Saturday 28th February 2026

आज माघे सङ्क्रान्ति, घिउ,चाकु,तरुल खाएर मनाइँदै


आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यस पर्वलाई मकर सङ्क्रान्ति, तिलुवा सङ्क्रान्ति तथा माघी पनि भनिन्छ।

माघे सङ्क्रान्तिमा घिउ, चाकु, तरुल, तिलको लड्डु, सेलरोटी, ढिक्री र खिचडीजस्ता परिकार खाने प्रचलन छ। जाडो मौसममा शरीरलाई न्यानो र सुदृढ राख्न यी परिकार उपयोगी हुने आयुर्वेद चिकित्सकहरू बताउँछन्।

नेपालका विभिन्न जातजातिले माघे सङ्क्रान्तिलाई आ–आफ्नै संस्कार र परम्पराअनुसार मनाउने गर्छन्। विशेष गरी थारू समुदायले यस दिनलाई नयाँ वर्ष (माघी) का रूपमा मनाउने परम्परा छ।

आजको दिन घिउ, चाकु, तिलका परिकार नखाने, दान नगर्ने, स्नान र ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने जनविश्वास रहेको छ । आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा शरीरका दूषित पदार्थ बाहिर निस्कने तथा नाडी, स्नायु र हड्डी मजबुत हुने विश्वास छ।

तराईवासीहरूले माघ १ लाई नहान पर्व का रूपमा मनाउने गर्छन्। बिहानै तीर्थस्थलमा स्नान गरी तिल दान गर्नाले विशेष पुण्य प्राप्त हुने धार्मिक मान्यता छ।

आजदेखि उत्तरायण सुरु हुने भएकाले दिन लामो र रात छोटो हुँदै जान्छ। उत्तरायणको दिन स्नान, दान, जप, तप र ध्यानलाई विशेष पुण्यदायी मानिने भएकाले देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी र रिडी लगायतका तीर्थस्थलमा माघ स्नान गर्ने भक्तजनको भीड लागेको छ। यी स्थानमा विशेष मेला पनि लाग्ने गर्छ।


सम्बन्धित शीर्षकहरु

नेपालको निर्वाचन–राजनीति फेरि एकपटक असहज प्रश्नहरूको घेरामा छ। चुनाव नजिकिँदै गर्दा बीबीसी ले जेन्जी आन्दोलनसम्बन्धी विस्तृत प्रतिवेदन सार्वजनिक गर्‍यो। त्यसले…

बेइरुत/तेहरान/तेलअभिव — इरानमाथि सम्भावित अमेरिकी सैन्य कारबाहीको चर्चा चुलिँदै जाँदा मध्यपूर्वको शक्ति–सन्तुलनमा इरानसमर्थित सशस्त्र समूह हिज्बुल्लाह को भूमिकामाथि नयाँ प्रश्न…

निर्वाचनको संघारमा चार पूर्व प्रधानसेनापति दिल्लीमा: अर्थपूर्ण संकेत कि नियमित भेटघाट ? काठमाडौँ, फागुन १५ — नेपालमा प्रतिनिधिसभा निर्वाचनको सरगर्मी…

प्रतिकृयाहरू
...