रात भरी ज्वरो र खोकी लागेर नवीन सुत्न सकेकै थिएन । उसको श्वास पनि बढीरहेको थियो । रुममा हामी सबै अलमल थियौं, के गर्ने? के नगर्ने दिमाखमा आएको थिएन् ।
विदेशको ठाउँ रातको समय शहरबाट बाहिर थियाे क्याम्प पनि । हामी आत्तियौ,कम्पनीमा फोन गरियो । भोलि बिहान मात्र आउने कुरो भो तर नविनको हालत झन खराब हुँदै गयो । हामी आतियौ, लक्षण देख्दा कोरोना जस्तो छ । हामीलाई पनि डर लाग्यो ।
ऊ छट्पटाई रहेको थियो।अब पनि हस्पिटल लगिएन भने साथीको अर्थ छैन । अचानक मलाई याद आयो!यहाँको सरकारले दिएको नम्बर ।
मैले कल गरी हालें, साथीहरु नबिनलाई सम्हाल्दै थिए । रातको समय भए पनि,एम्बुलेन्स तुरून्त आयो ।
अक्सिजिन लगाएर उसलाई लिएर गयो । हामी अब अलि दुक्क भयौ । निद लागि रहेको थिएन् । मनमा अनेक प्रश्न आएका थिए ।
“भोलि बिहान हामीलाई पनि फोन आयो,रुमबाट बाहिर नजान भनेर । हामी पनि डरायौं । विदेशको ठाउँ अब के हुन्छ भनेर? घरको सम्झना आयो । आमाबाबा जीवन संगिनी अनि बाल बच्चाको पनि।”
हामीलाई पनि चेक गरियो ।अरू २ जना साथीलाई पनि कोरोना पोजेटिभ आयो । बाँकी हामी २ जना रुममा बस्न थाल्यौं । मनमा डर थियो,आत्मा कमजोर भए जस्तो लाग्थ्यो । फेरि पनि हिम्मत गरियो, डाक्टरको सल्लाह अनुसार आफ्नो ख्याल गरियो । हामी नर्मल नै थियौं ।
अचानक नवीन आइसियुमा गएको खबरले, हामी डरायौं । मन आतियो नत भेट्न जान सकिन्छ । के छ खबर कम्पनीबाट पनि केही बताउँदैन । कस्तो रोग आयो भनेर आफै भित्र सोध्नु पर्ने?
१५दिनपछि हामी नर्मल भयौ।
एक महिना पछि हामी रुममा बस्दै थियौँ । एम्बुलेन्स हाम्रो क्याम्पमा आएर रोकियो । हामी तल झरियो,नवीन आएका थिए । हामी खुसी भयौं । रुममा प्रवेश गरियो ।
“नविनको आँखाबाट आँसु रसाए, उनको मन थामिएन । हामीलाई केही भन्न खोजेको जस्तो ? लाग्यो । उनको आवाज कमजोर थियो । शरीर पनि दुब्लो पातलो भएको थियो । त्यो दिन उनी बोल्न सकेनन्। ”
भोलिपल्ट बिहान हामी चिया पिउन थाल्दै थियौँ । नबिनले हामी सबैको मुखमा हेरी भने: साथी हो हजुरहरुको सहयोग अनि,यहाँको हस्पिटलको केयरले बाँच्न सफल भए ।
तर मेरो मन परिवर्तन भइसकेको छ, माफ गर्नुहोला म आजबाट कममा जान्न, राजीनामा दिदै छु । बाँकी जिन्दगी दुःख सुख घरपरिवार सँग बिताउन चाहन्छु । म मृत्युको मूखबाट बाँचेको छु ।
सबै साथीहरु एक्छिन अलमल परे, आपसमा मुख हेरा हेर भयो ।
तानसेन ,पाल्पा
हाल युएई