रुसको राजधानी मस्को र आसपासका क्षेत्रमा युक्रेनले अहिलेसम्मकै सबैभन्दा ठूलो ड्रोन आक्रमण गरेको रुसले जनाएको छ। रुसका अनुसार १,००० भन्दा बढी ड्रोन प्रहार गरिएको थियो, जसमा कम्तीमा २ जनाको मृत्यु भएको छ र एक प्रमुख तेल प्रशोधन केन्द्रमा क्षति पुगेको छ।
मस्कोका मेयर सर्गेइ सोब्यानिनले उक्त आक्रमण संसदीय निर्वाचन प्रभावित गर्ने उद्देश्यले गरिएको दाबी गरेका छन्। तर उनले निर्वाचन प्रक्रिया अवरुद्ध नभएको बताएका छन्।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमण सफल भएको भन्दै यसले रुसको युद्ध सञ्चालनमा प्रयोग हुने संरचनामा असर पारेको बताए। युक्रेनले मुख्य लक्ष्य मस्कोस्थित गाजप्रोमनेफ्ट तेल प्रशोधन केन्द्र रहेको जनाएको छ।
यसैबीच रुसले पनि युक्रेनमाथि ड्रोन र मिसाइल आक्रमण जारी राखेको छ। आइतबार रातिको आक्रमणमा कीभ क्षेत्रमा तीन बालबालिका र एक महिलाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन्।
![]()