तोयानाथ उपेक्षित, तीतोपाटी/देशले विगत १० वर्षदेखि दिल्लीलाई हेरिरहेको छ । विगत ६ महिनायता पञ्जावलाई हेरिरहेको छ । सर्वसाधरणले मात्र हैन त्यति बेला नै दिल्लीलाई हेरेर बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी खोले तर उनलाई जनताले पत्याएनन् । त्यसपछि रविन्द्र मिश्र आए उनी झनै बरबाद भए । पत्रकारिताबाट राजनितीमा आएका मिश्र पछि अहिले रबी लामिछाने आएका छन् ।
बाबुरामको बौद्धिकतासँग हिंसाको लामो श्रृखला जोडिएकाले सय मुसा मारेको विरालाले हज गएर आउदैमा मुसा नमार्ला भनेर कसरी पत्याउने ? कुनै जनताले पनि उनी साधु भए भन्दा मान्न तयार भएनन । धन्य धन्य उनले काठमाण्डौको मेयरमा उमेद्वारी दिएनन, चर्चा त निक्कै थियो । यदि दिन्थे भने उनले आफ्नो पछाडी ती हिंसा देखेर अघाएका मुसाहरुले उनलाई नांगोबाबा बनाई दिने थिए जोगिए विचरा ।
रविन्द्र मिश्र त्यसरी नै हौसिए । उनको बौद्धिकता प्रश्न गर्नमा थियो त्यही देखियो उत्तर दिने ठाउँमा उनलाई प्रतिस्थापन गर्न जनताले रुचाएनन् अर्थात उनी पत्रकारीताका लागि जन्मेका थिए राजनितीको लागि थिएनन भनेर जनताले अस्वीकार गरे । मिश्रसँग शुरुमा धेरै आशा गरेका जनताले उनको दोधारे नीतिबाट धेरैले शंका गर्न थालेका थिए । संसदीय दाउपेचका क्रममा उनको समर्थन कांग्रेस नजिक देखिएपछि रविन्द्रको उचाई घट्न थालेको थियो । पछिल्ला दिनमा उनी राजावादी नजिक भए । यहि ढुलमुले नीतिले उनलाई अस्वीकृत गर्दै लग्यो । उनले त्यस अवधिमा समान सोच र विचार भएको पार्टीसँग एकता भन्दै विवेकशील साँझासँग एकता गरे तर टिकाउन सकेनन र विभाजनको खेल खेले त्यसले नेता हुने उनको राजनैतिक योग्यतामा प्रश्न उठाई दियो । अरुलाई भन्थे मिश्रले तर आफ्नै छाती कुखुराको जस्तो छ भनेर आफैले देखाई दिए । अन्तत छोटो समयमा नै उनी आफ्नै असक्षमताले गले । जसका लागि उनलाई राजनीतिबाट पन्छने बहाना चुनावी परिणाम भई दियो । उच्च नैतिकताको जलप लगाउदै घाडो भएको राजनैतिक नेतृत्वबाट उनी पन्छिए । यो कुराको जानकार उनी पहिल्यै थिए । चुनावमा नराम्रो मत आउछ भन्ने उनलाई राम्ररी थाहा थियो । नेतृत्व गर्न वा पार्टी चलाउन नसकिरहेका मिश्रले लुतो पखाल्ने उपयुक्त मौका स्थानीय चुनावको पराजयलाई बनाए र राजीनामा गरे ।
देशमा बेथीति व्याप्त भएको बेला यहाँ राजनेता र राजनितीको खडेरी परेको छ । मुलुक विस्तारै पराधिनताको शिकार हुने बाटोमा हिडिरहेको छ यस्तो अवस्थामा यीनै दल र तिनका दलाल नेता अब चाहिन्न भन्ने संदेश स्थानीय चुनावमा जनताले दर्शाएको पाएपछि सञ्चारकर्मी रबी लामेछाने मैदानमा उत्रिएका छन । उनले अरुले जस्तो स्वतन्त्र उमेद्धारी मात्र दिदै छैनन । स्वतन्त्र भन्ने शव्दलाई नै अर्थात देशै भरी रहेका कुनै दलको दलदलमा नफसेका क्षमतावान युवाहरुको नेतृत्व लिने हिसावले आफ्नो पार्टीको नाम नै राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरि दिएका छन । अब कुनै पनि मानिस मुलुकमा स्वतन्त्र हुने छैन उसको स्वतन्त्रता रबी सँग समाहित भएको मानिने गरी उनले पार्टीको नामाकरणमा नै चातुर्यता देखाई सकेका छन ।
“माने मान नमाने समात्छु तेरा कान” भने झै कुनै पार्टीमा नभएका सवै स्वतन्त्र रबीको पार्टीको हिस्सा भईसकेका छन । म पनि अब त्यसैको एउटा सदस्य स्वत भएको महसुस गर्दैछु । त्यसमा मेरो विरोध र समर्थनको कुनै अर्थ छैन । किनकी अब म स्वतन्त्र रहिन । स्वतन्त्र शव्दको अपहरण भईसकेको छ । अब स्वतन्त्र शव्दको ठाउँमा कुनै विद्धानले अर्को शव्द जन्माए हेरौला ।
रबी लामिछानेलाई सफल राजनैतिक भविश्यको लागि शुभकामना छ । उनले टेलिभिजनका पर्दाहरुमा लामो समयसम्म लगातार रुपले राजनैतिक दल, सरकार र कर्मचारी संयन्त्र तथा सुरक्षा निकायहरुको खबरदारी गरेर जनताको मन जितेका छन । औपचारिक शिक्षाको उच्च डिग्री उनको हातमा नभए पनि उनको तार्किकता र बौद्धिकतामा कुनै कमि देखिन्दैन । उनले बेथितिका विरुद्धमा देशलाई ठुलो आवाज दिएका छन । उनले ठुलो जनविश्वास जितेका छन । अब उनलाई राजनितीमा आउन पर्छ भन्नेहरुलेका लागि एउटा ऐतिहासिक मौका आएको छ हेरौ खुलेर सहयोग गर्दछन या लुकेर । धरानका मेयर हर्क साम्पांगलाई झै रबीलाई लुकेर भोट दिएर पुग्दैन । किनकी उनले आफू जस्तै सोच राख्ने तमाम युवाहरुलाई साथमा लिएर हिड्न चाहेका छन र त्यो आँट एवं हिम्मतकासाथ नयाँ पार्टी नै बनाएर राजनीतिमा होमिएका छन ।
यो पक्का हो अब ‘रबी’ र उनको पार्टीमाथि उपहास र घनघोर आक्रमण दुवै एकै पटक हुनेछ । राजनीतिलाई पुर्ख्याैली बपौती ठानेर बसेका दलहरुको हेडक्वाटरमा भुकम्प जान थालेको हुँदा अब सवै दल अघोषित रुपमा स्वतन्त्र उमेद्धार वा स्वतन्त्र पार्टीका विरुद्धमा खनिनेछन । उनीहरुको आक्रमणलाई रबीले थेग्न सक्ने हुन होईनन त्यो भविष्यले बताउने छ । तर रबीको तयारी हेर्दा भने नेपालमा उनको पार्टीले भारतमा उदाउदो आम आद्मी पार्टीको रुप नलेला भन्न सकिन्न । राजनैतिक दलहरुको जनतासँग सम्बन्ध टुटदै गएको, राष्ट्रघाती काममा अघि सरेको, महंगीले आकाश छोएको बेला र चुनाव पनि नजिकिएको बेला उनको दलको गठन उपयुक्त समयको उपज हुन सक्ने देखिन्छ ।