Sunday 8th September 2024

सौर्यको जहाज दुर्घटना रहस्यमय !


चालक दलका सदस्यसहित १९ जना सवार सौर्य एयरलाइन्सको सीआरजे-७ (९एन-एएमई) हवाईजहाज बुधबार बिहान दुर्घटनामा पर्दा १८ जनाको मृृत्यु भयो भने एक जना घाइते छन् । क्याप्टेन मनीषरत्न शाक्यले उडाएको सो विमान दुर्घटनामा उनीबाहेक सबैको मृत्यु भएको छ । क्याप्टेन शाक्यको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार हुँदै छ । उनी खतरामुक्त छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘कम्प्लिट चेक’ (सी–चेक)का लागि पोखरा जाँदै गरेको सो जहाज उडानका क्रममा दुर्घटनामा परेपछि आमजनमानसमा जहाज उडानयोग्य थियो कि थिएन भन्ने जिज्ञासा उठेको छ । सी–चेकलाई बोलीचालीको भाषामा पूर्ण परीक्षण तथा मर्मत भनिन्छ ।

काठमाडौंबाट पोखरा जान लागेको सो जहाज कसरी दुर्घटनामा प¥यो ? सत्यतथ्य जानकारी मन्त्रिपरिषद्को बुधबार बसेको आकस्मिक बैठकले गठन गरेको छानबिन समितिले पत्ता लगाउने नै छ । तर, दुर्घटनाको समयमा मौसम सफा हुनु, अन्य कुनै पनि बाह्य कारणले जहाजमा अवरोध आएको नदेखिनुले दुर्घटना रहस्यमय बन्न पुगेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले सौर्य एयरलाइन्सको जहाज उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटनामा परेको जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले प्रेस विज्ञप्तिमार्फत काठमाडौंबाट उड्नेबित्तिकै ११ बजेर ११ मिनेटमा सौर्य एयरलाइन्सको सीआरजे–७ हवाईजहाज दुर्घटनामा परेको जनाएको छ । प्राधिकरणको विज्ञप्तिमा भनिएको छ, ‘आज मिति २०८१।०४।०९ गते तदनुसार २४ जुलाई २०२४ बुधबारका दिन सौर्य एयरलाइन्सको सीआरजे-७ (९एन–एएमई) जहाज काठमाडौंबाट स्थानीय समयानुसार बिहान ११ः११ मा पोखरा उडानका क्रममा उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको हो ।’

प्रारम्भिक जानकारीनुसार, सो जहाज मर्मतपछिको पूर्ण परीक्षण ‘सी-चेक’का लागि पोखरा जाने क्रममा दुर्घटनामा परेको हो । बुधबार बिहान ११ बजेर ११ मिनेटमा जहाजले त्रिभुवन विमानस्थलको धावनमार्ग छोडेको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यो जहाजको टावरसँग अन्तिम संवाद ‘क्लियर फर टेकअफ’ थियो । यो भनेको एयर ट्राफिक कन्ट्रोलरले जहाज उडाउन विमान चालकलाई दिने आदेश हो । सो जहाजले धावनमार्ग शून्य दुई (कोटेश्वरतर्फ)बाट टेकअफ लिएको थियो । टेकअफ लिनु भनेको जहाज उड्यो भन्ने हो । उडेको २० देखि २२ सेकेन्डमा ढलपल–ढलपल गर्दै जहाज दाहिनेतर्फ मोडियो र भुइँमा बजारिन पुग्यो ।

जहाजसँगको एटीसीको अन्तिम संवादमा एयरक्राफ्टमा कुनै पनि समस्या’bout क्याप्टेनबाट जानकारी नआएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलको भनाइअनुसार, धावनमार्ग छाडेको २० देखि २२ सेकेन्डमा जहाजले नियन्त्रण गुमाएको देखिन्छ । प्रारम्भिक अनुमानबाट के कारणले जहाज दुर्घटना हुन पुग्यो भन्ने खुल्दैन ।

सौर्य एयरलाइन्सको उच्च व्यवस्थापनसहितका कर्मचारीहरू सवार यो जहाज एक नियमित मर्मत तथा परीक्षण मानिने सी–चेकका लागि पोखरा उडेको थियो । पोखरा उडेको यस विमानमा एयरलाइन्सको व्यवस्थापन समूहका पाँच जना सवार थिए । सौर्यका चिफ असफ सेफ्टी सागर आचार्य, सीएएमओ म्यानेजर अश्विनकुमार निरौला, म्यानेजर मेन्टिनेन्स यज्ञप्रसाद पौड्याल, चिफ अप अपरेसन्स मनीषरत्न शाक्य (विमान चालक) र चिफ अफ क्यूए (क्वालिटी अफिसर) दिलीप बर्मा विमानमा सवार थिए ।

पोखरा विमानस्थलस्थित ह्यांगरमा एक महिनासम्म राखेर मर्मत गर्न अनुमति लिइएकाले सो जहाज त्यसतर्फ जाँदै थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार, सी–चेकमा जहाज लैजानुको मतलव उडानयोग्य नहुँदै उडाइएको भन्ने होइन । सी–चेक भनेको जहाज बिग्रिएर गर्ने मर्मत पनि होइन । उडानयोग्य अवस्थामा पनि जहाजको नियमित परीक्षण गर्ने गरिन्छ । जहाजमा कुनै अदृश्य कमजोरीहरूसमेत हुनसक्ने भएकाले उडानयोग्य अवस्थामा पनि जहाजको नियमित परीक्षण गर्ने गरिन्छ ।

प्राधिकरणका एक प्राविधिकका अनुसार, हरेक वायुयान निर्माता कम्पनीले आफ्ना वायुयान कुन मुलुकमा कुन अवस्थामा उडिरहेका छन्, त्यसको दुरुस्त विवरण राखी नियमित फलोअपसमेत गरिरहेका हुन्छन् । साथै, वायुयानलाई दुरुस्त राख्न तोकिएको समयमा तोकिएको परीक्षण नियमित हुने गरे÷नगरेको ’bout अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)ले पनि हरेक मुलुकका नियामक निकायलाई सचेत गराइरहेका हुन्छन् । नियामक निकायले यसको पनि विवरण राखी त्यस्तो परीक्षण सुनिश्चित गरिरहेको हुन्छ । त्यसैले, जहाज बरू ‘ग्राउन्डेड’ गराइने तर मर्मत र परीक्षणबिना नउडाउने गरिन्छ ।

प्राविधिकका अनुसार, सामान्यतया हरेक ५ हजार घण्टा उडान वा एकदेखि डेढ वर्ष अवधिमा सी–चेक गर्ने गरिन्छ ।

जहाज परीक्षणका विभिन्न चरणलाई ‘ए’, ‘बी’ र ‘सी’ भन्दै वर्गीकरण गरिएको हुन्छ । सोही वर्गीकरणअनुसार ‘सी’ चरणको चेकअप नै सी–चेक हो ।

पूर्ण परीक्षण र मर्मत मानिने सी–चेकमा जहाजको बाहिरी भाग, तरल पदार्थहरूको स्तर, टायर, ब्रेक, इन्धन, जहाजका विभिन्न आन्तरिक प्रणाली, उडान नियन्त्रण, इन्जिन, ल्यान्डिङ गियर, जहाजको संरचनात्मक उपकरण र विद्युतीय प्रणालीसमेतको परीक्षण र बिग्रिएको पाइएमा मर्मत गरिन्छ । यस्तो परीक्षणका लागि बढीमा चार सातासम्म लाग्छ । यस परीक्षणमा जहाजका नटबोल्टहरू खुकुलो भए नभएको सम्मको परीक्षण गरिन्छ ।

अब यहाँ प्रश्न उठ्न सक्छ, सौर्यले यस जहाजलाई काठमाडौंकै ह्यांगरमा राखेर मर्मत नगरी किन पोखरा लग्न खोज्यो ? यो जिज्ञासाको जवाफ पनि त्यति असामान्य देखिँदैन । काठमाडौंमा एउटै जहाज लामो समय ह्यांगरमा राखेर मर्मत गर्दा आकस्मिक मर्मत गर्नुपर्ने अन्य जहाजहरूको काम प्रभावित हुने हुनाले सी–चेकका लागि जहाजहरू अन्य विमानस्थलका ह्यांगरमा पठाउने गरिन्छ । नेपालबाट जहाज सी–चेकका लागि सिंगापुर, इजरायललगायत मुलुकमा पनि लैजाने गरिन्छ । सी–चेकपछि पनि हरेक ६ देखि १० वर्षको बीचमा जहाजको विस्तृत सुदृढीकरण परीक्षण गर्ने गरिन्छ ।

दुर्घटनामा परेको जहाज क्यानेडियन कम्पनी बम्बार्डियरले निर्माण गरेको हो । नेपालमा बम्बार्डियरको जहाजबाट अहिले सौर्य एयरलाइन्स र श्री एयरलाइन्सले उडान गर्दै आएका छन् ।

यस कम्पनीको सीआरजे–२०० जहाज नेपालमा पहिलोपटक ठूलो दुर्घटनामा परेको हो । एभिएसन सेफ्टी नेटवर्कको रेकर्डनुसार सन् २०१८ र २०१९ मा सीआरजे–२०० सामान्य दुर्घटनामा परेको भए पनि मानवीय क्षति नै हुनेगरी दुर्घटना भएको भने यो नै पहिलोपटक हो । क्यानेडियन कम्पनी बम्बार्डियरले सन् २००३ मा ९एन–एएमई जहाज उत्पादन गरेको थियो । यसमा दुईवटा जेट इन्जिन छन् ।

प्राधिकरणका अनुसार, सौर्य एयरलाइन्सको सो जहाजलाई प्राधिकरणले गत १४ वैशाखमा एक वर्षका लागि उडानको अनुमति दिएको थियो । गत १४ वैशाखसम्म सो जहाजले २८ हजार ७ सय ८५ घण्टा ५७ मिनेट उडान भरेको तथ्यांक छ ।

दुर्घटनामा परेको जहाज १७ सेप्टेम्बर २०१८ मा काठमाडौंबाट विराटनगर उडानका क्रममा चरासँग ठोक्किएको थियो । चालक दलसहित ५२ जना सवार जहाजमा त्यतिबेला सबै सकुशल थिए । जहाज विराटनगर पुगेपछि मात्रै चरा ठोक्किएको जानकारी पाइएको थियो ।

८ नोभेम्बर २०१९ मा बम्बार्डियरकै श्री एयरलाइन्सको जहाज पार्किङको समयमा यति एयरलाइन्सको पंखामा ठोक्किएको थियो । त्यतिबेला पनि कुनै मानवीय दुर्घटना भएको थिएन ।

जहाज उत्पादक कम्पनीले सीआरजे-२०० को पहिलो उडान सन् १९९५ मा सुरु गरेको थियो । विश्वभर हालसम्म कम्पनीका यस सिरिजका ७९ वटा जहाज दुर्घटनामा परेका छन् ।

गृहमन्त्री रमेश लेखकले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका विषयमा सरकारले छानबिन गर्ने बताएका छन् । ‘यो दुर्घटना हो, जे भयो, दुःखद् भएको छ,’ जहाज दुर्घटनाको स्थलगत अवलोकनपछि गृहमन्त्री लेखकले भने, ‘अब के कारणले यस्तो दुर्घटना भयो भन्ने’bout छानबिन हुन्छ ।’ उनले छानबिनबाट प्राप्त तथ्यले नै जहाज दुर्घटनाको कारणलगायत अन्य कुराहरू खुलाउने बताए ।

दुर्घटनास्थल पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि दुर्घटना किन भयो ? कसरी भयो ? भन्ने कुराको अध्ययन गरिने बताएका छन् । अध्ययन गरिसकेपछि दुर्घटना नहुनेतर्फ ठोस कदम चाल्नुपर्ने उनको भनाइ छ । ‘हवाई दुर्घटना न्यूनीकरणका लागि नीतिगत, कानुनी, प्राविधिक र जनशक्तिलगायतका कुरामा ठोस रूपले सरकारले काम गर्छ,’ प्रधानमन्त्री ओलीले विमान दुर्घटनाको स्थलगत अवलोकनपश्चात भने ।

सो दुर्घटनापछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले विमानहरूको अनिवार्य प्राविधिक परीक्षण गर्न पनि निर्देशन दिएको छ ।

राजधानी दैनिकबाट


सम्बन्धित शीर्षकहरु

तनहुँ सेवा समाज कुवेतले नेपालका मुटु रोगीको उपचारार्थ रू. २२ हजार भन्दा बढिको आर्थिक सहयोग गरेको छ । सो रकम…

आज हरितालिका तीज पर्व मनाइँदैछ। भदौ शुक्ल तृतीयाका दिन मनाइने यो पर्वमा देवाधिदेव महादेवको पूजा आराधना गरिन्छ। भदौ शुक्ल तृतीयामा…

(एपी) - कुवेतले बुधवार आफ्नो योजनाको लागि अन्तर्राष्ट्रिय आलोचनाको सामना गर्नुपर्दा सानो, तेल धनी राष्ट्रमा दुर्लभ सामूहिक मृत्युदण्डमा सात जनालाई…

प्रतिकृयाहरू
...