Wednesday 14th October 2026

युवालाई जोगाउन कुवेतमा सुर्तीजन्य पदार्थ बिक्रीमा थप कडाइ


कुवेत सरकारले युवापुस्तालाई धूम्रपान तथा निकोटिनजन्य पदार्थको पहुँचबाट जोगाउन सुर्तीजन्य पदार्थको बिक्री तथा वितरणसम्बन्धी नियम थप कडा बनाउने भएको छ।

नयाँ व्यवस्थाअनुसार २१ वर्षभन्दा कम उमेरका व्यक्तिलाई सुर्ती तथा निकोटिनजन्य पदार्थ बिक्री गर्न पाइने छैन र बिक्री गर्ने व्यवसायीले खरिदकर्ताको उमेर अनिवार्य रूपमा जाँच गर्नुपर्नेछ। कुवेतमा २१ वर्षभन्दा कम उमेरकालाई सुर्तीजन्य पदार्थ बिक्री गर्न प्रतिबन्धित व्यवस्था पहिलेदेखि नै कानुनमा रहेको देखिन्छ।

नयाँ नियमले विद्यालय तथा शैक्षिक संस्थाबाट २०० मिटरभित्र सुर्तीजन्य पदार्थ बिक्रीमा प्रतिबन्ध, विज्ञापन तथा प्रवर्द्धनमा थप नियन्त्रण, नियमित अनुगमन र उल्लङ्घन गर्नेमाथि कारबाहीको व्यवस्था गर्ने बताइएको छ। यसको कार्यान्वयन १ जनवरी २०२७ देखि सुरु गर्ने तयारी गरिएको छ।

Smoking Control Association का अध्यक्ष डा. खालिद अल–सालेहले स्वास्थ्य मन्त्रालयको निर्णयलाई स्वागत गर्दै यसलाई युवापुस्ताको स्वास्थ्य संरक्षणका लागि महत्वपूर्ण निवारक कदम भएको बताएका छन्। उनका अनुसार कुवेतमा धूम्रपान सुरु गर्ने औसत उमेर करिब १७.५ वर्ष रहेको अध्ययनहरूले देखाएका छन्।

कुवेतले पछिल्लो समय सुर्तीजन्य पदार्थ नियन्त्रणमा क्रमशः कडाइ गर्दै आएको छ। यसअघि सन् २०२६ मा वाणिज्य मन्त्रालयले डेलिभरी प्लेटफर्म तथा डिजिटल माध्यमबाट चुरोट, सुर्तीजन्य पदार्थ र ई–सिगरेट बिक्री गर्नसमेत प्रतिबन्ध लगाएको थियो। उल्लङ्घन भए चेतावनी, अस्थायी रूपमा व्यवसाय बन्द गर्ने र दोहोरिएमा लाइसेन्स खारेज गर्न सकिने व्यवस्था गरिएको छ।


सम्बन्धित शीर्षकहरु

नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ। न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको निर्वाचनमा नेपालले…

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका सल्लाहकारहरू सन् २००९ को फोर्ट हुड गोलीकाण्डका दोषी निदाल मलिक हसनलाई मृत्युदण्ड दिइएको…

सर्वोच्च अदालतले वैयक्तिक स्वतन्त्रता, बन्दी प्रत्यक्षीकरण र अनुसन्धानका क्रममा हुने थुनाको म्याद थपसम्बन्धी महत्वपूर्ण व्याख्या गरेको छ। अदालतले अनुसन्धानका लागि…

प्रतिकृयाहरू
...