग समेत सम्पर्क टुटेको थियो । एकदिन दिउँसो बच्चाहरूलाई खाजा बनाउन म भान्सामा गएँ ।मेरो भान्सा पहिलो तल्लामा थियो भने पल्लो घरको भान्सा दोस्रो तल्लामा थियो । यसैले मेरो भान्साको सबै गतिविधि पल्लो घरको भान्साबाट देखिन्थ्यो । त्यो दिन पनि पल्लो घरको दिदीले देख्नुभएछ र बोलाउनु भयो । हामी मज्जाले गफ गर्दै थियौ त्यहीबेला दाई पनि झ्यालमा देखा पर्नुभो र दिदीको ठिक पछाडि उभिएर म तिर हात बढाउनु भयो, फेरि हत्केला फर्काएर आफ्नै ओठमा राख्नुभयो र मुन्टो पनि हल्लाउनु भयो तर दिदीले देख्नुहोला भनेर सजग हुनुहुन्थ्यो । म छक्क परे,कुनै कार्यालयमा ठूलो पदमा काम गर्ने समाजको सम्मानित मान्छे । सबैलाई मान सम्मान गर्नुहुन्थ्यो, अझै भनौ समाजका अफ्ठ्याराहरु वहाँले नै फुकाइदिनु हुन्थ्यो तर आज मलाई कस्तो इसारा गर्नुभएको होला । म रनभुल्लमा परें । दाइको इसारा गर्ने क्रम जारी रह्यो । म भने कसैलाई भनु कि नभनु , के गरौ के गरौ भन्ने दोधारमा परिरहेको थिएँ ।
फेरि अर्को दिन दाइलाई झ्यालमा देखे तर मलाई देख्ने बित्तिकै हराउनु पो भयो । मनैमनले सम्झे सायद सुध्रिनुभयो होला ।सोच्नसम्म पनि भ्याएकै थिइन। दाई त मेरै घरको झ्यालमा पो आइपुग्नु भएछ। अबभने मजाले थर्काउँछु भन्दै उहाँको छेउमा मात्र पुगेको थिएँ, आफै शुरु हुनुभयो ।
बहिनी! बहिनी! तपाईंको पसलमा बेच्न बाँकी चुरोट छैनन्? अस्तिदेखि इसारामा सोध्छु,जवाफै दिनु भएन । बुढीले थाहा पाई भने चुरोट पिएको भनेर मारीहाल्छे । अहिले सुतेकी छ, त्यही भएर म आएको । मलाई चुरोट छ भने छिटो दिनुहोस्न बरु पैसा पनि लिइहाल्नु । म भने जडवत उभिएको उभिएई थिएँ ।
पुष्पा नेपाल (सुवेदी )
इलाम