धनकुटा, उदयपुर र भोजपुर जिल्लाको संगमस्थल त्रिवेणीस्थित सप्तकोसी नदीमा आइतबार भएको मोटरबोट दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने चार जना अझै बेपत्ता रहेका छन्। दुर्घटनामा नौ जना सकुशल उद्धार भएका छन्।
सशस्त्र प्रहरी बल नेपालका अनुसार भोजपुरबाट बराहक्षेत्रतर्फ जाँदै गरेको मोटरबोट दुर्घटनामा परेको हो। मोटरबोटमा चालकसहित १६ जना सवार रहेको बताइएको छ। दुर्घटनापछि तीन जनाको शव फेला परेको छ भने चार जनाको अवस्था अझै अज्ञात रहेको छ। दुर्घटनाग्रस्त मोटरबोट समेत नदीमा बेपत्ता भएको जनाइएको छ।
सुरक्षा निकायका अनुसार घटनालगत्तै व्यापक खोज तथा उद्धार अभियान सञ्चालन गरिएको छ। बेपत्ताको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर १ वाहिनीबाट पाँच गोताखोरसहित नौ सदस्यीय टोली परिचालन गरिएको छ। त्यसैगरी सुरक्षा बेस रामपुरबाट दुई जना गोताखोरसहित छ सदस्यीय टोली, आपदा व्यवस्थापन बेस चतराबाट पाँच गोताखोरसहित नौ सदस्यीय टोली र सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गुल्म धनकुटाबाट डीएसपीको नेतृत्वमा नौ सदस्यीय टोली घटनास्थलमा खटिएको छ।
यस्तै, आपदा व्यवस्थापन बेस मुलघाटबाट चार गोताखोरसहित सात सदस्यीय टोली पनि खोज तथा उद्धार कार्यमा संलग्न रहेको छ। ती टोलीहरूले नदीको तीव्र बहाव र गहिरो भागमा बेपत्ता भएकाहरूको खोजी गरिरहेका छन्।
स्थानीयवासी, नेपाल प्रहरी तथा अन्य सुरक्षा निकायसमेत उद्धार अभियानमा सहभागी भएका छन्। दुर्घटनाको कारण भने तत्काल खुल्न सकेको छैन। सुरक्षा अधिकारीहरूले मौसम, नदीको बहाव तथा मोटरबोटको प्राविधिक अवस्थाबारे अनुसन्धान भइरहेको बताएका छन्।
घटनापछि स्थानीय क्षेत्रमा शोक छाएको छ। बेपत्ता चार जनाको खोजी जारी रहेकाले मृतक र घाइतेको विवरण पूर्ण रूपमा सार्वजनिक भइसकेको छैन।