Wednesday 22nd July 2026

हुम्लामा बलेरो जीप दुर्घटना हुँदा घटनास्थलमै ४ जनाको मृत्यु, ७ घाइते


तीतोपाटी – हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयाको जबुका नजिकै शुक्रबार राति पौने ११ बजे लु२च २१०२ नम्बरको बलेरो जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक बच्चासहित सात जना घाइते भएका छन् ।

सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको जिप बिरामी बोकेर सिमकोट फिर्ता हुने क्रममा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिनुभयो । दुर्घटनामा परी एक महिलासहित चारको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिमकोट गाउँपालिका–७ का ३० वर्षीय पर्वत सुनार, सोही पालिका वडा नं २ का २९ वर्षीय पारस बोहरा, नाम्खा गाउँपालिका–१ हेप्का गाउँका ४५ वर्षीया दुखी तामाङ र ४८ वर्षीय गुरु तामाङ रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

दुर्घटनामा परी एक वर्षको बच्चासहित सात जना घाइते भएका छन् । घाइते हुनेमा सिमकोट–२ ठेहेका जिप चालक सिङ्गम भण्डारी, सिमकोट–६ बस्ने प्युठानका अजय बस्नेत, सिमकोट–८ खोल्सिका कल्पना सिंह, सिमकोट–८ खोल्सिका एक वर्षे बालक मिलन सिंह, सिमकोट–८ खोल्सिका सम्झना शाही, नाम्खा गाउँपालिका–१ का झुमझुम लामा र सिमकोट बजारमा बस्ने बाजुराका कवि सिंह रहेका छन् ।

घाइतेको हुम्ला जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको र बच्चासहित पाँचको अवस्था सामान्य भएको जिल्ला अस्पतालले जानकारी दिएको छ । बेलेरो जिप मूल सडकभन्दा करिब ६०० मिटर दक्षिणमा खसेको हो ।

जिप दुर्घटना भएको खबर पाएलगत्तै घटनास्थल पुगेका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले उद्धार गरेका थिए । राति भएकाले उद्धारमा केही समस्या भएको घटनास्थल पुगेका सशस्त्र प्रहरी बल हुम्लाका प्रमुख डिएसपी मोहन विष्टले बताउनुभयो । अधिकांश घाइतेको छाती, टाउको र हातखुट्टामा चोट लागेको प्रहरी स्रोतले जनाएको छ ।-रासस


सम्बन्धित शीर्षकहरु

भारतीय राजनीतिज्ञ, लेखक तथा कूटनीतिज्ञ शशि थरूरद्वारा लिखित Why I Am a Hindu समकालीन भारतमा हिन्दू धर्म, हिन्दुत्व र धर्मनिरपेक्षताको…

इरान–अमेरिका वार्तामा मध्यस्थको भूमिका निर्वाह गरेपछि पाकिस्तानले अमेरिकासँग १० अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहायता सुविधा (Exchange Stabilisation Support Facility)…

इरानको नातान्ज (Natanz) परमाणु केन्द्र नजिक रहेको अत्यन्तै सुरक्षित भूमिगत संरचना ‘पिकएक्स माउन्टेन’ (Pickaxe Mountain) तेहरानको परमाणु कार्यक्रम रोक्ने प्रयासमा…

प्रतिकृयाहरू
...