आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर ५ मा काठमाडौं महानगरपालिकाका मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले उम्मेदवारी दिने तयारी गरेपछि सो क्षेत्र राष्ट्रिय राजनीतिको केन्द्रमा परिणत हुँदै गएको छ ।
मेयर पदबाट माघ ४ गते राजीनामा दिने तयारीमा रहेका बालेनको घोषणाले उक्त क्षेत्रको चुनावी माहोल तातेको हो । बालेनले माघ ५ गते जनकपुरमा हुने पार्टीको विस्तारित भेलामा सहभागी भएर मधेसबाट अभियान सुरु गर्ने र त्यसलगत्तै झापा पुगेर उम्मेदवारी दर्ता गर्ने योजना रहेको रास्वपा नेताहरूले बताएका छन् ।
झापा–५ बाट उम्मेदवार बन्ने तयारीसँगै बालेनको सम्पर्क कार्यालय र आवासका लागि दमक क्षेत्रमा घर खोज्ने काम पनि तीव्र भएको छ । रास्वपा झापाका अनुसार दमक–३ स्थित क्याम्पस मोड आसपास दुईवटा घर टुंगो लागिसकेको छ भने थप एक घर खोज्ने प्रक्रिया चलिरहेको बालेननिकट स्रोतले जनाएको छ । चुनावी कमान्ड, सामाजिक सञ्जाल टिम र फिल्डमा खटिने कार्यकर्ताका लागि अलग–अलग घर प्रयोग गर्ने रणनीति बनाइएको छ ।
झापा–५ एमाले अध्यक्ष ओलीको बलियो गढ मानिन्छ । २०४८ यताका अधिकांश निर्वाचन यही क्षेत्रबाट लडेका ओली ६ पटक संसद्मा पुगिसकेका छन् । २०७९ को निर्वाचनमा उनले ५२ हजार ३१९ मत ल्याएर फराकिलो मतान्तरसहित जित हासिल गरेका थिए । यसपटक पनि एमाले दमक नगर समितिले ओलीलाई सर्वसम्मत उम्मेदवारका रूपमा सिफारिस गरिसकेको छ । एमाले झापाका अध्यक्ष प्रेम गिरीले बालेन आए पनि ओली अझ बढी मतान्तरले जित्ने दाबी गर्दै झापा–५ एमालेका लागि सुरक्षित क्षेत्र भएको बताएका छन् ।
उता, २०७९ मा काठमाडौं महानगरको मेयर जितेर राष्ट्रिय राजनीतिमा उदाएका बालेनलाई रास्वपाले प्रधानमन्त्रीको घोषित उम्मेदवारका रूपमा अघि सारेको छ । ओलीकै ‘कोर एरिया’ बाट चुनाव लड्ने निर्णयलाई बालेनले राजनीतिक प्रतीकात्मक चुनौतीका रूपमा प्रस्तुत गरेका छन् । रास्वपा नेताहरूका अनुसार जेन–जी आन्दोलनपछि उदाएको युवाको असन्तुष्टि र वैकल्पिक शक्तिको चाहनालाई झापा–५ बाट प्रतिनिधित्व गराउने रणनीति बनाइएको छ ।
स्थानीयस्तरमा मतदाताको धारणा विभाजित देखिन्छ । पाका मतदाता ओलीको अनुभव र पहुँचलाई प्राथमिकता दिनुपर्ने बताउँछन् भने युवा मतदातामा नयाँ नेतृत्वप्रति आकर्षण देखिएको छ । दमक र आसपासका क्षेत्रमा चियापसलदेखि सामाजिक सञ्जालसम्म ओली–बालेन प्रतिस्पर्धाको चर्चा छ ।
यसपटक झापा–५ मा कुल १ लाख ६३ हजार ३७९ मतदाता छन्, जसमध्ये करिब १० हजार नयाँ मतदाता थपिएका छन् । आदिवासी जनजाति, युवा र सहरी मतदाताको भूमिका निर्णायक हुने विश्लेषण भइरहेको छ ।
फरक पुस्ता, फरक शैली र फरक राजनीतिक पृष्ठभूमिका दुई चर्चित नेताबीचको यो भिडन्तले झापा–५ मात्र होइन, समग्र देशको राजनीतिक बहसलाई समेत तातेको छ । ओलीको परम्परागत वर्चस्व जोगिन्छ कि बालेनले नयाँ इतिहास कोर्छन् भन्ने प्रश्नको उत्तर भने फागुन २१ मा हुने निर्वाचनपछि मात्र स्पष्ट हुनेछ । साभार: देशान्तर