Tuesday 18th August 2026

अमेरिकाद्वारा सिरियाको इदलिबस्थित इसराइली आक्रमणको आलोचना


अमेरिकाले उत्तर-पश्चिमी सिरियाको इदलिब प्रान्तमा रहेको एक सैन्य हवाई अड्डामा भएको इसराइली हवाई आक्रमणको कडा आलोचना गर्दै यसलाई “अनावश्यक तनाव बढाउने” कदम भनेको छ।

सिरिया र इराकका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत टम ब्यारेकले वाइट हाउसको धारणा सार्वजनिक गर्दै सैन्य कारबाहीको साटो वार्ता र संवादलाई प्राथमिकता दिन सबै पक्षलाई आग्रह गरेका छन्। उनले सामाजिक सञ्जाल एक्समा लेख्दै अबु अल-दुहुर एयरबेसमा गरिएको आक्रमणलाई क्षेत्रीय स्थिरताका लागि सहयोगी नभएको र उल्टै तनाव थप बढाउने कदम भएको टिप्पणी गरे।

ब्यारेकका अनुसार, सिरियाली राष्ट्रपति अल-शरा नेतृत्वको सरकारले न त आक्रामक नीति अपनाएको छ, न त प्रोक्सी बलहरूलाई संरक्षण गरेको छ। बरु, सिरियाले पटक–पटक इसराइलसँग तनाव घटाउने इच्छा व्यक्त गर्दै आएको उनले दाबी गरे। उनले अमेरिका पहिले पनि दुई देशबीच सैन्य कारबाहीको सट्टा कूटनीतिक संवादलाई प्रोत्साहन गर्न वार्ता आयोजना गर्दै आएको र भविष्यमा पनि त्यसैलाई निरन्तरता दिने बताए।

उनले संयम, संवाद र तर्कसंगत कूटनीतिलाई नै अधिक प्रभावकारी बाटो भन्दै सबै पक्षलाई “अगाडि हुने सैन्य घटनाभन्दा संवादलाई प्राथमिकता दिन” आग्रह गरे।

यसैबीच, कतारले पनि सिरियाको अबु अल-दुहुर एयरबेसलाई लक्षित गरी गरिएको इसराइली हवाई आक्रमणको कडा निन्दा गरेको छ। कतारी विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा यसलाई सिरियाको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको खुला उल्लंघन भनिएको छ। साथै, यो आक्रमण अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको बडापत्रको स्पष्ट उल्लंघन भएको मन्त्रालयको भनाइ छ।

बीबीसी फारसीका अनुसार, सिरियाली विदेश मन्त्रालयले पनि उक्त आक्रमणलाई “अन्यायपूर्ण” भन्दै निन्दा गरेको छ।

यो घटनाले सिरिया–इसराइलबीचको तनाव फेरि बढाएको देखिएको छ, भने अमेरिका र कतारजस्ता देशहरूले त्यसलाई कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिएका छन्।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का संस्थापक इमरान खानलाई रावलपिण्डीको अदियाला जेलबाट इस्लामाबादस्थित शिफा इन्टरनेशनल अस्पतालमा दुई…

रूसले युक्रेनले हालै रूसभित्र गरेको आक्रमणमा बेलायतमा निर्मित ड्रोन प्रयोग भएको पुष्टि भएपछि बेलायतमाथि युक्रेन युद्धलाई थप चर्काउने प्रयास गरेको…

सर्वोच्च अदालतले समाचार प्रकाशित गरेकै आधारमा पत्रिकाका सम्पादक वा प्रकाशकलाई गिरफ्तार गरी थुनामा राख्न नमिल्ने स्पष्ट गरेको छ। पत्रकार किशोर…

प्रतिकृयाहरू
...