चालु आर्थिक वर्षको पहिलो दुई महिनामा मधेश प्रदेशमा ४५९ वटा विपद्का घटना भएका छन्। यी घटनामा ९२ जनाको ज्यान गएको र ५१० परिवार प्रभावित भएका छन्।
सबैभन्दा बढी ३९ जनाको मृत्यु करेन्ट लागेर भएको छ। त्यसपछि डुबेर २९ जनाले ज्यान गुमाएका छन्। वन्यजन्तुको आक्रमण, चट्याङ र आगलागीबाट पनि मानिसहरूको मृत्यु भएको छ।
यस अवधिमा प्रदेशमा ११२ आगलागी, १०७ करेन्ट लाग्ने, ३७ डुबान, ३२ वन्यजन्तु आक्रमण, १२ बाढी र १० चट्याङका घटना भएका छन्। विपद्का कारण करिब २ करोड ९२ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ।
प्रहरीले आगलागी र करेन्ट लाग्ने घटना रोक्न जनचेतना बढाउन आवश्यक रहेको जनाएको छ। मनसुनका बेला पोखरी र पानी जमेको स्थानमा डुबेर मृत्यु हुने घटना बढेको भन्दै बालबालिकालाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
विपद् उद्धार र राहतका लागि मधेशका आठवटै जिल्लामा २ हजार ८६९ प्रहरी परिचालन गरिएको छ।