Wednesday 15th July 2026

दैलेख पेट्रोल अन्वेषण : दुई महिनामा एक किलोमिटर तल पुग्यो ड्रिलिङ पाइप


दैलेखमा जारी पेट्रोलियम अन्वेषण कार्यअन्तर्गत दुई महिनामा एक किलोमिटर तलसम्म ड्रिलिङ पाइप पसाइएको छ ।
भैरवी गाउँपालिका– १, जलजलेमा पेट्रोलियम अन्वेषण कार्य जारी छ । जमिनमुनि चार किलोमिटरसम्म ड्रिलिङ पाइप घुसाएर प्राप्त नमुना परीक्षणपश्चात् मात्र पेट्रोलियम पदार्थ भए–नभएको यकिन हुनेछ । परियोजनामा कार्यरत खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् गणेशनाथ त्रिपाठीले मुलुक समृद्धिको मार्गरेखा मानेर काम गरिरहेको बताए ।
उनका अनुसार जमिनमुनि पहिलो ५० मिटरको ‘होल’मा सबैभन्दा मोटो फलामको पाइप राखिएको छ । त्यसपछि अन्य साना–साना पाइप विस्तार गर्दै निरन्तर ड्रिलिङको काम भइरहेको उनले बताए ।

जमिनमुनि तीन सय मिटर तल ग्यासका साना कणहरू भण्डारण हुन सक्ने आशंका गरिएको छ । ड्रिलिङका क्रममा ग्यासको जोखिम न्यूनीकरण गर्न होलभित्र छुट्टै पाइप जडान गरिएको छ । ड्रिलिङका क्रममा अनुमान गरेभन्दा कडा चट्टानहरू भेटिएका छन् । यी चट्टानलाई छेड्न चिनियाँ प्राविधिकले नयाँ प्रविधिको मेसिन चीनबाट मगाएका छन् । उक्त मेसिन आउनेबित्तिकै ड्रिलिङ कार्यलाई तीव्रता दिइने त्रिपाठीले बताए । थप तीन किलोमिटर ड्रिलिङ गर्न ६ महिनासम्म लाग्ने अनुमानसमेत गरिएको उनले बताए ।
नेपाल र चीनबीच ०७५ मा सरकारीस्तरमा सम्झौता भई दैलेखको जमिनमुनि पेट्रोलियम अन्वेषण कार्य थालिएको हो । यस कार्यका लागि चीनले दुई अर्ब ५० करोड रुपैयाँ अनुदान उपलब्ध गराउने सम्झौता भएको छ ।
नयाँ पत्रिका बाट


सम्बन्धित शीर्षकहरु

कुवेतमा जुलाई १६ पछि वर्षकै सबैभन्दा तातो मौसम सुरु हुने भएकाले विद्युत्, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले नागरिक र बासिन्दालाई…

“आपसी एकता हाम्रो उद्देश्य, समृद्ध समाज निर्माण हाम्रो लक्ष्य” भन्ने मूल नाराका साथ सन् २०१७ मा स्थापना भएको नुवाकोट धादिङ…

पश्चिम बंगाल सरकारले सन् २०११ देखि सन् २०२५ को मे महिनासम्म राज्य सरकारका विभिन्न निकायमा भएको भनिएको भ्रष्टाचारको छानबिन गर्न…

प्रतिकृयाहरू
...