Sunday 25th October 2026

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि २१ सै घण्टा संचालन


तितोपाटी – विगत तीन महिनादेखि दैनिक १० घण्टा बन्द हुँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज सोमवारदेखि पूर्ववत् रूपमै सञ्चालनमा आएको अधिकारीहरूले बताएका छन्। तीन हजार मिटर लामो धावनमार्गमा नयाँ कालोपत्र गर्ने काम सकिएसँगै दैनिक २१ घण्टा नै विमानस्थल सञ्चालनमा ल्याइएको उनीहरूको भनाइ छ। विमानहरू उड्नुअघि प्रयोग गर्ने मार्ग (ट्याक्सी वे) र विमानस्थल भित्री सडकको निर्माणको काम भने दुई महिनापछि सुरु गरिनेछ।

झन्डै ४० वर्षपछि देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको उक्त धावनमार्गमा नयाँ कालोपत्रे गर्ने भन्दै तीन महिनाका लागि विमानस्थल १० घण्टा बन्द गरिएको थियो। त्यो अवधिमा राति १० बजेदेखि बिहान ८ बजेसम्म कुनै पनि उडान हुन पाएका थिएनन्। चिनियाँ निर्माण कम्पनीलाई निर्माणको जिम्मा दिइएको उक्त धावनमार्ग कालोपत्रेको काम तोकिएकै समयभित्र सकिएको अधिकारीहरूको भनाइ छ।

तीन महिलाको अवधिमा विमानस्थल राति १० बजे नै बन्द गरेर रातभरि निर्माणको काम गरिएको थियो। त्यतिखेर तोकिएको समयभन्दा केही ढिला उडानका लागि तयार भएको नेपाल वायुसेवा निगमको विमान उड्न नदिएको विषयले निकै चर्चा पाएको थियो। ‍त्रिभुवन विमानस्थलमा दैनिक औसत चार सय पटक उडान र अवतरण हुने गर्छन्।

धावनमार्गको काम सकिए पनि विमानहरू उड्नुअगाडि प्रयोग गर्ने मार्ग ट्याक्सी वे र विमानस्थल भित्री सडकको निर्माणको काम भने अझै बाँकी रहेको छ। जुन काम अबको दुई महिनापछि सुरु गरिने र उक्त अवधिमा राति साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म विमानस्थल फेरि बन्द गरिने बताइएको छ। धावनमार्गलगायतको कामका लागि तीन अर्ब ७८ करोड रुपैयाँ छुट्याइएको छ। धावनमार्गलाई तीन सय मिटर विस्तारलगायतका अन्य निर्माणका लागि पनि छुट्टै ठेक्कामार्फत् काम भइरहेको बताइएको छ। उक्त काम भने आगामी वर्षको असारसम्ममा मात्रै सकिने अनुमान गरिएको छ।


सम्बन्धित शीर्षकहरु

इटालीमा बढ्दो महँगी, सैन्य विस्तार र रक्षा खर्च वृद्धि विरुद्ध शनिबार विभिन्न सहरमा प्रदर्शन भएका छन्। केही स्थानमा प्रदर्शनकारी र…

अमेरिकी राष्ट्रपति Donald Trump ले इरानमाथि आइतबारदेखि नै सैन्य आक्रमण गर्न सकिने संकेत दिएका छन्। उनले अमेरिका आवश्यक परे "काम…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानमाथि आइतबार अर्थात् अक्टोबर २५ मै पुनः सैन्य आक्रमण हुन सक्ने सङ्केत दिएका छन्। तर…

प्रतिकृयाहरू
...