Tuesday 20th January 2026

श्रममन्त्री श्रेष्ठको पहलमा दुई महिनादेखि दिल्लीमा अलपत्र महिलाको उद्धार


श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको पहलमा दुई महिनादेखि भारतको नयाँ दिल्लीमा अलपत्र एक महिलाको उद्धार गरिएको छ । वैदेशिक रोजगारीको शिलशिलामा भारतको दिल्ली हुँदै खाडी मुलुक युएई जान हिंडेकी मोरङ सुन्दरहरौंचाकी ३२ बर्षीया महिलाको दुई महिनापछि उद्धार गरिएको हो ।

उर्जेन लामा नाम गरेका व्यक्तीले वैदेशिक रोजगारीको प्रलोभनमा भारतको नयाँदिल्ली पुर्याएको र त्यहाँबाट पर्यटन भीसामा दुबई लैजाने बताएपनि झण्डै दुई महिनासम्म अलपत्र पारेपछि उनले उद्धारका लागि श्रममन्त्रीको सचिवालयमा रहेको गुनासो सेन्टरमा खवर गरेकी थिइन् । उनले लामो समय बन्धकजस्तै भएको र उपचार समेत नपाएको गुनासो गरेकी थिइन् ।

मन्त्री श्रेष्ठले नयाँ दिल्ली स्थित नेपाली दूतावास तथा प्रहरीको सहयोगमा उद्धारका लागि पहल गर्नुभएको थियो । स्थानीय एजेन्ट शम्भु लामालाई प्रहरीले नयाँदिल्लीमा पक्राउ गरी उनको रकम फिर्ता गराएको थियो । दिल्ली महिला आयोगको सहयोगमा बेचबिखन विरुद्ध कार्यरत संस्था ‘आफन्त नेपाल’ले उनलाई उद्धारपछि सेल्टरमा राखेको थियो । उद्धार गरिएकी महिलाले सोमवार मन्त्री श्रेष्ठलाई भेटी दलाललाई कारवाही गर्न माग गरिन् । प्रहरीले लामाको खोजी गरिरहेको छ ।

२०७२ सालमा नेपाली महिलालाई घरेलु कामदारका रूपमा खाडी मुलुक जान रोक लगाइएपछि दलालहरूले ग्रामीण भेकका अशिक्षित महिलालाई विभिन्न प्रलोभनमा पारी भारत पुर्याउने र त्यहाँबाट खाडीलगायत देशमा पठाउने गरेको पाइएको छ । अहिले लाखौं महिला भारतीय बाटो हुँदै विदेशिन बाध्य छन् । महिलाहरूलाई विदेश पुग्ने क्रममा हुने दुःख र उत्पीडनबाट जोगाउन विद्यमान नीतिमा परिवर्तन जरुरी देखिएको मन्त्री श्रेष्ठको भनाइ छ ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...