Thursday 27th August 2026

प्रभावित क्षेत्र पुगेर फर्किए प्रधानमन्त्री, १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नुवाकोटको बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी काठमाडौं फर्किएका छन्। प्रभावित क्षेत्रको प्रत्यक्ष अवलोकनपछि प्रधानमन्त्री शाहले उद्धार, राहत तथा पुनःस्थापनामा राज्यका सबै संयन्त्र पूर्ण क्षमतामा परिचालित रहेको बताएका छन्।

प्रधानमन्त्री शाहले प्रभावित नागरिक, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा उद्धार र राहत कार्यमा खटिएका व्यक्तिसँग प्रत्यक्ष जानकारी लिएको बताएका छन्। अवस्था अझै चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उनले सरकारको पहिलो प्राथमिकता एक–एक नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार र प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउनु रहेको बताएका छन्।

१३ हजार २९५ सुरक्षाकर्मी उद्धारमा

प्रधानमन्त्रीका अनुसार खोजी तथा उद्धार कार्यलाई उच्च प्राथमिकता दिँदै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी १३ हजार २९५ सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपाल प्रहरीका ७ हजार २५०, नेपाली सेनाका ४ हजार २०० र सशस्त्र प्रहरी बलका १ हजार ८४५ जना उद्धार तथा खोजी कार्यमा खटिएका छन्।

हवाई तथा स्थलमार्गबाट उद्धार कार्य निरन्तर जारी रहेको जनाइएको छ। बिहीबार मात्रै ६९ वटा हवाई उडानमार्फत ५७३ जनाको उद्धार गरिएको प्रधानमन्त्रीले बताएका छन्। बिरामी, गर्भवती तथा सुत्केरी महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई हवाई उद्धारमा प्राथमिकता दिइएको छ।

साढे तीन हजारका लागि अस्थायी आवास

रसुवा, नुवाकोट र धादिङलगायत प्रभावित क्षेत्रमा फसेका नागरिक तथा सुरक्षाकर्मीलाई सुरक्षित स्थानमा सार्ने काम जारी रहेको सरकारले जनाएको छ। करिब ३ हजार ५०० जनालाई विद्यालय तथा सार्वजनिक र सामुदायिक भवनमा अस्थायी आवासको व्यवस्था गरिएको छ।

राहतका लागि रसुवामा १ करोड, नुवाकोटमा १ करोड र धादिङमा ५० लाख रुपैयाँ परिचालन गरिएको छ। खाद्यान्न तथा गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पठाउने काम पनि जारी छ।

प्रधानमन्त्रीले स्वास्थ्य सेवा, खानेपानी, सञ्चार, विद्युत्, सडक र पुललगायत अत्यावश्यक पूर्वाधार पुनःसञ्चालनलाई पनि उच्च प्राथमिकतामा राखिएको बताएका छन्। अस्पतालहरूलाई तयारी अवस्थामा राखिएको छ भने मेडिकल टोली, एम्बुलेन्स, औषधि र रक्तसञ्चार सेवा आवश्यकताअनुसार परिचालन गरिएको जनाइएको छ।

सञ्चार र इन्धन आपूर्तिमा पनि विशेष ध्यान

बाढीपहिरोबाट प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पुनःस्थापनाका लागि प्राविधिक टोली, जेनेरेटर र ब्याट्री परिचालन गरिएको छ। प्रभावित नागरिकलाई निःशुल्क भ्वाइस, डाटा तथा एसएमएस सुविधा उपलब्ध गराउने व्यवस्था गरिएको प्रधानमन्त्रीले बताएका छन्।

यस्तै, राहत र उद्धार कार्यमा इन्धनको अभाव हुन नदिन आवश्यक मौज्दात र थप आपूर्तिको व्यवस्था गरिएको छ। क्षतिको वास्तविक विवरण संकलन गर्न ड्रोन सर्वेक्षण तथा स्थलगत मूल्यांकनसमेत भइरहेको छ।

सम्भावित थप जोखिमलाई ध्यानमा राख्दै नदी तटीय क्षेत्रमा रहेका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनका जोखिमयुक्त क्षेत्रको निरन्तर निगरानी भइरहेको सरकारले जनाएको छ।

प्रधानमन्त्री शाहले भनेका छन्, “उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्।”

प्रधानमन्त्रीको सन्देश

प्रधानमन्त्री शाहको भनाइमा अब सरकारको सम्पूर्ण ध्यान नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार, प्रभावित परिवारलाई तत्काल राहत, सुरक्षित बसोबास र क्षतिग्रस्त अत्यावश्यक पूर्वाधारको शीघ्र पुनःस्थापनामा केन्द्रित छ।

“यो संकटको घडीमा सरकार प्रभावित नागरिकसँगै छ,” प्रधानमन्त्रीको सन्देश छ।


सम्बन्धित शीर्षकहरु

विराटनगर।नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयले बीमा सर्भेयरहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा सर्भेयरहरूको वर्तमान अवस्था, कार्यसम्पादन,…

कुवेतका प्रथम उपप्रधानमन्त्री तथा गृहमन्त्री शेख फहद युसुफ साउद अल–सबाहले देशको इतिहासमै सबैभन्दा ठूलो लागुऔषध बरामद गरिएको घोषणा गरेका छन्।…

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि नेपाल टेलिकमले प्रभावित क्षेत्रका सेवाग्राहीलाई दुई दिनका लागि निःशुल्क टेलिफोन, इन्टरनेट र एसएमएस सेवा…

प्रतिकृयाहरू
...