Thursday 20th August 2026

सम्मानजनक निम्तो र विश्वासको वातावरण खोज्दै बंगलादेश


बंगलादेशका विदेश मामिला सल्लाहकार हुमायूं कबीरले प्रधानमन्त्री तारिक रहमानको आगामी सेप्टेम्बर १२–१३ मा भारतमा हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन नयाँदिल्ली जाने सम्भावना कम रहेको बताएका छन्।

बंगलादेशी सरकारी समाचार संस्था बीएसएससँगको कुराकानीमा कबीरले भारतबाट सम्मानजनक निम्तो र दुई देशबीच पारस्परिक विश्वासमा आधारित उपयुक्त वातावरण नबनेसम्म उच्चस्तरीय भ्रमणको सम्भावना कम हुने बताएका हुन्। उनको उक्त अन्तर्वार्ता बिहीबार प्रकाशित भए पनि कुराकानी भने अगस्ट १७ मा रेकर्ड गरिएको थियो।

कबीरका अनुसार बंगलादेशले आफ्नो राष्ट्रिय हित स्पष्ट रूपमा परिभाषित नगरी उच्चस्तरीय भ्रमणका लागि हतार गर्न चाहँदैन। दुई देशबीच सहमति र पारस्परिक विश्वासमा आधारित वातावरण बनेमा भने बंगलादेशले ब्रिक्स सम्मेलनमा सहभागितालाई सकारात्मक रूपमा विचार गर्न सक्ने उनले बताए।

बंगलादेश र भारतबीच पछिल्लो समय पूर्वप्रधानमन्त्री शेख हसिनाको प्रत्यर्पणको माग लगायतका विषयमा सम्बन्ध तनावपूर्ण रहँदै आएको छ। हसिना भारतमा रहेर राजनीतिक गतिविधि गरिरहेको विषयमा पनि बंगलादेशले असन्तुष्टि व्यक्त गर्दै आएको छ।

कबीरले भारतले हसिनालाई राजनीतिक तथा सञ्चारका लागि मञ्च उपलब्ध गराएको आरोप लगाउँदै यसले बंगलादेशमा असन्तुष्टि बढाएको बताए। आपराधिक मुद्दा लागेका वा सजाय पाएका व्यक्तिलाई राजनीतिक गतिविधि तथा सञ्चारको मञ्च उपलब्ध गराउनु लोकतान्त्रिक मर्यादासँग मेल नखाने उनको भनाइ छ।

तर भारतको विदेश मन्त्रालयले यसअघि नै हसिनासँग सम्बन्धित एउटा सञ्चार कार्यक्रममा भारत सरकारको कुनै भूमिका नरहेको स्पष्ट गरिसकेको छ। उक्त कार्यक्रममा बंगलादेश सरकारविरुद्ध व्यक्त गरिएका भनाइको भारतले समर्थन नगर्ने पनि मन्त्रालयले जनाएको छ।

यसरी हेर्दा ब्रिक्स सम्मेलनमा बंगलादेशको सहभागिताभन्दा ठूलो विषय भारत–बंगलादेश सम्बन्धमा देखिएको राजनीतिक अविश्वास बनेको छ। प्रधानमन्त्री तारिक रहमानको भारत भ्रमण हुने वा नहुने विषय अब भारतको निम्तो, दुई देशबीचको कूटनीतिक वातावरण र शेख हसिनासम्बन्धी विवादमा हुने प्रगतिसँग जोडिएको देखिन्छ।


सम्बन्धित शीर्षकहरु

मध्य अफ्रिकी गणतन्त्र (CAR) को पश्चिमी क्षेत्र जाम्बोईस्थित सुन खानी क्षेत्रमा गएको पहिरोमा १०० भन्दा बढी मानिसको मृत्यु भएको छ।…

रूसले बिहीबार राति युक्रेनको राजधानी किभ र आसपासका क्षेत्रमा गरेको व्यापक मिसाइल तथा ड्रोन आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध “अहिलेसम्मकै सबैभन्दा कडा आर्थिक अभियान” घोषणा गरेका छन्। उनले इरानसँग व्यापार वा आर्थिक सम्बन्ध राख्ने…

प्रतिकृयाहरू
...