Thursday 15th October 2026

इरानी ड्रोन आक्रमणको कुवेतद्वारा कडा निन्दा


कुवेत सरकारले शुक्रबार भएको शत्रुतापूर्ण ड्रोन आक्रमणको कडा शब्दमा निन्दा गर्दै यसलाई आफ्नो सार्वभौमसत्ता, राष्ट्रिय सुरक्षा र स्थायित्वमाथिको प्रत्यक्ष आक्रमण भएको जनाएको छ। कुवेती विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा अत्यावश्यक पूर्वाधार तथा सैन्य स्थापनालाई लक्षित गरिएको पछिल्लो आक्रमणलाई अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको बडापत्रको स्पष्ट उल्लङ्घन भएको उल्लेख गरिएको छ।

विदेश मन्त्रालयका अनुसार इरानबाट भइरहेको भनिएको निरन्तर आक्रामक गतिविधि कुनै पनि हालतमा स्वीकार्य वा उचित ठहर गर्न नसकिने प्रकृतिको हो। मन्त्रालयले यस्ता आक्रमणले क्षेत्रीय तनावलाई थप चर्काउने र मध्यपूर्वको शान्ति तथा स्थायित्वमा गम्भीर चुनौती उत्पन्न गर्ने चेतावनी दिएको छ।

विज्ञप्तिमा कुवेतमाथि भइरहेका लगातारका आक्रमणलाई योजनाबद्ध शत्रुतापूर्ण अभियानको निरन्तरताका रूपमा चित्रण गरिएको छ। मन्त्रालयले यस्ता गतिविधि तत्काल रोक्न अन्तर्राष्ट्रिय समुदायलाई प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरेको छ।

कुवेत सरकारले आफ्नो सार्वभौमसत्ता, राष्ट्रिय सुरक्षा, स्थायित्व तथा नागरिकहरूको सुरक्षाका लागि आवश्यक सबै कदम चाल्ने अधिकार सुरक्षित रहेको पनि स्पष्ट पारेको छ। सरकारले सुरक्षा निकायहरूलाई उच्च सतर्कतामा राखिएको र देशभर सुरक्षा व्यवस्था थप सुदृढ बनाइएको जनाएको छ।

यस घटनापछि कुवेतका महत्वपूर्ण पूर्वाधार, ऊर्जा केन्द्र, सैन्य अड्डा तथा संवेदनशील क्षेत्रको सुरक्षा अझ कडा पारिएको छ। सम्भावित थप आक्रमणको जोखिमलाई ध्यानमा राख्दै हवाई निगरानी, प्रतिरक्षा प्रणाली र सुरक्षा गस्ती पनि बढाइएको जनाइएको छ।

मध्यपूर्वमा जारी तनावका बीच कुवेतले सबै पक्षलाई संयमता अपनाउन तथा अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्दै क्षेत्रीय स्थायित्व कायम राख्न आह्वान गरेको छ। साथै, नागरिकलाई आधिकारिक निकायबाट जारी हुने सूचनामात्र विश्वास गर्न र अनावश्यक अफवाह नफैलाउन पनि आग्रह गरिएको छ।


सम्बन्धित शीर्षकहरु

स्ट्रेट अफ हर्मुज हुँदै यात्रा गरिरहेको सिंगापुरको झण्डावाहक कन्टेनर जहाज GFS Pride क्षतिग्रस्त भएपछि डुबेको छ। जहाजमा रहेका सबै २१…

श्रीलङ्काली आप्रवासी कामदार अनोजन सिवारासाको मृत्युदण्ड खारेज, रिहाइबारे भने अझै स्पष्टता छैन रियाद/कोलम्बो, १४ अक्टोबर। साउदी अरबको सर्वोच्च अदालतले फेसबुकमा…

भारतीय गृहमन्त्री अमित शाह र नेपाली गृहमन्त्री सुधन गुरुङबीच नयाँदिल्लीमा भेटवार्ता बिम्स्टेकको पहिलो गृहमन्त्रीस्तरीय बैठकमा नेपालको प्रतिनिधित्व गर्दै गुरुङको सहभागिता,…

प्रतिकृयाहरू
...