Wednesday 18th November 2026

दैलेख पेट्रोल अन्वेषण : दुई महिनामा एक किलोमिटर तल पुग्यो ड्रिलिङ पाइप


दैलेखमा जारी पेट्रोलियम अन्वेषण कार्यअन्तर्गत दुई महिनामा एक किलोमिटर तलसम्म ड्रिलिङ पाइप पसाइएको छ ।
भैरवी गाउँपालिका– १, जलजलेमा पेट्रोलियम अन्वेषण कार्य जारी छ । जमिनमुनि चार किलोमिटरसम्म ड्रिलिङ पाइप घुसाएर प्राप्त नमुना परीक्षणपश्चात् मात्र पेट्रोलियम पदार्थ भए–नभएको यकिन हुनेछ । परियोजनामा कार्यरत खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् गणेशनाथ त्रिपाठीले मुलुक समृद्धिको मार्गरेखा मानेर काम गरिरहेको बताए ।
उनका अनुसार जमिनमुनि पहिलो ५० मिटरको ‘होल’मा सबैभन्दा मोटो फलामको पाइप राखिएको छ । त्यसपछि अन्य साना–साना पाइप विस्तार गर्दै निरन्तर ड्रिलिङको काम भइरहेको उनले बताए ।

जमिनमुनि तीन सय मिटर तल ग्यासका साना कणहरू भण्डारण हुन सक्ने आशंका गरिएको छ । ड्रिलिङका क्रममा ग्यासको जोखिम न्यूनीकरण गर्न होलभित्र छुट्टै पाइप जडान गरिएको छ । ड्रिलिङका क्रममा अनुमान गरेभन्दा कडा चट्टानहरू भेटिएका छन् । यी चट्टानलाई छेड्न चिनियाँ प्राविधिकले नयाँ प्रविधिको मेसिन चीनबाट मगाएका छन् । उक्त मेसिन आउनेबित्तिकै ड्रिलिङ कार्यलाई तीव्रता दिइने त्रिपाठीले बताए । थप तीन किलोमिटर ड्रिलिङ गर्न ६ महिनासम्म लाग्ने अनुमानसमेत गरिएको उनले बताए ।
नेपाल र चीनबीच ०७५ मा सरकारीस्तरमा सम्झौता भई दैलेखको जमिनमुनि पेट्रोलियम अन्वेषण कार्य थालिएको हो । यस कार्यका लागि चीनले दुई अर्ब ५० करोड रुपैयाँ अनुदान उपलब्ध गराउने सम्झौता भएको छ ।
नयाँ पत्रिका बाट


सम्बन्धित शीर्षकहरु

भारतको सर्वोच्च अदालतमा बुधबारदेखि वैवाहिक बलात्कारसम्बन्धी १० वटा रिटमाथि सुनुवाइ भइरहेको छ। विवाहभित्र हुने जबर्जस्ती यौनसम्पर्कलाई अपराध मान्ने कि नमान्ने…

अमेरिका र इरानले एकअर्काका सैन्य लक्ष्यमा आक्रमण गरेको दाबी गरेका छन्, जसले मध्यपूर्वमा तनाव अझ बढाएको छ। यसै बिच कुवेतले…

रुसको दक्षिणपश्चिमी साइबेरियास्थित केमेरोभो क्षेत्रमा भएको सैन्य विमान दुर्घटनामा विमानमा सवार सबै १९ जनाको मृत्यु भएको छ। रुसी रक्षा मन्त्रालयका…

प्रतिकृयाहरू
...