Wednesday 1st May 2024

देउवालाई प्रचण्ड तर्साउने, ओली भडकाउने र माधव फकाउने


तोयानाथ उपेक्षित, तीतोपाटी / स्थानीय तहको चुनाव जति नजिक आउदैछ त्यो सँगै एउटाले अर्का विरुद्ध गर्ने चुनावी प्रचार शैली फरक रुपमा देखिएको छ । चुनावी दाउपेच कमजोर देखिएपछि समिकरण सवैको लागि बाध्यता बन्दै गएको छ । कसले कति बेला को सँग हात मिलाउछन् भन्ने भय र अविश्वासले एक अर्कालाई बाँधेको देखिन्छ । आफैमा विश्वास गुम्दै गएपछि राजनितीक भविष्य खोज्न समिकरणको कसरत चल्दैछ तर यसको समर्थन र विरोधमा प्रकट विचारहरु पनि बहसमा आईरहेका छन् । सत्ता र शक्तिको लागि हुने रणनैतिक चालबाजीहरुको केन्द्रमा भने वर्तमान प्रम शेर बहादुर देउवा छन् । उनलाई कसैले भडकाउने, कसैले तर्साउने र कसैले फकाउने गरिरहेका छन् । स्वयं देउवाले अहिलेको अवस्थालाई कसरी संयोजन गर्ने भन्ने स्पष्ट योजना निकाल्न सकिरहेका छैनन् ।

नेकपा माओवादी अध्यक्ष प्रचण्ड देउवालाई तर्साएर स्थानीय निर्वाचनमा समिकरण गर्ने चालबाजीमा छन् भने माधव नेपाल देउवालाई फकाएर मिलाउने भाग खोज्ने रणनितीमा छन् । उता प्रमुख प्रतिपक्षी दलका नेता केपी ओली भने पाँच दल नटुट्ने देखेपछि केही हदसम्म आतिएका छन तर उनले त्यो मनस्थितीलाई सतहमा प्रस्फुटन हुन दिएका छैनन बरु एक्लै होईन सवै आओ । एकै पटक आओ भन्ने हाँक दिईरहेका छन । उनको यो चातुर्यता शिवाय केही होईन । यसो त एक्ला एक्लै आए एमालेलाई कसैले पछार्न सक्दैन भन्ने कुरामा सवैको मतैक्यता छ । कांग्रेसको ईतिहास र हिजोको विरासत शेर बहादुर डराएर गुमाउन लागेको कांग्रेस भित्रै चर्चा चलिरहदा ओली तिनै कांग्रेसीजनलाई भडकाउन विभिन्न ढंगले बोल्ने गर्दछन । देउवा ईतर शेखर कोईराला खेमामा ओली मज्जाले खेलिरहेका छन । काग्रेसीहरुलाई अनावश्यक रुपमा डर देखाएर माओवादी र नेपाल समुहले आफ्नो भाग सुरक्षित गर्ने रणनिती बनिरहदा कांग्रेस भारतको कांग्रेस आई जस्तो सकिएर त जादैन भन्ने शंका पनि कांग्रेसी नेताहरुमा छ ।

उता प्रचण्ड झन भए खतरनाक खेलाडी । उनीमाथि कांग्रेसले उति साहो भरोसा गर्दैन तर उनकै जोडबलमा अहिले शेर बहादुर प्रधानमन्त्री पदमा रहेकाले प्रचण्डलाई विश्वास गर्नै पर्ने बाध्यता कांग्रेसमा छ । देउवालाई तर्साउन कहिले कसो बाम एकताको कार्ड पनि प्रचण्डले खेल्ने गरेका छन । अगुल्टाले हानेको कुकुर विजुली चम्कदा तर्सन्छ भने जस्तो अघिल्लो पटकको चुनावमा आफू सभापति र सरकारमा रहदा रहदै बाम एकताले देउवालाई पुच्छरमा पुरयाएको देउवाले भुल्न नसकेका बेला प्रचण्ड देउवालाई आफ्नो रणनिती अनुसार हिडाउन अहिले सम्म सफलै छन तर यो अवस्थामा कति बेला परिर्वतन हुन्छ भन्न सकिन्न । कांग्रेस पनि त्यति धेरै विश्वास गर्ने शक्ति चाहि होईन । किनकी त्यहाँ देउवाको विरुद्धमा ठुलै कांग्रेसी जमात मौकाको पर्खाइमा छँदैछ । कतै प्रचण्डलाई छाड्ने हो भने उनी ओलीसँग टाँसिने हुन् की भन्ने चिन्ता देउवामा छ । यसैले यसपटक प्रचण्डलाई आफ्ना नेता कार्यकर्ताले चित्त दुखाए भने देउवाको मन कटक्क खान्छ । प्रचण्ड र माधव नेपाल मिसाएर लडदा पनि नजितिने हो की भन्ने देउवाको भयलाई विश्वस्त ढंगले दुर गर्न काग्रेस भित्रैको देउवा ईतर समुहले पनि नसकिरहेको अवस्थामा पाँच दलिय गठबन्धन तोड्न एमालेलाई सजिलो छैन ।

ओलीले पाँच दललाई सत्ताबाट विस्थापित गर्ने गतिलो माध्याम चुनाव मात्र भएको बुझेका छन र उनले चुनावलाई शुरु देखि नै जोड दिई रहेका छन । यो कुरा राम्रो सँग बुझेका पाँच दलले गठबन्धन कायम नराखे नराम्रो पराजय भोग्न पर्ने देखिसकेकोले होला पाँच दल अलग अलग भएर चुनावमा जान डराएका छन् । गठबन्धन कायम राख्न जोड गर्नका पछाडीको कारण के हो भने एमाले फुटले उसको शक्ति घटेको छैन भन्ने स्वीकारोक्ति पनि हो । केन्द्रमा र सवै प्रदेशमा एमालेलाई पाखा लगाउन सफल भएकोमा उनीहरु अति नै खुशी छन तर त्यो खुशी कतै पानीको फोका त हुने होईन भनेर उनीहरुले कहिले सत्ताको आयु लव्याउने, कहिले निर्वाचन आयोगलाई आफू अनुकुल फैसला गर्न लगाउने जस्ता हर्कत देखाई रहेका छन् । यदि एमालेको एकल बहुमत आएमा माधव नेपाल ललिता निवास प्रकारणमा र प्रचण्ड युद्धकालिन अपराधका मुद्धाहरु त्यसरी नै केन्टोमेन्टको घोटलामा ओलीले फसाई देलान भनेर त्रसित पनि छन जसले गर्दा गठबन्धन कुनै पनि मुल्य चुकाएर कायम राख्न उनीहरु नचुक्ने लक्षण देखिएको छ । एमसीसीको अडानलाई प्रचण्ड र माधव नेपालले जसरी चटक्कै छाडे त्यो सत्ताका लागि मात्र नभएर अस्तित्वका लागि पनि थियो भन्ने दुनियाले बुझेको कुरा हो । एमसीसी प्रकरणमा माधब प्रचण्डको युर्टनको संकेतले गठबन्धन तोड्न सहज छैन भन्ने सहजै संकेत गरेको छ । एमालेलाई आगामी निर्वाचनबाट सत्तामा आउन कुनै हालतमा नदिने उनीहरुको प्रयास सफल वा असफल के हुन्छ त्यसको निर्णय त जनताले मात्र गर्दछन् ।

यति सवै कुरा बुझेका ओली, उनीहरुलाई फुटाउने पहिलो अस्त्र नाकायाव हुने देखे पछि बाटो बदलिएर अघि बढिसकेका छन । संगठन विस्तार, निर्माण र अरु दलका नेता कार्यकर्ता आफ्नो पार्टीमा तान्ने, उनीहरुलाई सम्मान दिने, पद दिने, टिकट दिने लगायतका सवै प्रयास र उपायको खोजिमा उनी केही हदसम्म सफल हुँदै गएका छन् । यहि क्रम निरन्तर रुपमा संघिय चुनावसम्म रहने हो भने पाँच दलिय गठबन्धनको केही शिप लाग्ने छैन । अन्तिम दिनसम्म पुग्दा पाँच दलिय गठबन्धनमा नपरेका दलहरु ओलीको गठबन्धनमा समट्ने योजना पनि ओलीसँग छ ।
यसर्थ तर्साउने, भडकाउने, हर्काउने र फकाउने शैलीको यस पटकको चुनाव शान्तिप्रिय र धाँधलीरहित हुनेमा शंकै छ ।


सम्बन्धित शीर्षकहरु

उत्तराखण्ड सरकारले योगगुरु बाबा रामदेवको आयुर्वेद कम्पनी पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज गरेको छ । सरकारले सर्वोच्च अदालतलाई यस्तो बताएको…

बंगलादेशको उच्च अदालतले गर्मीका कारण सोमबार देशभरका विद्यालय बन्द गर्न आदेश दिएको छ । अदालतले आगामी आइतबारसम्म विद्यालय बन्द गर्न आदेश…

उत्तरी पेरुको पहाडी सडकबाट एउटा बस खाल्डोमा खस्दा कम्तीमा २५ जनाको मृत्यु हुनुका साथै एक दर्जनभन्दा बढी घाइते भएको स्थानीय…

प्रतिकृयाहरू
...