Sunday 8th February 2026

नेपाली राजदूतावास कुवेतको आयोजनामा “श्रमिक सचेतना’ विषयक अन्तरकृया कार्यक्रम सम्पन्न


तीतोपाटी – नेपाली राजदूतावास कुवेतको अायोजनामा “श्रमिक सचेतना’ विषयक अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

कुवेतमा कार्यरत नेपाली श्रमिकहरुलाई सुरक्षित, मर्यादित र उपलब्धिमुलक वैदेशिक रोजगारीका बहुआयामिक पक्षहरुको जानकारी प्रदान गरी उनीहरुको रोजगारीलाई फलदायी बनाउने उदेश्यले राजदूतावासले हिजो बिहीबार कुवेतको श्रम बजार, विप्रेषण तथा सुरक्षित आप्रवासनका सम्बन्धमा “श्रमिक सचेतना’ विषयक एक अन्तरकृया कार्यक्रम कुवेत सिटीस्थित कोष्टाडेल गोल होटलको सभाहलमा आयोजना गरेको थियो। उक्त कार्यक्रममा कुवेतका गैर आवासीय नेपाली संघ सहित कुवेतस्थित अधिकांश नेपाली संघसंस्थाका प्रतिनिधिहरू एवं स्थानीय पत्रकारहरुको सहभागिता रहेको थियो।

कार्यक्रमका सहभागीहरुले उठाउनु भए‌को विविध विषयहरुको समग्र सम्बोधन गर्दै महामहिम राजदूत श्री घनश्याम लम्साल ज्यूले कुवेतमा कार्यरत नेपाली श्रमिकहरुलाई राजदूतावासबाट प्रदान गरिने विभिन्न सेवाहरू राजदूतावासले प्राथमिकताका साथ सरल, शीघ्र एवं प्रभावकारी ढंगबाट प्रवाह गर्दै आएको बताउनुभयो। सो अवसरमा महामहिमज्यूले नेपाली श्रमिकहरुको प्रतिनिधिहरू तथा श्रमिकहरुसँग निकटतम रुपमा छलफल गरी गुनासोहरु सुन्ने र छलफल पश्चातको निष्कर्षबाट समस्याको समाधान गर्न राजदूतावास सदैव तयार रहेको बताउनु भयो। श्रमिकका प्रतिनिधिहरुसँगको राजदूतावासको अन्तर्क्रिया कार्यक्रम आगामी दिनमा निरन्तर भैरहेने र सेवा प्रवाहमा प्रभावकारी सुधार गर्न यस्ता कार्यक्रमबाट प्राप्त सुझाव महत्वपूर्ण हुने बताउनु भयो।

उक्त कार्यक्रममा गैर आवासीय नेपाली संघ, कुवेतका प्रतिनिधिहरु र नेपाली संघसंस्थाहरुका प्रतिनिधिहरुले राजदूतावासको सेवा प्रवाह, यसमा देखिए‌का कठिनाईहरु, समाधानको उपाय तथा कुवेतमा रोजगारको सिलसिलामा नेपाली श्रमिकले भोग्नु परेका विभित्र समस्याहरुको सम्बन्धमा विविध विषयहरु उठान गर्नुभए‌को थियो। महिला घरेलु कामदारको समस्या, प्रोजेक्ट भिषाका प्राविधिक कठिनाईहरु तथा सामान्य सेवाग्राहीको गुनासो सुनुवाईको सम्बन्धमा आ- आफ्ना धारणाहरु राख्नु भएको थियो। राजदूतावासले राहदानी नवीकरण सेवालाई सहजीकरण गर्दै लगेको उल्लेख गर्दै यस सम्बन्धी विषयमा इराकमा रहेका नेपालीहरुको राहदानी नवीकरणको विषय सम्बोधन गर्दिनुभएकोमा समेत राजदूतावासलाई धन्यवाद दिनुभए‌को थियो ।

उक्त कार्यक्रममा कुवेतमा श्रमिकहरुले गर्न हुने र नहुने कुराहरु, कुवेतको श्रम कानूनका प्रमुख पक्षहरु, विप्रेषण साक्षरता, सामाजिक सञ्जालको संयमित प्रयोग तथा नेपाली दूतावासबाट प्रदान गरिने सेवाहरु, अध्यागमन कानून तथा श्रमिकहरुका लागि उपयोगी अन्य जानकारीहरुका सम्बन्धमा काउन्सिलर सुजनी रानाले प्रस्तुतीकरण गर्नु भएको चियो। यसै गरी श्रम सहचारी श्री गिरीप्रसाद आचार्यले सामाजिक सुरक्षा कोषमा श्रमिकको आबद्धता, टेलिमेडिसिन सेवा, वैदेशिक रोजगार बोर्डबाट श्रमिकहरुलाई प्रदान गरिने सुविधाहरु लगायत श्रमका विविध विषय समेटिए‌को प्रस्तुतीकरण गर्नु भएको थियो।

कार्यक्रममा मुजेत भ्रमणमा रहनुभएका नेपाली महावाणिज्यदूतावास जेद्दाका कार्यवाहक महावाणिज्यदूत थी सत्रुध्यन प्रसाद शर्मा पोखरेल तथा गैर आवासीय नेपाली संघको मध्यपूर्व संयोजक श्री राजेन्द्र अर्यालले समेत कार्यक्रमको सफलताको कामना गर्दै सुभाकामना दिनुभएको थियो।

कार्यक्रमको सञ्चालन राजदूतावासका प्रथम सचिव प्रेमराज गौतमले गर्नुभएको थियो भने सहभागीहरुलाई प्रथम सचिव सुजन विडारीले स्वागत गर्नुभएको थियो। उक्त कार्यक्रममा राजदूतावासका अन्य कूटनीतिक कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो।


सम्बन्धित शीर्षकहरु

गोरखा समाज कुवेतको प्रथम ऐतिहासिक अधिवेशन नयाँ कार्यसमिति सर्वसम्मत चयन गर्दै सम्पन्न भएको छ। खैतानस्थित राजधानी प्यालेसको सभाहलमा आयोजित अधिवेशनले…

कुवेतस्थित खोटाङ कुवेत सम्पर्क मञ्च ले आफ्नो दोस्रो सांगीतिक धमका आयोजना गर्ने भएको छ। संस्थाको हालै सम्पन्न २१ औँ मासिक…

  तिताेपाटी तनहुँ म्याग्दे गाउँपालिकाले सार्वजनिक गर्‍यो ‘म्याग्दे गान’, स्थानीय पहिचान र भावनालाई एकसूत्रमा बाँध्ने प्रयास तनहुँ । म्याग्दे गाउँपालिकाले…

प्रतिकृयाहरू
...