नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य घनश्याम भुसालले आफू स्कुल विभाग सम्हाल्नका लागि योग्य भएको बताएका छन्। बिहीबार लुम्बिनी प्रेस क्लब, सिद्धार्थनगरले भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टीको नीति, सिद्धान्त र विचार निर्माणमा योगदान गरेको जनाउँदै स्कुल विभाग आफूलाई दिन नेतृत्व समक्ष आग्रह समेत गरेका छन ।![]()
भुसालले पार्टी प्रशिक्षण, मार्क्सवादलगायत क्षेत्रमा आफूले पार्टी र स्कुल-स्कुलमा पढाउँदै हिँडेकाले यो विभाग आफूलाई दिँदा सबैलाई न्याय हुने दाबी गरे। अहिले नेकपामा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलबीच स्कुल विभाग कसले लिने भन्ने विवाद चर्किएको बखतमा नेता भुसालले पार्टी सामूहिक निर्णयबाट चल्ने, आफूले गरेको योगदानको मूल्यांकन गर्ने र गुटगत स्वार्थभन्दा माथि उठ्ने हो भने स्कूल विभाग आफुलाई दिँदा न्यायोचित हुने बताएका हुन् ।
‘मेरो सिम्पल दाबी हो, त्यो पनि छलफल गरे हुन्छ मेरो मात्र दाबी होइन, ‘मार्क्सवाद, पार्टीको राजनीति, बदलिएको समाज, समाजको अर्थराजनीति यी सबै पढाउने काम मैले गर्दै आएको छु,’ उनले भने। प्रतिनिधिसभा सदस्य समेत रहेका भुसालले तत्कालीन एमालेको नवौं महाधिवेशनबाट आफू उपमहासचिवमा निर्वाचित हुँदा पनि स्कुल विभागको दाबी गरे पनि उतिबेला कुनै पनि जिम्मेवारी नपाएको समेत बताए।
भुसालले बर्तमान सरकार गठनपछि थुप्रै राम्रा काम भएको तर जनता समक्ष लैजान नसक्दा गरेका काम पनि नदेखिएको दाबी गरे। ‘सरकारले गरेकै उपलब्धिहरू कामहरू पनि तलसम्म लैजान सकिएन भन्नुको अर्थ के हो भने पहिलो सम्पूर्ण पार्टी परिचालित भएन, दोस्रो पार्टीभित्र र संसदीय दलमा पनि छलफल भएन।’
उनले पार्टीलाई गुट, रिसराग, पुरानो कुण्ठाभन्दा माथि राखेर सञ्चालन गरे सरकारले गरेका राम्रा काम जनतासम्म पुर्याउन सबै एकजुट भएर लाग्ने बताए। ‘गरेका कामहरू जनतामा नपुग्ने, गरेकै कामहरूमा पनि तमाम विवादहरू रहने यो हुनु पार्टीको आन्तरिक व्यवस्थापन ठीक नहुनुको परिणाम हो, यसमा केही गुटगत स्वार्थहरू रहे, त्यसका केही बोझहरू बाँकी रहे जसलाई हामीले व्यवस्थित गर्न सकेनौं।’
-सेतोपाटीबाट