कोरोना पुराण
नेपाली लोक छन्द-झ्याउरे
उहिले कतै लुकेको होला पापिष्ठ कोरोना ।
बुझ्दैन मन नभने आज पुराण कोरोना । १ ।
कोरोना घरै कोरोना बनै कोरोना कोरोना ।
नभाको ठाउँ भेटिन्न कतै पातकी कोरोना । २ ।
रेडियो खोल्छु कोरोना बज्छ टीभीमा कोरोना ।
साथीले फेरी सुस्तरी बोल्यो धन्य हो कोरोना । ३ ।
कोरोना खाँदा कोरोना सुत्दा उठ्दा नि कोरोना ।
काखमा बस्छ बालक दुधे पुकार कोरोना । ४ ।
पँधेर्नी बोक्छे गाग्रोमा पानी मुखमा कोरोना ।
गोठालो बोल्यो शहर रोज्छ भलाद्मी कोरोना । ५ ।
ठूला र ठालु छानेर बस्छ घमन्डी कोरोना ।
उन्नत देशाँ जहाज चढ्छ बिनाशी कोरोना । ६ ।
लुकेर भेट्ने मायालु पनि तर्सायो कोरोना ।
नडसे सम्म सन्तुष्ट हुन्न पापिष्ठ कोरोना । ७ ।
होला कि कहीँ स्वर्गमा पनि यो पाजी कोरोना ।
नर्कमा भने अबस्य होला नपुंसक कोरोना । ८ ।
हरि शर्मा (सुवेदी)
गलकोट- नुवाकोट, बाग्लुङ, नेपाल
हाल: मिसिगन अमेरिका।