Thursday 2nd May 2024

सबै सरकारी विद्यालय सदाका लागि बन्द गरौ


तोयानाथ दाहाल उपेक्षित, गर्वका साथ केही नेताहरु हामीले पञ्चायतकालिन सवै उद्योग कलकारखाना बेचेकै हो भन्छन । देशको हितमा त्यो निर्णय सही थियो भन्न कति पनि शरम मान्दैनन अनि जनताले ताली ठोक्न पर्ने ? उनलाई जसले खुकुरी प्रहार गरेर उनको भाषणको प्रतिबाद गरे एक हिसावले त्यो जवाफ पनि सही थियो ।

एमसीसी पास गरेपछि एक युवा नेताले अमेरिकन सेना नेपालमा आए मलाई चारपाटा मुढेर थानकोट कटाउनु भने त्यसो भन्दा त झन तालि बजाउने अरु कोही नभएर सिह दरबारको खोरमा कराउने सांसद नामका भेडाहरु नै थिए । अहिले अमेरिकन सेना र उसको विमान आउन थालेका छन । तत्काललाई उनीहरु जुनसुकै बहानामा आउदै जादै गरेको भए पनि उनीहरुले भित्र भित्रै अमेरिकन परियोजना एमसीसीको कार्यलय वा उसका प्रोजेक्टमा युद्ध रणनितीमा प्रयोग हुने बन्दोबस्तीका सामान भित्रयाउदै जाने छन र खुला रुपमा सैन्य परेड खेल्नका लागि उसले एसपीपी अगाडी बढाएको छ जसलाई सरकारले स्वीकृत गरेका दिन अचम्म नमान्नु होला देश त्यही दिशामा अघि बढिरहेको छ । अमेरिकन साम्राज्यबाद मुर्दाबाद भन्नेहरु र तिनलाई प्रमुख दुश्मन भनेर गाली गर्न सिकाउनेहरु उनीहरुकै दास होलान भनेर कमैले सोचेका थिए होलान् ।

किश्चयानिटी र चर्चहरु असंख्य बनिरहेका छन । धर्म निरपेक्ष राज्य घोषणा पछिको त्यो परिणाम पनि सवैका सामु छर्लंग छ । बैदेशिक हस्तक्षेप पनि उसरी नै बढेको छ । बैदेशीक ऋण दिनदिनै बढदै गएको छ । अर्थतन्त्रमा बजेट घाटा झन चुलिदो छ । नेपालको गौरब र स्वभिमान अन्तराष्ट्रिय जगतमा यति निम्छरो भईसकेको छ की भारत गए हाम्रा प्रमलाई एउटा राज्य मन्त्री र केही नर्तकीहरुले स्वागत गर्दछन । अमेरिका गए कुनै एउटा सरकारी पियन पनि विमानस्थलमा स्वागत गर्न आउदैनन् । देशले लज्जाबोध यहाँ भन्दा धेरै कति सहोस । आज प्रम प्रचण्ड अमेरिका जाँदा जे भयो ईतिहासमा यस्तो कहिल्यै भएको थिएन । बीपीको स्वागत हेर्नुस या राजा महेन्द्र वा विरेन्द्रको हेर्नुस ।

प्रशंग सरकारी विधालयका शिक्षकसँग सम्बन्धित आन्दोलनको हो । सरकारी शिक्षक एक त पचास प्रतिशत भन्दा धेरैलाई शिक्षक भन्न नसुहाउने छन । राजनैतिक दलका हुक्के चिलिमेहरु त्यहाँ भर्ति भएका छन । उनीहरुको योग्यता मापन गर्न कुनै प्रयोगशाला नै चाहिन्दैन । उनीहरुले विद्यालयमा हाजिर हुने र जागिर पकाउने राजाको काम कहिले जाला घाम को चालामा पढाउछन । विद्यार्थीलाई कखरा सिकाउन उनीहरुको भरमा छाड्ने हो भने तीन वर्षमा पनि सम्भव छैन । घरमा गार्जनले आफै नत्र गाउँमा टियुसन नहाले उनीहरुले साँवा अक्षर फुटाउदैनन । तिनले दिल दिमागले जति जानेको छ त्यति पनि विद्यार्थीलाई सिकाएको पाईन्दैन । किनकी उनीहरुका छोराछोरीलाई निजी विद्यालयले पढाउछ । आफैसँग विश्वास नभएका शिक्षकहरुले पढाउन ती गरिबका छोराछोरीका लागि किन चाहियो विद्यालय ? यसै पनि उनीहरुमा कुनै गुणस्तरीय शिक्षा, नैतिक शिक्षा वा सामाजिक शिक्षा समेत सिकाईन्दैन । पाठयपुस्तक पनि त्यस्तै छन जसले कुनै पनि गरि खाने बुद्धि सिकाउदैन । भारतमा दरवान, र खाडीमा सेक्युरिटी गार्ड तथा क्लिनर हुनका लागि यस्तो शिक्षा नभए के फरक पर्दछ र ?

यसपाली उनीहरु काठमाण्डौमा बालेनको शहरको सुन्दरीकरण भत्काउन आए । उनीहरुले गरेको सडक पेटीका फूल र विरुवाको विनाश गरे अब भन्नुहोस उनीहरु के शिक्षक जस्तो लाग्थे ? उनीहरुले उत्पादन गरेर सडकभरी फ्यालेका फोहर मैलाहरु देख्दा तिनले दिने शिक्षाले के विद्यार्थी अनुशासित र देशका लागि काम लाग्ने जनशक्ति निक्सन सक्छन होला ? अहँ पटक्कै लाग्दैन । त्यहाँ शिक्षक आएका थिएनन । सवै दलका झोलेहरु थिए । बरु राजनैतिक दलका कार्यक्रममा भाग लिने लठैतहरु यी शिक्षक भनिएकाहरु भन्दा केही राम्रो स्तरका भएका छन । सधै जसो हुने भेला र जमघटमा माईतीघर मण्डेला यति पिडादायी फोहरमा डुव्दैन जति हिजो डुव्यो ।

हो, किन सरकारी विद्यालय सधैका लागि बन्द गरौ भनियो केही त बुझ्नु भयो होला । थप कुरा के हो भने सरकारी विद्यालयले कुनै पनि गरिखाने विद्यार्थी उत्पादन गर्दैनन । हिजोको कुरा बेग्लै हो आजको स्थितीमा ती विद्यालयहरु गरिबी उत्पादन गर्ने, अनैतिक युवा जन्माउने, बेराजगार अल्छे मान्छे पैदा गर्ने कारखाना भएका छन । किनकी त्यहाँ पढाउने अघिकांश शिक्षक शिक्षिका नै त्यस्तै छन । उनीहरुलाई ती विद्यार्थीको भविश्यको कुनै चिन्ता र चासो छैन, छ त कहिले महिना मर्छ र तलब आउँछ । अझ यसो भनौ नेपाल सरकारले दुई थरी विद्यालयहरु खोल्न दिएर एक हिसावले दास जन्माउने सँस्था बनाएको छ । आफ्नै छोराछोरी सरकारी स्कुलमा नपढाउने शिक्षकलाई समेत रोक्न सरकारले नचाहानुको कारण यही हो । देखादेखि सरकारी विद्यालय बाख्राको खोरमा परिणत भएका छन । दिनभरी कक्षा कोठामा विद्यार्थी थुनिन्छन र साँझ परेपछि फुकाईन्छन । विद्यार्थी किन घटेका हुन त्यसको सच्चाईमा जानु त कता हो कता, विधार्थी संख्या बढाउन गुणस्तरिय शिक्षा दिन पर्ने मा त ध्यान नै छैन । ती विद्यालयहरुमा गरिबीसँग खेल्नका लागि पिठो, सातु र घोडाका दान पकाएर दिने प्रचार गरिन्छ । अझ त्यसमा पनि भ्रष्टचार गरिदो रहेछ, कमिसन खाईदो रहेछ । अत यस्ता सवै विद्यालय बन्द गरौ । बरु अनपढ बच्चाले घरमा नै राम्रो चरित्र विकाश गर्दछ । गरिखाने बाउआमाको पछि लागेर काम गर्न सिक्नेछ । नत्र दुई थरी विद्यालय किन ? शिक्षा किन ?

यी आन्दोलनकारी शिक्षकको पीर स्थानिय निकायबाट शासित हुन नपरोस भन्ने रहेछ । लगभग सरकारले यति आन्दोलन गरे पछि हुन्छ भन्देला तर बास्तवमै स्थानिय तह प्रति बफदार र जवाफदेही बनाउने कुरा आफैमा राम्रो हो । आफ्नो क्षेत्रमा सञ्चालित विद्यालयको गुणस्तर विकास गर्न स्थानिय सरकारको नेतृत्व भए लापर्वाही नियन्त्रण हुने कुरामा कुनै शंका छैन । तर यो उनीहरु चाहदैनन । यस्तै उनीहरुका धेरै माग मध्ये केही मागहरु जायज र केही मागहरु नाजायज छन । विधालय जस्तो विशुद्ध शैक्षिक सँस्थामा मानवअधिकारको नाममा राजनैतिक भातृसंगठन बनाउन दिन हुदैन । शिक्षक नै राजनितीक कार्यकर्ता भए पछि त्यसले कस्ता विद्यार्थी उत्पादन गर्दछ । यसर्थ उनीहरु साँच्चै देश र जनताका लागि शिक्षाको ज्योति छर्न चाहन्छन् भने उनीहरुले दुई थरी विद्यालयको नितीलाई खारेज गर्नु पर्ने माग गर्न पर्दछ । आफूलाइ सके सम्म धेरै जवाफदेही बनाउन स्थानिय जनप्रतिनिधी र अभिभावक प्रति जवाफदेही हुनै पर्दछ । शिक्षा विग्रिएको देश कहिल्यै उभो लाग्दैन भनेर सवैले बुझन जरुरी छ ।


सम्बन्धित शीर्षकहरु

दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । पछिल्लो अपडेट अनुसार दुर्घटनामा…

क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। ओटावामा…

बलिवुडका निर्देशक सञ्जय लीला भन्साली वेब सिरिज ‘हिरामण्डीः द डायमण्ड बजार’ मार्फत ओटीटीमा डेब्यु गरेका छन्। यो शृङ्खला १९४० को…

प्रतिकृयाहरू
...