चीनका राष्ट्रपति सी जिनपिङ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निमन्त्रणामा अमेरिकाको राजकीय भ्रमणमा छन्। ट्रम्पले सी लाइ एक दशकभन्दा बढी समयपछि पहिलो पटक व्हाइट हाउसमा राजकीय स्वागत गरेका छन्। स्वागत समारोहमा सैनिक सम्मान, सैन्य ब्यान्ड, एफ–२२ लडाकु विमानको उडान प्रदर्शन तथा भव्य राजकीय भोजको व्यवस्था गरिएको छ। वाशिङ्टनमा एक दशकभन्दा बढी समयपछि भएको यो भ्रमणलाई विश्वले नजिकबाट हेरिरहेको छ।
ट्रम्प र सीबीच यस वर्षको दोस्रो शिखर वार्ता हुँदैछ। वार्तामा कृत्रिम बुद्धिमत्ता (AI), व्यापार, ताइवान र इरान युद्धजस्ता महत्वपूर्ण विषयहरू मुख्य एजेन्डामा रहने अपेक्षा गरिएको छ। ट्रम्पले AI लाई वार्ताको प्रमुख विषय बताएका छन् र अमेरिका AI क्षेत्रमा चीनभन्दा अगाडि रहन चाहेको बताएका छन्।
भेटवार्ताअघि ट्रम्पले सामाजिक सञ्जालमा सी चिनफिङलाई “स्वस्थ, ऊर्जावान र पहिलेभन्दा अझ राम्रो देखिएको” भन्दै प्रशंसा गरेका थिए।
यद्यपि अमेरिकी कंग्रेसका केही सदस्यहरूले सीलाई भव्य स्वागत गरिएकोमा असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूले चीनको ताइवान, इरान र अन्य अन्तर्राष्ट्रिय गतिविधिप्रति कडा सन्देश दिनुपर्ने धारणा राखेका छन्।