Wednesday 25th November 2026

कुवेतमा फिलिपिनो घरेलु कामदार डाफ्नी नाकालाबानको शव भेटियो, हत्या आरोपमा एक पक्राउ


कुवेतमा दुई महिनादेखि बेपत्ता रहेकी फिलिपिनो घरेलु कामदार डाफ्नी नाकालाबानको शव रोजगारदाताको घरपछाडिको क्षेत्रमा फेला परेको छ। उनको शव कुहिएको अवस्थामा भेटिएको फिलिपिन्सको विदेश मामिला विभाग (DFA) ले जनाएको छ। नाकालाबानको परिवारसँग अन्तिम पटक सन् २०२४ को मे महिनामा सम्पर्क भएको थियो। उनले डिसेम्बरमा परिवारलाई अचानक भेटेर सरप्राइज दिने योजना बनाएको बताइएको छ।

घटनापछि कुवेतको सार्वजनिक अभियोजन कार्यालयले एक कुवेती नागरिकलाई हत्या आरोपमा हिरासतमा लिएको छ। घटनासँग सम्बन्धित अन्य तीन जनालाई भने मृतकको शवको मर्यादा उल्लंघन गरेको तथा अपराधबारे सम्बन्धित निकायलाई जानकारी नदिएको आरोपमा हिरासतमा राखिएको छ। अभियोजन अधिकारीहरूले घटनास्थलको निरीक्षण गरी आवश्यक फरेन्सिक तथा प्रमाणसम्बन्धी रिपोर्ट तयार गर्न आपराधिक प्रमाण विभागलाई निर्देशन दिएका छन्।

नाकालाबान लामो समयदेखि परिवारबाट टाढा रहेर कुवेतमा काम गरिरहेकी थिइन्। परिवारले उनको सम्पर्कविहीन अवस्थाबारे चिन्ता व्यक्त गर्दै खोजी गरिरहेको अवस्थामा रोजगारदाताको घरपछाडि उनको शव फेला परेको हो। घटनाले कुवेतमा कार्यरत विदेशी घरेलु कामदारको सुरक्षा र उनीहरूको अधिकारसम्बन्धी प्रश्नसमेत पुनः उठाएको छ।

फिलिपिन्स सरकारले घटनालाई गम्भीर रूपमा लिँदै नाकालाबानका लागि न्याय सुनिश्चित गर्न कुवेती अधिकारीसँग समन्वय गरिरहेको जनाएको छ। उनको मृत्युको वास्तविक कारण, घटनामा संलग्न व्यक्तिहरू र लामो समयसम्म घटना लुकाइए–नलुकाइएको विषयमा अनुसन्धान अघि बढिरहेको छ। फिलिपिन्स सरकारले दोषीमाथि कानुनी कारबाहीका लागि आवश्यक सबै प्रयास गर्ने प्रतिबद्धता जनाएको छ।


सम्बन्धित शीर्षकहरु

धनको मोह छैन मलाई, छैन वैभवको चाहना, पदको घमण्ड छैन मनमा, छैन यशको कामना। साधारण मानव हुँ म, संवेदनाको दीप…

नयाँदिल्ली, २३ नोभेम्बर। नेपाल र भारतबीच सुरक्षा, स्वास्थ्य, प्रविधि, शिक्षा, अनुसन्धान तथा कृषि क्षेत्रसहित आठवटा विषयमा सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर…

बेइजिङ, २३ नोभेम्बर। चीनले विकास गरेको नयाँ विद्युतीय यात्रुवाहक विमानले पहिलो पटक मानवसहितको परीक्षण उडान सफलतापूर्वक पूरा गरेको छ। चीनको…

प्रतिकृयाहरू
...