ठाकुर प्रसाद पाैडेल/पोखरा – २०४८ साल फाल्गुण ७ गते प्रजातन्त्र दिबसको दिन तदानुसार १९फेब्रुरी १९९२ का दिन काठमाण्डू बाट शाहीनेपाल बायुसेबा निगमको जहाज उडान मार्फत दिल्ली, दिल्ली बाट गल्फ एयरलाईनसको उडान मार्फत मुम्बई – आबूधाबी -बहराइन हुदै कुबेत २३ -०२ -१९९२ का दिनमा हामी १८जना नेपाली वैदेशिक रोजगारीका लागी कुवेत पुगेका थियौ ।
त्यस समयमा कुवेत ईराक़बाट अतिक्रमित भई अमेरिकाको नेतृत्वमा रहेको विश्वका धेरै देशहरुको सहयोगमा करिब एक वर्ष पहिला मात्र स्वतन्त्र भएको थियो । तत्कालिन इराक़ी राष्ट्रपति सद्दाम हुसेनले कुवेतलाई आक्रमण गरी त्यहाँका धेरै नागरिकहरु निर्वासित जिबन बिताउन बाध्य भएका थिए भने करिब ६ हजार भन्दा बढी नागरिक मारिनुका साथै धेरै बेपत्ता समेत भएका थिए । त्यही कारणले सद्दाम हुसेनको पतन भयो उनका सबै परिबार मरिए र पनि ईराक़मा अझै पनि अशान्ति र द्वन्दग्रस्त रहेको छ ।
त्यस्तो विषम् परिस्थिती भएको मुलुकमा नेपाली युबाहरु जोखिम मोल्दै जाने क्रममा म पनि सुरक्षागार्डमा काम गर्ने भिसामा पुगेको थिएँ । नेपालमा प्रा बि स्तरमा स्थाई शिक्षकमा कार्यरत रहेको समयमा तिन महिनाको बेतलबी बिदामा म वैदेशिक रोजगारीमा हिडेको थिएँ । त्यसका पछाडी धेरै कारणहरु थिए । सबै कुरा यहाँ अहिले उल्लेख गर्न धेरै लामो हु नेहुँदा उल्लेख गर्न सकिन।
जब कुवेत पुग्यौ त्यस समयमा कम्पनी भरखर स्थापना भएकोले कुनै काम गर्ने कन्ट्याकको टुंगो थिएन । करिब २५ जना नेपाली दाजुभाईहरु कुवेतको खैतान बस स्टेसनको नजिकै कम्पनीको क्यम्पमा बसेका थियाैं । काम नभएकोले समय बिताउन कठिन थियो । त्यसै सिलसिलामा बिहान बेलुका खुला मरुभूमिको बलौटे मैदानमा फुटबल खेल्ने रुममा बस्दा कति साथीहरु तास खेलेर समय ब्यातित गर्नु हुन्थ्यो भने कतिले कपिको पानामा बाघचाल केरेर खेलेर समय बिताउनु परेको थियो ।
कुवेत पुगेको करिब २० दिनमा संगै गएको साथी समय बिताउन फुटबल खेल्दा खेल्दै पोखरा निबासी नरेश थकालीको हृदयगति बन्द भई अचानक ढल्न पुगे । उनलाई तुरुन्त फर्वानिया हस्पिटलमा लैजाने क्रममा मेरो काखमा नै उनको प्राण गयो । जब हस्पिटलमा पुर्यायौं डाक्टरले मरिसकेको भनेर घोषणा गरे ।
हामी ज्यादै दुखी भयौ । उनको मृत शरीर सम्म उनको परिवारजनलाई नेपाल पठाउन सकिएन । हाम्रो मेडिकल, फ़िंगरप्रिंट भएको थिएन , पास्पोर्टमा भिसा पनि लागेको थिएन । त्यस कारण कुवेत सरकारले लास समेत पठाउन नमिल्ने भनेर पठाउन सक्ने अबस्था भएन । हाम्रो दूतावास पनि साउदी अरबमा भएकोले संपर्क गर्न समेत अति कठिन थियो ।
कुवेत पुगेको एक महिना पछी अफिसमा सहयोगीको रुपमा काम गर्ने गरी एकजना सुपरभाईजर शर्मा थरका ब्यक्ति संग जाने आउने गरें । तर अरु साथीभाई करिब चार पाँच महिना रुममानै बस्नु परेको तितो यथार्थ हामीले भोग्नु परेको थियो ।
म त्यस कम्पनीमा सुपरभाईजर हुदै अप्रेसन अफिसरबाट ११ वर्ष मा अर्को कम्पनीमा आउनेगरी छोडेर नेपाल फिर्ति भएँ ।त्यस पछी फेरी कुवेत गएर १५ वर्ष काम गरी जिबनका महत्वपूर्ण २६ बसन्तहरु विदेशमा बिताएर नेपाल फर्केको पनि तिन बर्ष पुरा हुँदै छ । जती दिन र जति समय विदेशमा बिताएँ ति क्षणहरु पनि मेरा लागी अबष्मरणिय छन । जति मैले त्यहाँ रहेका साथीभाईलाई सकेको सल्लाह सहयोग र नेपाल र नेपाली जनताको ईज्तज बढाउन बिभिन्न संघ संस्था मार्फत र ब्यक्तिगत रुपमा जे जती काम गर्न सकियो त्यसमा गौरब गर्न लायक धेरै कामहरु गरिएका छन , सबै साथीभाईहरुलाई धेरै धेरै धन्यबाद भन्दै सम्झना गरेको छु ।
जब हामी १९९२ मा कुवेतमा गएका थियौं त्यस समयमा धेरै कुवेती नागरिकले नेपाल देश कहाँ छ र नेपाली जनता कस्ता हुन्छन भन्नेकुरा थाहा थिएन । कसैले सोच्दथे यिनिहरु हिन्दि (भारतीय) हुन र पाकिस्तानी , कसैले मंगोलियन फेसका नेपालीहरुलाई फिलिपिनी वा थाईल्यान्डी भन्ने गर्दथे । थोरैले मात्र नेपाली भनेका गोर्खाली हुन ईमानदार हुन्छन भनेर जाने बुझेकाहरुले धेरै माया पनि गर्दथे ।
अहिले नेपालीहरूका लागि कुवेत लगायत पुरै मध्यपूर्व अनि विश्व श्रम बजारमा अवसरका लागि अत्यन्त सहज र धेरै संभाबनाहरु छन । धेरै नेपालीहरुले बैदेशिक रोजगारीमा गएर आफ्नो परिबार र आफ्नो जिबनलाई संपन्न र सहज बनाउनु भएको छ ।
आज नेपाल जहाँ छ र जे जति नेपाली जनताको जिवनस्तर माथी उठेको छ , नेपालको अर्थतन्त्र चलेको छ नेपाली युबाहरुले जोखिम मोलेर बिश्वका द्वन्दग्रस्त र जोखिमपुर्ण क्षेत्रमा आफ्नो जिबनको पर्वाह नगरी काम गरेर कमाएको पैसा र रिमिटेन्स बाट हाम्रो देश चलेको छ ।
विदेशमा बस्नुहुने मेरा साथीभाई र अन्य नेपाली दाजुभाई दिदीबहिनीहरूलाई मेरो बिनम्र अनुरोध छ पुरा जिबन विदेशमा नबिताऔ । समय छँदै र अली उमेर हुँदै नेपाल फर्कन सकौ र विदेशबाट आएर त्यतिकै बसेर हुँदैन यहाँ आएर पनि केही न केही गर्नु पर्ने हुन्छ भन्न चाहन्छु । जोश जाँगर र हौसला हुँदै नेपाल आएर यहीँ केही लगानी गरेर केही गर्न सकिन्छ र मात्र हामी सुखी र शान्तिले बाँकी जिबन नेपालमा बिताउन सक्दछाैं ।
यसर्थ साथीहरु जो खाड़ी र मलेसियामा काम गर्नुहुन्छ उहाँहरु १०-१५ वर्ष भन्दा बढी विदेशमा नबस्न र समयमा नेपालमा फर्केर केही न केही सकरात्मक र रचनात्मक काम गर्न सकिन्छ भन्न चाहन्छु।
धन्यबाद ।
ठाकुर प्रसाद पौडेल
२०७७/८/१६
1st Dec.2020