Saturday 3rd October 2026

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा दोश्रो पटक विश्वासको मत लिए


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा दोश्रो पटक विश्वासको मत लिएका छन् । यसअघि प्रधानमन्त्री बनाउन निर्णायक भूमिका खेलेको नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रचण्डले पुनः संसद्‌मा विश्वासको मत प्रमाणित गर्नुपरेको हो।

एमालेले राष्ट्रपति निर्वाचनमा आफ्नो पक्षमा नउभिएको भन्दै र अन्य कारण देखाउँदै प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन केही साताअघि फिर्ता लिएको थियो।

विश्वासको मतका लागि पेस गरिएको प्रस्तावको पक्षमा १७२ र विपक्षमा ८९ मत खसेको सभामुख देवराज घिमिरेले घोषणा गरे। प्रतिनिधिसभामा २६२ सांसद विश्वासको मतमा सहभागी थिए। एकजना सांसदले भने ‘मत दिन्न’ भन्ने पक्षमा आफ्नो मत जाहेर गरे।

दाहाललाई नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी र स्वतन्त्र सांसदले विश्वासको मत दिएका हुन्।

एमाले र राप्रपाका सांसदहरूले उनको विपक्षमा मत हाले भने नेमकिपा तटस्थ बस्यो।

गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले त्यसको १६ दिनपछि पुस २६ गते विश्वासको मत लिएका थिए। त्यस बेला प्रतिनिधिसभा बैठकमा उपस्थित २७० सांसदमध्ये २६८ जनाले प्रचण्डलाई समर्थन गरेका थिए।

प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले “सरकारमा सहभागी नहुने र सङ्घीय संसद्‌मा प्रमुख विपक्षी दलको रूपमा भूमिका निर्वाह गर्ने” बताउँदै त्यस बेला प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएको थियो।


सम्बन्धित शीर्षकहरु

सुडानको सेनाले उत्तर कोर्डोफान राज्यको अल–माजरुब क्षेत्र आफ्नो नियन्त्रणमा लिएको जनाएको छ। सेना र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच भएको…

यमनमा बढ्दो द्वन्द्व र विस्थापनका कारण भोकमरी संकट गहिरिएको छ। संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (WFP) का अनुसार सरकारको नियन्त्रणमा…

ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा (लुला) चौथो कार्यकालका लागि फेरि राष्ट्रपतिको चुनावमा प्रतिस्पर्धा गर्दै छन्। ८० वर्ष…

प्रतिकृयाहरू
...