तितोपाटी- युएईमा रहेका दुई नेपाली सहित १४ जनामा कोरोनाभाइरस संक्रमण रहेको पुष्टि भएको छ।
सोमबार युएईको स्वास्थ्य मन्त्रालयले थप १४ नयाँ कोरोना संक्रमित बिरामीहरुमध्ये दुई जना नेपाली पनि रहेको बताएको हो। खलिज टाईम्सका अनुसार कोरोनाका बिरामीहरु चार इमिरेटिस, तीन इटालियन, दुई बंगलादेशी, दुई नेपाली, एक रुसी, एक भारतीय र अर्का एक जना सिरियाका नागरिक रहेका छन्। उनीहरूलाई पहिले क्वारन्टाइनमा राखिएका बिरामीहरुबाट सरेको बताइएको छ। ती दुई नेपाली को हुन् भन्नेबारे खुलाइएको छैन।
अहिलेसम्म युएईमा ५९ जनामा कोरोना संक्रमण भेटिएको छ। साथै सोमबार मन्त्रालयले पाँच जनाको उपचार गरी अस्पतालबाट डिस्चार्ज गरिसकेको बताएको छ।-साभार सेतोपाटी बाट