तितोपाटी- वैदेशिक रोजगार विभागले सोमबार टोखास्थित ट्रिपल स्टार इम्प्लोइमेन्ट प्रालिले क्यानडा रोजगारीमा कामदार पठाउने भन्दै अवैध रुपमा अन्तर्वार्ता लिइरहेको अवस्थामा छापा मारेको थियो ।
उक्त म्यानपावरले कार्यालयले भाडामा लिएको ठाउँमा ओम गणपति ह्याप्पी लाइफ कम्पनी प्रालि भन्ने अवैध संस्था खोली क्यानडा पठाउने काम गरेको छापा मार्ने क्रममा तथ्य फेला परेको विभागले जानकारी दिएको छ । विभागको टोलीले क्यानडा पठाउने भन्दै अवैध रुपमा सञ्चालन गरिएको अन्तर्वार्तामा अवतार सिंह, पुनिता शर्मा, काजल रानी र दलवीर कर गरी ४ जना भारतीय नागरिक समेत भेट्टाएको जनाएको छ ।
विगत १ महिनादेखि बसपार्कमा आएर उक्त गिरोहले वैदेशिक रोजगारीमा क्यानडा पठाइदिने भन्दै ठगी गरिरहेको दर्जनौं प्रमाणहरु छापा मार्ने क्रममा भेटिएको विभागका अनुगमन अधिकृत कुशल बरालले जानकारी दिए । म्यानपावरसँग जोडिएका भारतीय गिरोहले नेपाली युवाहरुसँग प्रतिव्यक्ति ५ हजार भारतीय रुपैयाँ उठाएको, अफर आएपछि १ लाख रुपैयाँ बुझाउनुपर्ने सम्झौता गरेको कागतजात फेला परेको र छापा मार्ने क्रममा भेटिएका केही कागजातमा ३ देखि ४ लाख रुपैयाँ कामदारसँग लिएको तथ्य फेला परेको विभागका अधिकृत बरालले बताए । यसअघि वैदेशिक रोजगार विभागले पूर्वश्रम स्वीकृति नै नलिई कतार प्रहरीमा कामदार पठाउन अन्तर्वार्ता लिइरहेका एसओएस म्यानपावर, डीडी ह्युमन रिसोर्स र लाजिम्पाटस्थित होप इन्टरनेसनल
म्यानपावरमा छापा मारेको थियो ।
तीनैवटा म्यानपावरले भिसा प्रमाणीकरण र पूर्वश्रम स्वीकृति नलिई कतार प्रहरीमा कामदार पठाउने भन्दै करिब १ हजार युवासँग अवैध रुपमा अन्तर्वार्ता लिएको विभागले जनाएको छ । ती म्यानपावरले कतार प्रहरीमा लैजान प्रतिकामदार ५ देखि ७ लाख मागेका थिए ।
यसरी अवैध अन्तर्वार्ता सञ्चालन गरेका तीनैवटा म्यानपावरलाई विभागले वैदेशिक रोजगार ऐनअनुसार ६ महिना काम कारबाही रोक्का गरेको थियो ।
कतार प्रहरीको रोजगारीमा पठाउने भन्दै पूर्वश्रम स्वीकृति नै नलिई अवैध रूपमा कामदारसँग अन्तर्वार्ता लिएको मुद्दा लागेका एसओएसको कारबाही श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले फुकुवा गरेका छन् । भने, अन्य दुईवटा म्यानपावरको मुद्दा विभागमै फरफराक हुन बाँकी छ ।
यस्तै, गत वर्ष मिता इन्टरनेसनल, फजल इन्टरनेसनल र अल हायात म्यानेजमेन्ट लगायत म्यानपावर कम्पनीले मुस्लिमहरुको हज यात्राको समयमा तीन महिने रोजगारीका लागि लिएको अन्तर्वार्तास्थलमा नेपालस्थित साउदी अरब दूतावासका ३ जना कर्मचारी समेत सहभागी थिए । हज यात्राका लागि कामदारसँग लिएको अन्तर्वार्तामा साउदी दूतावासका कर्मचारी कै संलग्नता थियो ।
तत्काल छापा र अनुगमन
अवैध रुपमा अन्तर्वार्ता लिने म्यानपावर, कन्सल्टेन्सी र ट्राभलमासमेत छापा मार्दै आएको विभागका महानिर्देशक कुमार दहाल बताउँछन् ।
रोजगारी नाममा कामदारलाई आर्थिक भार, ठगी, झुटो प्रलोभनमा परेर नफसुन् र वैदेशिक रोजगारीका क्रममा केही नेपाली बेचबिखन हुन नदिने भनेर काम भइरहेको महानिर्देशक दहालले बताए ।
‘विभागले अवैध रुपमा अन्तर्वार्ता सञ्चालन गर्ने म्यानपावरदेखि ट्राभल एजेन्सीमा समेत छापा मारेको छ । रोजगारीका नाममा अवैध धन्दामा संलग्न म्यानपावरदेखि ट्राभल एजेन्सीलाई समेत कानुनी कारबाही हुन्छ । अवैध काम गर्ने म्यानपावर, व्यक्ति, एजेन्ट र ट्राभलमाथि कडा निगरानी गरिरहेका छौं,’ उनले भने, ‘विभागले पछिल्लो समय अवैध अन्तर्वार्ता सञ्चालन गर्ने संस्थामा तत्काल अनुगमन र छापा मार्न थालेको छ । वैदेशिक रोजगारीका नाममा कामदार विदेशमा अलपत्र, ठगी र समस्यामा नपरुन् भन्ने विभागको मान्यता हो । सोही अनुसार विभागले यो क्षेत्रका विकृति नियन्त्रण गर्न प्रयास गरिरहेको छ ।’ वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित बनाउन सरकारसँगै रोजगारीमा कामदार आपूर्ति गर्दै आएका म्यानपावर कम्पनीको पनि सहयोग आवश्यक रहेको उनको भनाइ छ । नेपालबाट म्यानपावर, कन्सल्टेन्सी, ट्राभल र एजेन्टले रोजगारीका विभिन्न प्रलोभनमा पारेर अवैध अन्तर्वार्ता लिएर कामदार झुक्याएर ठगी गर्दै आएका गुनासाहरु छन् ।
अन्तर्वार्ता लिने नियोग र विदेशी नागरिक
वैदेशिक रोजगारीमा कामदार पठाउने भनेर म्यानपावरले लिने अवैध अन्तर्वार्तामा दूतावासका कर्मचारीदेखि विदेशी नागरिक समेत संलग्न रहेको पाइएको छ । गत मंसिरमा तीन वटा म्यानपावरले कतार प्रहरीका लागि लिएको अवैध अन्तर्वार्तामा नेपालस्थित कतारी दूतावासका कर्मचारीको समेत सलंग्नता भेटिएको थियो । अवैध अन्तर्वार्ता लिइरहेको होप म्यानपावरभित्र कतारी दूतावासको ४५ सीडी ००९ नम्बरको गाडी भेटिएको थियो ।
उक्त गाडीमा कतारी दूतावासका एक जना कन्सुलर र विदेशी रोजगार हेर्ने कर्मचारी रहेको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको थियो । कतार प्रहरीको अवैध अन्तर्वार्तामा संलग्न दूतावासका कर्मचारीको नाम भने गोप्य नै राखियो। यस्तै गत वर्ष मुस्लिमहरुको हज यात्राका लागि कामदार लैजान म्यानपावर कम्पनीले अवैध रुपमा लिएको अन्तर्वार्तामा नेपालीस्थित साउदी अरब दूतावासको ४८ सीडी ००३ नम्बरको गाडीमा कर्मचारी सहभागि थिए ।
यसैगरी विभागको टोलीले सोमबार क्यानडा पठाउने भन्दै अवैधमा रुपमा ट्रिपल म्यानपावरमा लिइरहेको अन्तर्वार्तामा ४ जना भारतीय नागरिकको संलग्न रहेको भेट्टाएको थियो । क्याडनाको रोजगारीका लागि कामदार छनौट गर्न भन्दै अवतार सिंह, पुनिता शर्मा, काजल रानी र दलवीर करले अन्तर्वार्ता लिइरहेको छापा मार्ने क्रममा भेटिएको विभागले जानकारी दिएको छ । चार जना भारतीय नागरिकसँग रोजगारीमा पठाउन अन्तर्वार्ता लिने आवश्यक कागतजात समेत साथमा नभएको विभागका अनुगमन अधिकृत बरालले जानकारी दिए ।
म्यानपावारसँग मिलेर भारतीय गिरोहले फेसबुक र ह्वाट्सएप प्रयोग गरी नेपाली युवाहरु माझ विज्ञापन गर्ने र नक्कली कम्पनी खडा गरी क्यानडा पठाउने भन्दै कामदारसँग अन्तवार्ता लिएर पैसा उठाउँदै आएको विभागका अधिकृत बरालले बताए । पक्राउ परेका चारै जना भारतीय नागरिक रहेको विभागले जानकारी दिएको छ ।
वैदेशिक रोजगारीका नाममा अवैध धन्दा फस्टाउँदा यो क्षेत्रमा विकृति मैलाइरहेको रोजगारविज्ञको आरोप छ । सरकारले बेलैमा वैदेशिक रोजगारी क्षेत्रका मुख्य समस्या समाधान नगरे भविष्यमा ठूलो दुर्घटना हुने उनीहरुको भनाइ छ ।
साभार शिलापत्रबाट