तोयानाथ उपेक्षित, यो जवाफले लाखौ नेपाली निराश छन । नेपाल सरकारको यो भाषा कसैलाई मन परेको छैन । जो समस्यामा छन, अप्ठयारामा छन, विचल्लीमा छन र घर फिर्न चाहान्छन तीनलाई स्वदेश फिर्न नदिने कुरा किमार्थ स्वीकार्य छैन । जो जहाँ छौ तिमीहरु त्यहि बस भन्नु को अर्थ के हो ? मरे मर बाँचे बाँच हामीलाई मतलब छैन अन्तत यसको यहि सिधा अर्थ हुन्छ ?
विश्वभरी कोरोनाको कहर बढदै गएको फेव्रवरी देखि हो । मार्चको पहिलो साता सम्म दुनियाले यसलाई सामान्य रुपमा लिदै थिए । अब यो भयावह भईसकेको छ । विदेशबाट नेपालीहरुलाई आउन दियो भने नेपाल नै सिद्धिएला भन्ने सरकारको प्रचार शैली देखिन्छ । यो चिन्तासँग सहमत भएर नै हो नेपालीहरु जो जहाँ छन त्यही बसिरहेका छन । यसरी बसेको पनि दुई महिना वितिसक्यो । अब कहिले सम्म बस्न पर्ने हो ? कहिले बाट कोभिड ले दुनियालाई छाड्ने हो कसैलाई थाहा छैन । अनि अनन्तकालसम्म विदेशमा बसेका नेपाली त्यही बसिरहन पर्छ भन्ने सरकारको आग्रह हो की कुनै तयारी पनि चल्दैछ ? हेर्दा हेर्दै करिब सय भन्दा धेरै नेपालीहरुले विदेशमा ज्यान गुमाईसकेका छन । हजारौ को संख्यामा संक्रमित छन । दिनहु यो क्रम बढदो छ ।
त्यसो त नेपालमा मरिन्दैन भन्ने होईन तर अर्काको देशमा मर्नु र आफ्नो देशमा मर्नुको फरक पनि त होला । विदशमा कोभिड संक्रमण बाट जोगिन भन्दा आफ्नो गाउँघरमा अलिक सजिलो पनि होला । घरमा गएर, गाउँ शहरमा फैलाएर नेपाल सिद्धयाई दिउ भन्ने त कोही पनि विदेशमा रहेका नेपालीमा त्यस्तो पाप बसेको छैन । त्यो चेतनासहित नै नेपालमा आउने होलान । त्यो सजगता सहित घरमा भित्रने होलान । यस हिसावले सरकारले सोचिदिए कस्तो हुन्थ्यो । त्यस हिसावको तयारी गर्दै थोरै थोरै भए पनि पालै पालो लाने कार्ययोजना देखाई दिए पनि त्यो स्वदेश पुग्ने आशाले विदेशमा बस्नेहरुको मनोवल बढने थियो । तर अहँ केही सकरात्मक सन्देश आउदैन । आफ्नो देशको क्षमताको कुरा सरकारले गर्दछ । नागरिकको जीवन भन्दा धेरै महत्व अरु केही होईन भनेर बुझिदिए क्षमता आफ्ै तयार हुन्छ । भनिन्छ प्रसव वेदना आमालाई मात्र थाहा हुन्छ । के भईरहेको छ विदेशमा हुनेहरुको पिडा त्यो भोग्नेलाई मात्र थाहा छ सरकारले त्यो थाहा पाओस कसरी ?
अब कोभिडसँग डराएर होईन उ सँग सँगै लडेर बाँच्ने कार्यक्रम आउनु पर्दछ । यसको उपचार नै नभए पछि अरु उपाय पनि छैन । भोकले मर्ने र शोकले मर्ने भन्दा लडेरै मर्ने साहास भर्न पर्दछ । कोरोना लाग्ने वित्तिकै मरिन्छ भन्ने छैन । उसले कसलाई जिउने ईजाजत दिन्छ त्यसको लागि हो यो संसार जसलाई दिदैन मृत्यु स्वीकार गर्नुको विकल्प हुदैन । त्यसमा सबै जानकार छन । हामी विदेशमा रहने हरुलाई कोभिडको भन्दा धेरै डर बेरोजगारी भएर कसरी बाँच्न भन्ने भईसक्यो । परिवारसँग टाढिएर दुवैतिर बढेको चिन्ताले दिन, साता, महिनाहरु कसरी विताउने अनि कहिलेसम्म भन्ने प्रश्नको उत्तर खोज्न गाहो भईसक्यो । विदेशमा अर्काको आदेशमा काम गर्न पाउँदा पनि नपाउँदा पनि जोगिनलाई गाहो भईसक्यो । भाग्न र लुक्न नसक्ने ठाउँमा रहेर एक्लै बाँच्न पर्दाको अप्ठायारो र पीडाले नसताएको कुन श्रमिक होला ? यहाँ त चिन्ताले आयु सिद्धिने दिन आईसक्यो ।
कोभिड को भ्याक्सिन नबने सम्म जो जहाँ छौ त्यही बस भनेको हो सरकारले ? त्यसो हो भने त्यसको ग्यारेन्टी के छ ? कहिले सम्म बन्छ ? कोही भन्न सक्छ ? अहिले त्यस विरुद्धको खोपमा भईरहेका ट्रायलहरु सफल हुन्छन भन्ने कुनै ग्यारेन्टी छर ? भनिन्छ सन २०२४ सम्म यो समस्या रहिरहन्छ ।
सरकारले दुतावाससँग कुरा गरेको छु भनेर थुमथुम्याउनु को कुनै अर्थ छैन । एक छाक खान र एक साँझ बस्न दिने हैसियतमा कुनै नेपाली नियोगहरु छैनन । देशको अर्थ व्यवस्थाले यहाँ पैसा पठाएर आफ्ना नागरिक पाल्ने सरकारको सामथ्र्य पनि छैन । जति ढिला गरयो त्यति समस्या थपिने हो । यसर्थ अब जो जहाँ छस त्यही बस भन्ने कुरा सुन्न छैन हामीलाई । जो आउन चाहान्छौ अप्ठयारामा छौ दुतावासमा त्यसको लगत देउ । रजिष्ट्रर्ड हौ भनेर सरकारले भन्न सक्नु पर्दछ । त्यस अनुसारको क्वारेन्टाईनको तयारी के भईरहेको छ जानकारी दिन थाल्नु पर्दछ । विदेशी राष्ट्रहरुले तेरो नागरिक लैजाउ भनेका दिन यी सवै कुरा सोचेर हुदैन ।