पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १
प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण
————————-
चन्द्रावती अधिकारी
चित्र सङ्कलन
———————–
सामाजिक सञ्जाल
समायोजक
—————–
सविता के.सी.
चित्रमा पञ्चाङ्ग
===========
पञ्चाङ्ग १
लेराऊ गोरु नार हलमा मकै छर्ने बेला भयो
अब तिमीले फुकाउनु तिनले चर्ने बेला भयो
प्रविधिको विकास नहुँदा जनावरका पनि दुःख
कष्ट धेरै भएपछि बेसमय झर्ने बेला भयो
यस्तै यो जीवन जिउने कसरी डर्ने बेला आयो ।
सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ ।
पञ्चाङ्ग २
बेलैमा खनजोत गरे अन्न आउँछ धेरै
नेता जनता देशबासी खान पाउँछ धेरै
पूर्ण रूपमा माटोलाई तयारी नगरेमा
अन्न फल्दैन छिमेकीले गीत गाउँछ धेरै
हो अभावले मनका ईच्छा कुहाउँछ धेरै ।
सीमा कार्की समर्पण
पञ्चाङ्ग ३
पारी वनमा हरियो पाते सल्लो रहेछ
धान फल्ने खेत वारि बेसी खल्लो रहेछ
किसानले मेहनत त गरेकै मान्नु पर्छ
पानीले पनि नगल्ने ठूल्ठूला डल्लो रहेछ
आफ्नो खेत जोतेर खाने मान्छे पल्लो रहेछ ।
धनमाया चौधरी कैलाली
पञ्चाङ्ग ४
अझै पनि पशुलाई नारी जोत्छन् मान्छे
दिनभरी दु:ख गरी बारी जोत्छन् मान्छे
कहाँ पुग्यो जमाना यो औधोगिकी हुँदा
चर्को घाममा पसिना झारी जोत्छन् मान्छे
उब्जनी नै नहुने त्यो टारी जोत्छन् मान्छे ।
घनश्याम पौडेल,पोखरा
पञ्चाङ्ग ५
फेस बुकमै भए पनि गोरु नारेको देखियो
वल्लो गरा बाट पल्लो गरामा सारेको देखियो
आजभोलि जताततै ट्याक्टरले जोत्ने बेलामा
आधुनिक जमाना संग निकै हारेको देखियो
राङ्गे टाङ्गे पारी खेत जोताई टारेको देखियो ।
सरस्वती श्रेष्ठ इटहरी
पञ्चाङ्ग ६
हलोजुवा खुर्पेटवको रङ्ग कसैको
खेती गर्ने कति राम्रो ढङ्ग कसैको
सुकुलगुण्डा बनी हिंड्छन् कोही कोही आज
पसिनाको गन्ध हुन्छ मङ्ग कसैको
अपराधी लुटेराको सङ्ग कसैको ।
चन्द्रावती अधिकारी
कोहलपुर बाँके
पञ्चाङ्ग ७
आजभोलि बारीमा मकै छर्ने बेला छ
अन्न फलाएर भकारी भर्ने बेला छ
युवा बिदेशीए भएका बारी बाँझै छन्
जसरी पनि सबै काम गर्ने बेला छ
अर्मपर्म गरेर काम टर्ने बेला छ ।
१
किसानको जिन्दगी पिरै पिरमा छ
काम गरिखाने ठाउँ नि भिरमा छ
अभावमा रहर बन्दगी राख्दै याँ
सदैव यो डोको र नाम्लो शिरमा छ
सोचेको नहुँदा शरीर झिरमा छ ।
दुर्गा भट्टराई
मोरङ
पञ्चाङ्ग ८
कृषिप्रधान देश भन्ने हाम्रो नारा छ
न विधि न प्रविधि जोत्ने उही पारा छ
खेती गर्ने त किसान एक्लै छ बारीमा
खानेबेला भने हेर संसार सारा छ
किसान भने भोकै पसिनाको धारा छ ।
-पशपती राई खोटाङ ।
पञ्चाङ्ग ९
किसान बन्नु छ,सदैव अपुग रहर छोडेर
सदैव हाँस्नु छ मलिन ल्याउने जहर छोडेर
आफ्नै गाउँघरमा नै आउँदैछु रमाउनलाई
दोधारे जीवन भ्रमयुक्त चर्खे कहर छोडेर
भ्रष्टको जाल र पीत दोमनको शहर छोडेर ।
प्रेम थापा “मन”बागलुङ
पञ्चाङ्ग १०
लेराउ बीउ औषधीमा चोप्ने बेला भयो
कुखुरा बाख्रा खोर भित्र छोप्ने बेला भयो
बाँझै छ खेतबारी हल गोरु फुकाएर
पसिनाले गलाई माटो खोप्ने बेला भयो
पानी पर्यो आउ है मकै रोप्ने बेला भयो ।
-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा.-३,काभ्रे
पञ्चाङ्ग ११
किसान र कृषिको सम्बन्ध राम्रो मनपर्छ
गाउँको माटो मिठो सुगन्ध हाम्रो मनपर्छ
प्लटिङ्ले टुक्रिएर जमिन लोप हुँदै गयो
लहलह हरियो बलियो काम्रो मनपर्छ
प्रकृतिले दिएको स्वच्छन्द चाम्रो मनपर्छ ।
संगीता खरेल
चन्द्रागिरी ८ काठमाडौँ
पञ्चाङ्ग १२
किसानको माटो सँगको सम्बन्ध
खेतबारी बाटोसँगको सम्बन्ध
नङ मासु जतिकै प्रगाढ हुन्छ
हल गोरु पाटोसँगको सम्बन्ध
खडेरीमा घाटोसँगको सम्बन्ध ।
#पृथक प्रकृति, झापा
पञ्चाङ्ग १३
कहिले पिरमा जिन्दगी
उकालो भिरमा जिन्दगी
अभावमा जिउनुपर्छ
माछाझैं झिरमा जिन्दगी
अनन्त चिरमा जिन्दगी ।
– आर्त अकुलीन
पञ्चाङ्ग १४
अब जाँगर जगाई अल्छीलाई त्याग्नुछ
हलो र जुवा काँध माथि बोकेर जाग्नुछ
नेपालमा कृषि क्रान्ति नआइन्जेलसम्म
अर्ती – उपदेश कृषि विज्ञ सँग माग्नुछ
कृषकको सन्तान हामी कृषिमै लाग्नुछ ।
सूर्य गिरी
माछापुच्छ्रे-५,कास्की (पोखरा)
पञ्चाङ्ग १५
गरिबले खेत जोतेरै खानु पर्यो
विहान सबैरै खेतमा जानू पर्यो
सुखका दिन नआउने रे कहिले
सधैं जुवाहलो बोकेर लानु पर्यो
बहरलाई बनाउन दानु पर्यो ।
नवराज भट्ट
कञ्चनपुर
पञ्चाङ्ग १६
सुन्दर देश नेपाल प्रकृतिको रानी विश्वमा
यहाँ अनमोल रत्नका अथाह खानी विश्वमा
कृषिप्रधान देशमा अन्न उब्जाउनु जुटेर
अभाव चट्टै हटाउन सकिन्छ नानी विश्वमा
प्रकृतिले दिएको धन झरना पानी विश्वमा ।
प्रद्युम्न चालिसे
पञ्चाङ्ग १७
दुखीलाई सधैँ दुःखको नै पोको किन
मिहेनत गर्दागर्दै पेट हुन्छ भोको किन
वैज्ञानिक युगमा पनि नयाँ प्रविधि छैन
राम्रो वस्त्र भोजनको रह्ने धोको किन
हलो जोत्ने हातमा केवल फोको किन ?
कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी
पञ्चाङ्ग १८
वल्लो पाटो पल्लो पाटो सजाउने हामी
सङ्घर्षले ढुङ्गा माटो सजाउने हामी
खेतबारी खनजोत फलाउन अन्न
यद्योगको राम्रो बाटो सजाउने हामी
मूर्खताको ज्ञात साटो सजाउने हामी ।
अच्युत घिमिरे, सर्पाङ, भुटान
पञ्चाङ्ग १९
सभ्यताको झुल्कासँगैका पूर्वीय जहाँ छन्
पश्चिमाले भन्थे स्वर्गका देउता वहाँ छन्
भोका गोरु मज्जाले जोती अझ उसैमाथि
हलो अड्काउने निर्दयी मानिस यहाँ छन्
भन्नै पर्दैन पुराणका राक्षस कहाँ छन् ।
श्रीकृष्ण शर्मा
पोखरा–५, मालेपाटन
पञ्चाङ्ग २०
समय अनुसार गोरु खेतबारी जोत्न लानु छ
किसान हुँदै हलगोरु नारेर खेतमा जानु छ
किसान भएपछि हलि र गोरु नँगमासु जस्तै
किसानले खेतबारीमा अन्न उब्जाएर खानु छ
कृषकले काम गर्ने साधन त लिएर दानु छ ।
बेदु न्यौपाने