Wednesday 13th May 2026

विश्वकपको दावेदार ब्राजिललार्इ पाखा लगाउँदै बेल्जियम सेमिफाइनलमा


तितोपाटी – रुस विश्वकप फुटबलको क्वार्टरफाइनल खेलमा पाँच पटकको विश्वकप विजेता ब्राजिल बेल्जियमसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।

एउटा रोमाञ्चक प्रतिस्पर्धामा बेल्जियम २-१ गोल अन्तरले विजयी भएको हो।

शुरूमा आत्माघाती गोलबाट अग्रता लिएको बेल्जियमका लागि केभिन डि ब्रुइनाले उत्कृष्ट गोल गरेका थिए।

अगष्टोले अन्तिम १५ मिनेट बाँकी छँदा ब्राजिलका लागि गोल गरे पनि बेल्जियमले खेललाई आफ्नो हातबाट फुत्कन दिएन।
विश्वकपबाट ब्राजिलको बहिर्गमनको अर्थ रुस विश्वकपमा अब बाँकी टोलीहरू युरोपका मात्रै छन्।

बेल्जियमले शुक्रवारको पिहलो क्वार्टरफाइनलमा युरूग्वेलाई हराएको फ्रान्ससँग अब सेमिफाइनलमा भिड्नेछ।

कजानमा ब्राजिलविरुद्ध भिड्दै गर्दा बेल्जियमले प्रतियोगिताको आफ्नो लगातार पाँचौ जित सुनिश्चित गर्ने र सन् २००६ यता पहिलो पटक विश्वकपको सेमिफाइनलमा युरोपेली टोलीहरूमात्रै पुग्ने अवस्था सिर्जना गराउन चाहेको थियो।
रुसमा खेलका आफ्ना पछिल्ला चार खेलमा ब्राजिलले एक गोल मात्रै खाएको थियो। तर बेल्जियमविरूद्धको खेलमा भने चाड्लीले प्रहार गरेको कर्नर आफ्ना खेलाडी फर्नान्डिनोको पखुरामा लागेर जाली चुमेपछि ऊ शुरूमै पछाडि परेको थियो।

२० यार्ड परबाट फर्नान्डिनोसँगै म्यानचेष्टर सिटीबाट खेल्ने केभिन डि ब्रुइनाले उत्कृष्ट गोल गर्दै आफ्नो टोलीको अग्रता दोब्बर बनाए।
खेलको शुरूमा नै ब्राजिलका थिएगो सिल्भाले नेमारबाट प्राप्त कर्नरमा हानेको प्रहारले जाली चुम्न सकेन।

ब्राजिलले अन्य कैयौँ प्रहारहहरू गरे पनि बेल्जियमका गोलरक्षकले उत्कृष्ट ढ्ङ्गले गोल हुनबाट जोगाएका थिए।

उसले बेल्जियमविरूद्ध २७ वटा प्रहार गरेको थियो।

बेल्जियमको फुटबल इतिहासकै स्वर्णिम साँझ मानिएको शुक्रबारको खेलको एउटा नकारात्मक पक्ष भनेको बेल्जियमका रक्षापङ्क्तिका खेलाडी टमस मुनियरले दोस्रो पँहेलो कार्ड पाएका छन्। उनी फ्रान्सविरूद्ध खेल्न पाउनेछैनन्।
अन्य विश्वकप विजेता टोलीहरू जर्मनी, आर्जेन्टिना, स्पेन र युरूग्वेपछि ब्राजिल रूस विश्वकपबाट बाहिरिएका हुन्।

ब्राजिल प्रतियोगिताबाट बाहिरिँदा कजान रंगशालामा रहेका कैयौँ उसका समर्थकले दुःख व्यक्त गर्दै आँसु झारेका थिए।
रुस विश्वकप खेलिरहेको बेल्जियमको टोलीलाई देशकै अहिलेसम्मै सबैभन्दा बलियो फुटबल टोलीका रूपमा प्रस्तुत गरिएको छ।

प्रिमियर लिग जितेको टोलीका उत्कृष्ट खेलाडीले भरिएको बेल्जियमको टोलीले यसपटक विश्वकपकै उपाधि उचाल्ने कतिपयले टिप्पणी गरिरहेका छन्।
बेल्जियम आफ्ना पछिल्लो २४ वटा खेलमा अपराजित रहेको छ र शुक्रवार उसले आफ्नो फुटबल इतिहासमा नै दोस्रो पटक ब्राजिललाई हराएको हो।

यसअघि सन् १९६३ मा ब्रसल्समा भएको मैत्रीपूर्ण खेलमा बेल्जियमले ब्राजिललाई हराएको थियो।

सन् १९८६ को विश्वकपमा पनि बेल्जियम सेमिफाइनलमा पुगेको थियो। तर त्यसबेला उक्त टोली उपाधि विजेता आर्जेन्टिनासँग पराजित भएको थियो।


सम्बन्धित शीर्षकहरु

इजरायलको संसद (Knesset) ले सन् २०२३ अक्टोबर ७ मा भएको हमास नेतृत्वको आक्रमणमा संलग्न पक्राउ परेका व्यक्तिहरूलाई विशेष सैन्य अदालतमार्फत…

राष्ट्रपति रामचन्द्र पौडेलद्धारा संघीय संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा केही यस्ता बुँदाहरू समावेश भएका छन्, जसले दीर्घकालीन रूपमा मुलुकमा आशा…

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी, मर्यादित र वातावरणमैत्री बनाउने उद्देश्यसहित देशव्यापी रूपमा “सरसफाइ सप्ताह २०८३” घोषणा…

प्रतिकृयाहरू
...