Monday 19th January 2026

नेपाल रहेसम्म श्री ५ पृथ्वीनारायण अमर रहने छन् – कमल थापा


तीतोपाटी-राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष कमल थापाले नेपाल रहेसम्म श्री ५ पृथ्वीनारायण शाह अमर रहने बताएका छन् । आज २९७ औँ पृथ्वी जयन्तीको अवसरमा सन्देश दिँदै उनले श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहकै परिकल्पना, योजना र साहसको परिणामस्वरुप आज हामीले नेपाली नाम, पहिचान र स्वतन्त्र देश प्राप्त गरेको बताएका हुन् । आज सामाजिक संजाल फेसबुकमा लामो स्टाटस राख्दै उनले पछिल्लो समय पृथ्वीनारायण शाहको योगदानलाई अवमुल्यन गर्ने, अपमान गर्ने र ईतिहासको गलत व्याख्या गर्ने प्रवृत्ति देखापरेको आरोप पनि लगाएका छन् ।

उनले भनेका छन्, २०६२÷६३ को जनआन्दोलन पश्चात परिवर्तनलाई संस्थागत गर्ने क्रममा परम्परादेखि नेपालको अस्तित्व र स्थायित्वको आधारस्तम्भको रुपमा रहेको हिन्दुराष्ट्र, राजसंस्था र एकात्मक राज्यव्यवस्थालाई हटाएर धर्मनिरपेक्षता, गणतन्त्र र संघियतालाई स्थापित गर्ने प्रयास भयो । मुलतः नेपालमा आफ्नो प्रभाव बिस्तार गर्न चाहने तथा नेपाललाई नवसांस्कृतिक उपनिवेश बनाउने उदेश्यबाट पश्चिमा मुलुकहरुबाट अभिप्रेरित र प्रायोजितरुपमा आएका मान्यताहरु हुन् ।

यी मान्यताहरु स्थापित गर्न र संस्थागत गर्न राज्यव्यवस्थाको महत्वपूर्ण धरोहर राजसंस्थालाई समाप्त पार्नु नितान्त आबश्यक थियो । राजसंस्था समाप्त पार्न राजसंस्थालाई राक्षसीकरण गर्नु, नेपालको गौरवपूर्ण ईतिहासलाई अपव्याख्या गर्नु तथा राजासंस्थाको योगदानलाई न्युनीकरण गर्नु आबश्यक ठानियो । त्यसैको फलस्वरुप राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहको योगदान र ईतिहासलाई समेत गलत ढंगबाट व्याख्या बिश्लेषण गर्ने तथा कलंकित गर्ने प्रयासहरु भए । यस कार्यमा कतिपय राजनीतिक दलहरु, नागरिक समाज, बुद्धिजिविवर्ग र आमसंचार माध्यमहरुलाई समेत प्रयोग गरियो । नेपाली जनताको मनमस्तिष्कलाई बौद्धिकरुपमा प्रदुषित गर्न योजनाबद्ध र संगठित अभियान नै चलाईयो ।

श्री ५ पृथ्वीनारायण शाहले राष्ट्रको एकिकरण गरेका होईनन् केवल निहित स्वार्थपुर्ति गर्न नरसंहार गरेर गोरखा राज्यको बिस्तार गरेका हुन्, उनको अभिायन र कार्यशैली निरंकुश र अधिनायकवादी थिए तथा बिजित राज्यका जनताको संस्कृति र सम्पतिमाथी शोषण गरे, भन्ने जस्ता तथ्यहिन र भ्रामक प्रचारहरु गरियो । प्रत्येक बर्ष पौष २७ गते पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउने परम्परा समेत २०६२÷६३ को परिवर्तन लगत्तै तत्कालिन सरकारले अन्त ग–यो उनले लेखेका छन् ।

एकिकरण अभियानको क्रममा केहि ज्यादति भए होलान् वा केही कमिजोरी भए होलान् तर, जेभएता पनि श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको योगदानको परिणामस्वरुप आज हामी स्वतन्त्र राष्ट्र नेपालको नागरिक हुने गौरव प्राप्त गरेका छौ । उक्त समयमा नेपालको एकिकरण हुन नसकेको भए वर्तमान नेपालको भूभाग तत्कालिन ब्रिटिश साम्राज्यको एक अगं हुन पुग्ने थियो । दक्षिण एशियाली भूभागमा त्यसबेला रहेका सयौं ससाना राज्यहरुको नियति नेपालले समेत भोग्नु पर्ने हुनसक्थ्यो ।

भारतमा शुरुमा व्यापारको बहानामा पसेको ईस्ट ईण्डिया कम्पनीले कालान्तारमा सिंगो भारतलाई आफ्नो कब्जामा लिएर उपनिवेश बनाएको थियो । यहि नीति नेपालमा समेत अबलम्बन गर्न अंग्रेजहरुले प्रयास गरेका थिए । नेपाली जनतामा शिक्षाको बिस्तार र स्वास्थ्य सेवा पु–याउने बहानामा केपुचिन पादरीहरु नेपाल पसेका थिए, उनीहरु नेपाललाई कमजोर बनाएर ब्यापारिक सम्बन्ध बढाउने तथा बिस्तारै राजनीतिक कब्जा जमाउन चाहन्थे । दूरदर्शी राजा श्री ५ पृथ्वीनारायण शाहले अंग्रेजहरुको यो षडयन्त्रलाई समय मै बुझेर असफल बनाई दिएका थिए । साथै, ई.सं १७६७ मा सिंधुलीको लडाईमा अंग्रेजहरुलाई पराजित गरि नेपालको अस्तित्व जोगाएका थिए ।

यस्तो घाम झै टडकारो सत्यलाई उपेक्षागर्दै राष्ट्रनिर्माता प्रति नकरात्मक र अनर्गल ब्याख्या बिश्लेषण गर्नु तथा राष्ट्रनिर्मातालाई सम्मान गर्न नचाहनु सर्वथा अतिशयोक्तिपुर्ण देखिन्छ ।

पृथ्वीनारायण शाहको दिव्यउपदेशको प्रसंग निकाल्दै उनले लेखेका छन्, दिव्यउपदेशमा उल्लेख भएका कतिपय बिचारहरु अहिले पनि सान्दर्भिक रहेको पाईन्छ । “यो नेपाल चार वर्ण छत्तिस जातको साझा फुलबारी हो र सबै मिलिजुली यसको रक्षा गर्नुपर्दछ“ भन्ने दिव्यउपदेशमा उल्लेखित महाबाणीको औचित्य र महत्व यद्यपी कायम नै छ । नेपाल अधिराज्य आफ्नो मात्र आर्जन होईन, यो राजाको व्यक्तिगत सम्पति पनि होईन, यो सबै नेपालीको साझा सम्पति हो भन्ने मान्यतालाई त्यसैबखत श्री ५ पृथ्वीनारायण शाहले स्थापित गरेका थिए ।

पृथ्वीनारायण शाहको गुण र चरित्रका वारेमा बिद्वान राजनीतिज्ञ डा. डिल्लीरमण रेग्मीले सटिक ढंगबाट चित्रण गरेका छन् । डा.रेग्मीको भनाईमा “श्री ५ पृथ्वीनारायण शाहको हृदय देशभक्तिमा चुर्लुम्म डुबेको थियो । विजय उनको जीवनको ध्येय थियो, त्यस लक्ष्यको नियामक शक्ति उनको हृदयमा रहेको देशभक्ति थियो । देशभक्त, साहसी योद्धा, संगठनकर्ता र सेनापति सबै गुणहरु एकसाथ उनमा बिद्यमान थिए । त्यसैले नंया अधिकार गरेको विस्तृत भूभाग एक संगठित केन्द्रिय शासनको अधिन होस् र तिनमा बसोवास गर्ने विभिन्न संप्रदाय र जातिका जनसाधारणले निर्भय भएर सुरक्षाको उपभोग गर्न पाउन् र उनीहरुको दमन नहोस् भन्ने कुरामा उनी सदा प्रयत्नशील रहन्थे“ ।

नेपालमा राजसंस्था आबश्यक छ वा गण्नतन्त्र भन्ने बहस अलग राजनीतिक बिषय हो । श्री ५ पृथ्वीनारायण शाहले राष्ट्र एकिकरण गरेका हुन वा गोरखा राज्यको बिस्तार गरेका हुन् भन्ने विवाद पनि निरर्थक छ । जसरी व्याख्या गरेपनि परिणाम एउटै हो– नेपाल राज्यको निर्माण । विगतमा जेजस्ता त्रुटि भएता पनि अब राष्ट्रनिर्मातालाई सम्मान गर्ने र राष्ट्रिय एकता दिवस मनाउने वारे राष्ट्रिय सहमति हुनु आबश्यक छ । राष्ट्रनिर्माताको योगदानको अवमुल्यन गर्ने पिंढीले राष्ट्र बचाउन र बनाउन सक्दैन । श्री ५ पृथ्वीनारायण शाहको नेपालीको मनमस्तिष्कमा सदैव जीवन्त रहन्छ । नेपाल रहेसम्म श्री ५ पृथ्वीनारायण अमर रहने छन् ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...