Saturday 27th April 2024

भोलि, बिहीबारदेखि सुरु हुने एसइईको सम्पूर्ण तयारी पूरा : परीक्षा दिने ५ लाख बढी परीक्षा उतीर्ण हुन ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने


भोलि बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पुरा भएको छ । चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको अन्तिम तयारी पुरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डका अध्यक्ष प्रा डा महाश्रम शर्माले भालिदेखि सञ्चालन हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको भन्दै प्रश्नपत्र र उत्तरपुस्तिका जिल्ला–जिल्ला पु¥याइएको जानकारी दिए । उनले परीक्षालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सबैलाई आह्वान पनि गरेका छन् ।

“भोलिदेखि देशभर एकैसाथ सुरु हुने एसइई परीक्षाको सम्पूर्ण तयारी पुरा भएको छ । भयरहित भएर ढुक्कसँग परीक्षामा सहभागी हुन सबै परीक्षार्थीलाई आह्वान गर्दछु”, शर्माले भने, “साथै परीक्षालाई शान्तिपूर्ण, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न÷गराउने विद्यार्थी, शिक्षक, अभिभावक र सबै नागरिकमा आह्वान गर्दछौँ ।”

उनका अनुसार चैत १५ गते बिहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन हुने परीक्षा चैत २७ गते सम्पन्न हुनेछ । पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । एसइईलाई व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न परीक्षामा खटिने केन्द्राध्यक्ष लगायत जनशक्तिलाई अभिमुखीकरण गरिएको बोर्डले जनाएको छ ।

परीक्षा दिने ५ लाख बढी

बोर्डले चैत १५ गतेदेखि सुरु हुने परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र र अन्य १५ जना गरी कूल ५ लाख ४४ सय १४ परीक्षार्थी सहभागी हुने कक्षा १० परीक्षा नियन्त्रण कार्यालयका एसइर्ई परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए । उनका अनुसार कूल परीक्षार्थीमध्ये ५०६ विद्यालयका १५ हजार ७४९ जना परीक्षार्थी प्राविधिक धारतर्फका छन् ।

परीक्षामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका १५ जना परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रक पौडेलले जानकारी दिएका छन् । उनका अनुसार बाँके, चितवन, दाङ, गोरखा, इलाम, खोटाङ, सुर्खेतबाट एक-एक, पर्सा र सप्तरीबाट दुई-दुई, रुपन्देहीबाट चार जना छन् ।

परीक्षाका लागि कार्यालयले २ हजार ६४ परीक्षा केन्द्र निर्धारण गरेको परीक्षा नियन्त्रक पौडेलले बताए । सबैभन्दा कम मनाङ, मुस्ताङमा एक÷एक र सबैभन्दा बढी काठमाडौंमा १२७ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

जापानमा एक परीक्षा केन्द्र

यसवर्षको एसइई परीषमा जापानबाट २३ जना सहभागी हुने परीक्षा नियन्त्रक पौडेलले बताए । जापानमा रहेको एभरेष्ट स्कूलमा एक परीक्षा केन्द्रबाट १५ छात्रा र ८ छात्र गरी २३ विद्यार्थीले परीक्षा दिने भएका छन् ।

प्रश्न पत्र र उत्तरपुस्तिका जिल्ला–जिल्लामा

परीक्षाका लागि आवश्यक पर्ने प्रश्नपत्र र उत्तर पुस्तिकालगायतका सम्पूर्ण सामग्री बोर्डले सम्बन्धित जिल्ला पु¥याएको छ । बोर्डले यसवर्ष ५ लाख प्रश्नपत्र छापेको जनाएको छ ।

परीक्षा नियन्त्रक पौडेलले परीक्षाका लागि आवश्यक पर्ने प्रश्नपत्र बोर्डले देशभरका ७७ जिल्लाका प्रहरी कार्यालयमा पठाइसकेको जानकारी दिए । प्रत्येक विषयको परीक्षाका दिन परीक्षा सुरु हुनु केही समय अगाडि मात्रै प्रहरी सुरक्षाका साथ सम्बन्धित परीक्षा केन्द्रमा प्रश्न पत्र पठाइने छ ।

उत्तरपुस्तिका एवम् अन्य सामग्री कार्यालयले सातै प्रदेशबाट जिल्लाजिल्ला पठाइसकेको जानकारी दिँदै पौडेलले परीक्षाका लागि प्रदेश र जिल्लाले गर्ने तयारी पनि पुरा भएको जानकारी आएको बताए । परीक्षा सञ्चालनका लागि आवश्यक बजेट भने सातवटै प्रदेशका प्रदेश सरकार, सामाजिक सुरक्षा मन्त्रालयले व्यवस्थापन गर्नेछ ।

जापानको परीक्षा केन्द्रको जापानस्थित नेपाली दूतावासले परीक्षाको अनुगमन गर्ने भएको छ । जापानमा केन्द्र रहेको स्कूलको प्रिन्सिपललाई केन्द्राध्यक्षको जिम्मेवारी दिइएको छ । हुलाकमार्फतमा उत्तर पुस्तिका पठाइएको जापानमा परीक्षा सुरु हुनु अगाडि इमेलमार्फत प्रश्नपत्र पठाइने परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए ।

परीक्षाका लागि खटिदै जनशक्ति

बोर्डका अनुसार एसइर्ई परीक्षाका लागि प्रत्यक्षरुपमा ७७ हजार ४८५ जना जनशक्ति परिचालन हुने भएका छन् । प्रति केन्द्र एक जनाका दरले केन्द्राध्यक्ष खटाइनेछ । देशभर २ हजार ६४ परीक्षा केन्द्र तोकिएका छन् । त्यस्तै १५० विद्यार्थी बराबर एक जनाका दरले ४१ सय २८ जना सहायक केन्द्राध्यक्ष, प्रति २० विद्यार्थी बराबर एक जनाका दरले २५ हजार २२२ निरीक्षक खटाइएको छ ।

त्यसैगरी एक सय परीक्षार्थी बराबर एक जनाका दरले ५ हजार ५४ परीक्षा सहायक खटाइनेछ भने ५० परीक्षार्थी बराबर एक जनाका दरले १० हजार ८१ कार्यालय सहयोगी खटाइने भएको छ । प्रत्येक परीक्षा केन्द्रमा १५ जनाका दरले ३० हजार ९६० सुरक्षाकर्मी परिचालन गरिने छ ।

परीक्षा केन्द्रको आवश्यकताअनुसार सुरक्षाकर्मीको सङ्ख्या थप हुन सक्ने पौडेलको भनाइ छ । सुरक्षाकर्मीदेखि कर्मचारी परिचालनका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला परीक्षा समन्वय समितिले थप गर्न सक्नेछ ।

परीक्षा उतीर्ण हुन ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट विसं २०७८ पुस ७ गते ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ जारी गरेपनि कार्यान्वयनमा आउन सकेको थिएन । यसवर्षको परीक्षामा भने बोर्डले ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ लागू गरेको छ ।

विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत ल्याउनुपर्ने प्रावधान रहेकामा बोर्डले यसवर्ष पहिलो पटक निर्देशिका कार्यान्वयनमा ल्याएसँगै एसइर्ई परीक्षाको नतिजामा विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अङ्क ल्याउनै पर्ने भएको छ ।

परीक्षा नियन्त्रक पौडेलले परीक्षार्थीले कम्तीमा सैद्धान्तिक विषयमा ३५ अङ्क र प्रयोगात्मकमा ४० अङ्क ल्याउनैपर्ने बताउँदै एक सय पूर्णाङ्क रहेको विषयमा ३५ र ७५ पूर्णाङ्क रहेको विषयमा २७ अङ्क ल्याउनुपर्ने जानकारी दिएका छन् ।

परीक्षा नियन्त्रक पौडेलले ३५ प्रतिशतभन्दा कम अङ्क ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने र पुनः मौका परीक्षामा सहभागी हुनुपर्ने प्रावधान रहेको बताए । ३५ अङ्क ल्याउन नसक्ने विद्यार्थीले पहिलो वर्ष दुई विषयको मौका परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । विद्यार्थीले तीन पटकसम्म दुई विषयमा ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने छन् । (रासस)


सम्बन्धित शीर्षकहरु

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतको साताैं अधिवेशन तथा चाैधाैं वार्षिक उत्सव सम्पन्न भएको छ । कुवेतको फरवानिया स्थित द्वाही…

तीतोपाटी -पत्रकार नबराज पन्थी कुवेतमा सम्मानित भएका छन् । कुवेत स्थित जन-जागृति युवा समाज कुवेतले पत्रकारीता क्षेत्रमा पुर्याएको योगदानको कदर…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...