रुसले युक्रेनसँगको युद्धमा सैनिकहरूको मनोबल बढाउन ६ सय वर्षभन्दा पुरानो सन्त योद्धा दिमित्री दोन्स्कोयको अवशेष युद्ध मोर्चामा पठाएको छ।
रुसी अर्थोडक्स चर्चले दोन्स्कोयको दाहिने हातको एउटा भाग पूर्वी युक्रेनमा तैनाथ रुसी सैनिकहरूमाझ पुर्याएको हो। चर्चका अनुसार यो अवशेषले सैनिकहरूलाई आध्यात्मिक शक्ति र हौसला प्रदान गर्नेछ।
रुसले सन् २०२२ देखि युक्रेनविरुद्ध युद्ध जारी राखेको छ। यस अवधिमा रुसी सरकार र अर्थोडक्स चर्चबीचको सम्बन्ध अझ नजिकिएको बताइएको छ। धार्मिक प्रतीक र ऐतिहासिक व्यक्तित्वलाई प्रयोग गरेर युद्धलाई देश रक्षा र धार्मिक कर्तव्यका रूपमा प्रस्तुत गर्ने प्रयास भइरहेको विश्लेषकहरूको भनाइ छ।
केही सैनिकहरूले यस्ता धार्मिक वस्तुले आफूहरूलाई मानसिक बल मिल्ने बताएका छन्। तर आलोचकहरूले भने धर्म र चर्चलाई राजनीतिक तथा युद्धका उद्देश्यका लागि प्रयोग गरिएको आरोप लगाएका छन्।
युद्ध लामो हुँदै जाँदा रुसले सैनिकहरूको मनोबल कायम राख्न धार्मिक तथा ऐतिहासिक प्रतीकहरूको प्रयोगलाई निरन्तरता दिएको छ।