Monday 25th August 2025

हुम्लामा बलेरो जीप दुर्घटना हुँदा घटनास्थलमै ४ जनाको मृत्यु, ७ घाइते


तीतोपाटी – हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयाको जबुका नजिकै शुक्रबार राति पौने ११ बजे लु२च २१०२ नम्बरको बलेरो जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक बच्चासहित सात जना घाइते भएका छन् ।

सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको जिप बिरामी बोकेर सिमकोट फिर्ता हुने क्रममा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिनुभयो । दुर्घटनामा परी एक महिलासहित चारको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिमकोट गाउँपालिका–७ का ३० वर्षीय पर्वत सुनार, सोही पालिका वडा नं २ का २९ वर्षीय पारस बोहरा, नाम्खा गाउँपालिका–१ हेप्का गाउँका ४५ वर्षीया दुखी तामाङ र ४८ वर्षीय गुरु तामाङ रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

दुर्घटनामा परी एक वर्षको बच्चासहित सात जना घाइते भएका छन् । घाइते हुनेमा सिमकोट–२ ठेहेका जिप चालक सिङ्गम भण्डारी, सिमकोट–६ बस्ने प्युठानका अजय बस्नेत, सिमकोट–८ खोल्सिका कल्पना सिंह, सिमकोट–८ खोल्सिका एक वर्षे बालक मिलन सिंह, सिमकोट–८ खोल्सिका सम्झना शाही, नाम्खा गाउँपालिका–१ का झुमझुम लामा र सिमकोट बजारमा बस्ने बाजुराका कवि सिंह रहेका छन् ।

घाइतेको हुम्ला जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको र बच्चासहित पाँचको अवस्था सामान्य भएको जिल्ला अस्पतालले जानकारी दिएको छ । बेलेरो जिप मूल सडकभन्दा करिब ६०० मिटर दक्षिणमा खसेको हो ।

जिप दुर्घटना भएको खबर पाएलगत्तै घटनास्थल पुगेका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले उद्धार गरेका थिए । राति भएकाले उद्धारमा केही समस्या भएको घटनास्थल पुगेका सशस्त्र प्रहरी बल हुम्लाका प्रमुख डिएसपी मोहन विष्टले बताउनुभयो । अधिकांश घाइतेको छाती, टाउको र हातखुट्टामा चोट लागेको प्रहरी स्रोतले जनाएको छ ।-रासस


सम्बन्धित शीर्षकहरु

कुवैत शहर, अगस्ट २३ आन्तरिक मन्त्रालय अन्तर्गतको लागूऔषध नियन्त्रण सामान्य विभाग (DCGD) निर्देशक ब्रिगेडियर जनरल मोहम्मद कबाजार्ड र उपनिर्देशक ब्रिगेडियर…

रियाद: साउदी अरबका युवराज मोहम्मद बिन सलमानले बिहीबार वार्षिक राष्ट्रिय रक्तदान अभियान सुरु गर्न रक्तदान गर्नुभयो, जुन एक दयालु इशारा…

न्यायको क्रूर कार्यान्वयनमा, इरानले तीन दिनमा दोस्रो सार्वजनिक मृत्युदण्ड दियो। बिहीबार, अगस्ट २१ मा, हत्याको दोषी ठहरिएका एक इरानी पुरुषलाई…

प्रतिकृयाहरू
...