Tuesday 30th April 2024

बाबुछोराको धन्दा, कुवेत पठाइदिने भन्दै जिल्लाभरी ठगी


तीतोपाटी- छिन्नमस्ता गाउँपालिका ४ लालापट्टीका जिनत मन्सुरीले छोरा अन्सारुललाई वैदेशिक रोजगारीमा पठाउन एजेन्टले मागेको १ लाख ३६ हजार रुपैयाँ ऋण लिए ।

राम्रो कमाइ हुने ठाउँ कुवेतको भिसा आएको र जान ढिलो भइसकेको बताएपछि सबै पैसा एजेन्टलाई बुझाइदिए । गएको साउनमै भिसा आइसकेको भन्दै उडन तयार भएका अन्सारुल न त विदेश जान पाए, नत उक्त रकम नै पाएका छन् ।

सोही ठाउँका २१ बर्षीय रामनारायण मुखियाको हालत पनि अन्सारुलको जस्तै छ । उनले पनि १ लाख ३६ हजार तिरे कुवेत जाने आशमा । तर, अहिले न विदेश जान पाए न रकम नै फिर्ता पाए ।   एजेन्टलाई रकम दिएर ठगीमा पर्नेमा राजगढ गाउँपालिका ३ का २२ बर्षीय अफजल मन्सुरी पनि छन् । उनले पनि ७६ हजार रुपैयाँ एजेन्टलाई बुझाए विदेश गएर कमाइ गर्ने आशमा । तर उनको आशामाथि पनि तुसारापात भयो ।

हनुमानननगर कंकालनी नगरपालिका १४ रम्पुरा मल्हनियाँका दिनेश मुखियाले पनि विदेश जाने नाममा १ लाख ३६ हजार गुमाएका छन् ।

सप्तरीको भिन्न–भिन्न ठाउँका यी युवाहरु वैदेशिक रोजगारीमा एकसाथ ठगिएका छन् । र, ठग्ने गिरोह एउटै हुन् । एक बुवा छोरासहित तीन जना मिलेर सप्तरीभरीकै युवाहरुलाई वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको मंगलबार पर्दाफास भयो ।

सप्तरीकै रुपनी गाउँपालिका १ बस्ने मस्तकिम मियाँ, उनका छोरा हजरत तथा छिन्नमस्ता गाउँपालिका ४ लालापट्टीका रहमान मियाँले दर्जनौं युवासँग करोडौं ठगी गरेको उजुरी प्रहरीमा परेको छ । प्रहरीले मस्तकिमलाई पक्राउ गरेको छ भने अन्य दुई फरार रहेका छन् ।

मंगलबार जिल्ला प्रहरी कार्यालयमा एकसाथ ३७ जना पीडितले उनीहरुविरुद्ध उजुरी दिएका छन् । सप्तरीको प्रायः हरेक ठाउँका युवाहरुले सामूहिक उजुरी दिएपछि प्रहरी पनि आश्चर्यमा परेको छ । उनीहरुले ८० हजारदेखि १ लाख ३६ हजार रुपैयाँसम्म लिएका छन् । धेरै जनासँग  १ लाख ३६ हजार लिएको प्रहरीमा दिएको उजुरीमा उल्लेख छ ।

उनीहरुले सबैलाई कुवेत पठाइदिने भनेरै रकम लिएका छन् । ‘ठगीमा संलग्न एक जनालाई नियन्त्रणमा लिएका छौं’ सप्तरी प्रहरी प्रमुख उपरीक्षक राजेन्द्र विष्टले भने, ‘बाँकीको पनि खोजी भइरहेको छ ।’ प्रहरीले तीनैजना विरुद्ध ठगी मुद्दा लगाउने तयारी गरेको छ ।

भेला गर्दै, रकम जम्मा गर्न लगाउँदै

ठगी गिरोहका तीन जनाले सबै गाउँलेलाई एकै ठाउँमा भेला गरेर वैदेशिक रोजगारको प्रचार–प्रसार गर्दै आएको बताएका छन् । गाडी चढेर आउने उनीहरुले कमाइ हुने ठाउँमा पठाइदिने लोभ देखाउने गरेका लालापट्टीका सगीर मन्सुरीले बताए ।

‘गत साउनको पहिलो साता नै यी तीन जना मेरो गाउँमा आएर भेला बोलाएका थिए’ सगीरले उनीहरुले दिने आश्वासनबारे सुनाए ‘तपाईंहरुलाई राम्रो काममा कुवेत पठाइदिन्छु । अहिले पैसा छैन भने केही छैन । विस्तारै जम्मा गर्दै गर्नुस् । भिसा आएपछि दिनुहोला ।’

विष्णुपुर गाउँपालिका १ खुरहुरियाका रोहित खंगले पनि तीन जनाले यसरी नै रकम लिएको सुनाए । ‘उहाँहरु गाउँमा आएर बैठकजस्तो गर्नुभयो । पैसा जम्मा गर्दै गर भन्नुभयो र, पछि भिसा आइसकेको भन्दै रकम लियो’ खंगका बुबा भुटाईले भने ।

ठगिनेमा छिन्नमस्ता, राजगढ, विष्णुपुर, तिलाठी–कोइलाडी गाउँपालिका तथा हनुमाननगर–कंकालनी नगरपालिकाका युवाहरु रहेका छन् ।

नक्कली भिसा देखाउँदै ठगी गर्दै

शुरुमा थोरै रकम माग गर्ने उनीहरुले पछि भिसा आइसकेको भन्दै थप रकम माग्ने गर्थे । ‘भिसा आइसकेपछि उनले भने बमोजिम रकम जहाँबाट भए पनि दियौं लालापट्टीका नइम मन्सुरीले भने, ‘आफूसँग रु १ लाख ३६ हजार लिए ।’

यो रकममध्ये ६ हजार मेडिकल जाँच र अन्य भिसा तथा टिकटको नाममा उनले असुली गरेका छन् । भिसा आइसकेको भन्दै काठमाडौं बोलाउने र केही दिन होटल तथा लजमा बसाउने पनि गरेका पीडितले बताए । ‘एक हप्तासम्म आफ्नै खर्चमा काठमाडौंमा बस्यौं’ तिलाठी कोइलाडी २ लौनियाँका मनिष ठाकुरले भने, ‘यसपछि फोन गर्दा उनीहरुले फोनसमेत उठाउन छाडे ।’

ठगिएका युवाहरुले उनीहरुले दिएको भिसासमेत प्रहरीमा दिएका छन् । प्रहरी प्रवक्ता डिएसपी भावेश रिमालले प्रारम्भिक अनुसन्धानमा भिसा नक्कली देखिएको बताए । उसबारे वैदेशिक रोजगार विभागमा बुझ्ने काम भइरहेको उनले जानकारी दिए ।

प्रहरीले हजरतको घरमा छापा मार्दा धेरै भिसासहित वैदेशिक रोजगारसम्बन्धी कागजातहरु फेला पारेको छ । प्रहरी प्रमुख विष्टका अनुसार यस घटनाको मुख्य नाइके हजरत हुन् । उनको खोजी तिब्र पारिएको विष्टले बताए ।

साभार अनलाईनख़बर


सम्बन्धित शीर्षकहरु

७ बुँदे घोषणापत्र जारीगर्दै अन्तराष्ट्रिय झापाली समाजको तेस्रो क्षेत्रीय सम्मेलन युरोपको माल्टामा सम्पन्न भएको छ । अप्रिल २७ देखि सुरुभएको…

एजेन्सी- ६ महिनाको युद्धपछि इजरायल र हमासबीच २४ घण्टामा दोस्रो युद्धविराम हुनसक्ने सम्भावना देखिएको छ। हमास नेता याह्या सिनवारका अनुसार…

इलाम- २ बाट नेकपा एमालेका सुहाङ नेम्वाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई ५ हजार…

प्रतिकृयाहरू
...