सुशिल बस्याल “राष्ट्रप्रेमी” -साउने सङ्क्रान्तिको सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना।
साउने सङ्क्रान्ति पर्व प्रायः सबै नेपालीका लागि विशेष महत्त्वको चाड हो। स्वदेश तथा विदेशमा रहेका नेपालीहरूले आ–आफ्ना सांस्कृतिक मान्यता र परम्पराअनुसार यस पर्वलाई आ–आफ्नै तरिकाले मनाउँदै आएका छन्। यसको मौलिक विशेषता भनेकै विभिन्न धार्मिक तथा सांस्कृतिक समुदायअनुसार बुझ्ने र मनाउने शैली फरक–फरक हुनु हो। कतै यो पर्व लुतो फाल्ने पर्वका रूपमा, कतै इष्टदेवताप्रति सम्मान व्यक्त गर्ने अवसरका रूपमा मनाइन्छ।
किराती समुदायमा साउने सङ्क्रान्ति ‘सिसेक्पा तङ्नाम’का नामले मनाइन्छ। उनीहरू आफ्ना इष्टदेवताका लागि नयाँ पाकेका फलफूल डोरीमा पोको पारेर ढोकामाथि झुण्ड्याउँछन्। पूर्वी तराईका आदिवासी धिमालहरूले असार मसान्तमा असारे पूजा र धङधङगे मेलाको समापन चाडका रूपमा मनाउँछन्। पश्चिम कर्णालीतिर आइडी जातिहरूले देउडा गीत–नाचमार्फत साउने सङ्क्रान्तिलाई विशेष सांस्कृतिक निधिका रूपमा मनाउने गर्छन्। बलिरहेको अगुल्टोलाई दक्षिणतिर हानी, ‘दुर्भाग्यको प्रतीक रातो गोरु निस्किजा, शुभ लक्षणको प्रतीक सेतो गोरु भित्र आऊ’ भन्ने भावका साथ नराम्रा रोग–व्याधी हटाउन प्रार्थना गरिन्छ।
साउने सङ्क्रान्तिको परिचय
बिक्रम संवत पात्रो अनुसार साउन महिनाको पहिलो दिनलाई साउने सङ्क्रान्ति भनिन्छ। ज्योतिष शास्त्रका अनुसार यस दिनदेखि सूर्य कर्कट राशिमा प्रवेश गर्छ, जसलाई ‘कर्कट सङ्क्रान्ति’ पनि भनिन्छ। धार्मिक दृष्टिले सूर्यको कर्कट प्रवेश (साउने सङ्क्रान्ति) र मकर प्रवेश (माघे सङ्क्रान्ति) विशेष महत्वका पर्व हुन्। साउन महिनाले नेपाली, विशेषगरी हिन्दू धर्मसँग सम्बन्धित परम्परागत चाडपर्वको श्रृंखला सुरु गर्छ।
यस दिन स्नान, दान, होम, श्राद्धजस्ता धार्मिक कार्यको थालनी गरिन्छ। हिन्दू परम्पराअनुसार सूर्य दक्षिणायन हुँदा देवताको रात र पितृको दिन सुरु हुने भएकाले, पितृकार्यका लागि पनि साउन महिनाबाट शुभ मानिन्छ।
विवाहित महिलाहरू साउन महिनाभर हरियो चुरा, मेहन्दी, रातो टिका र सुन्दर वेशभूषा धारण गरी सौभाग्यको कामना गर्छन्। सोमबारका दिन व्रत बसी शिवजीको पूजा–आराधना गरिन्छ। बोलबम जाने, जल चढाउने, शिवलिङ्गमा दूध, जल अर्पण गर्ने परम्परा पनि यसै महिनामा बढी प्रचलित छ।
लुतो फाल्ने परम्परा र कटेरी निर्माण
साउने सङ्क्रान्तिलाई लुतो फाल्ने पर्वका रूपमा पनि चिनिन्छ। असारे वर्षात् र हिलोबाट लाग्ने छालाजन्य रोग, दाद, खटिरा, लुतो आदिबाट जोगिन परम्परागत रूपमा यो अनुष्ठान गरिन्छ।
तुलसीको मठअगाडि चारवटा चौकासहित लठ्ठी गाडी, त्यसमा कागती, निबुवा, अम्बा, अनार, नास्पातीजस्ता फलफूल राखेर कण्डारक नामक राक्षसको पूजा गरिन्छ। साँझपख कुकुर डाइनो, काग भलायो, कुरिलो, पानीसरो, पुरेनी, गलेनी आदि औषधिजन्य वनस्पति जलाएर घर–घरको आँगनबाट चारैतिर फ्याँक्ने प्रचलन छ।
लुतो फ्याँक्दा नाङ्लो ठटाउने, शंख फुक्ने, घण्टा बजाउने, ढिकी कुट्ने, केही समय घरको ढोका बन्द राख्ने चलन रहिआएको छ। विशेष प्रार्थनासहित ‘लुतो, पिलो, खटिरा, रोग, ब्याधि लैजा, लैजा’ भन्दै अगुल्टो फालिन्छ।
भलायो, औषधिजन्य वनस्पतिको पात राखी चोखो माटो, जौ, तिल, मास, धान, मकै छरेर साउने फल राख्ने चलन छ। दियो, अगरबत्ती बालेर प्रार्थना गरेर घर–आँगन सरसफाइ गरिन्छ।
विश्वास छ, यसरी लुतो फाले त्यस वर्ष दाद, लुतो, खटिरा जस्ता चर्मरोग नलाग्ने सम्भावना बढी हुन्छ।
कटेरी के हो?
कतिपयलाई “कटेरी” शब्द नौलो लाग्न सक्छ। कटेरी भन्नाले तुलसी मठ वरिपरि विशेष रीतिपूर्वक फलफूल, वनस्पति र अन्य सामग्री राखी बनाइने संरचना हो, जसले दुष्ट आत्मा, रोग–व्याधि भगाउने धार्मिक र सांस्कृतिक महत्त्व राख्छ।
साउन महिनामा गर्नु नहुने कार्यहरू
साउन महिनामा भगवान शिवको आराधना गर्दा केही कुरामा विशेष ध्यान दिनुपर्छ, जसलाई धार्मिक अपराध मानिन्छः
१) बेलको वृक्ष काट्नु
२) मासु, मदिरा, लसुन, प्याजको सेवन गर्नु
३) अशुद्ध अवस्थामा शिव मन्दिर प्रवेश गर्नु
४) भेन्टा र मुला जस्ता तरकारी खानु (अशुद्ध मानिन्छ)
५) देवताको निन्दा गर्नु
६) नकारात्मक कार्य र अश्लील शब्द प्रयोग गर्नु
यी कार्य नगरी श्रद्धापूर्वक पूजा गरे अत्यन्तै लाभ मिल्ने विश्वास रहिआएको छ।
बगनासकाली–८, बेलौतिखरक, पाल्पा