Monday 30th March 2026

वर्षौंदेखि घर फर्कन नपाएका घरेलु महिला श्रमिकको पक्षमा निर्णय


तीतोपाटी डटकम-सरकारले विभिन्न मुलुकमा घरेलु कामदारका रूपमा रहेका नेपाली महिलालाई स्वदेश आएर पुन: फर्कन पाउने व्यवस्था गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै रोजगारी गुम्ने डरले परिवार भेट्न नेपाल आउन नसकेका घरेलु कामदारलाई पुन: श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था गरेका हुन्।

खाडी लगायत मुलुकमा नेपाली महिलालाई घरेलु कामदारका रूपमा जान प्रतिबन्ध लगाएका कारण वर्षौँदेखि ती देशमा काम गरिरहेका महिलाले रोजगारी गुम्ने डरका कारण बिदामा घर आउन पाएका थिएनन् ।

वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउने निर्देशिका, २०७२ को दफा २३ बमोजिम बाधा अड्काउ फुकाउने अधिकार प्रयोग गरी मन्त्री श्रेष्ठले अप्ठयारोमा परेका महिलाहरूलाई पुन: श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था गरेका हुन् ।

वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउने निर्देशिका अनुसार बनेको समन्वय समिति र मन्त्रालयले गठन गरेको अध्ययन समितिले पनि प्रतिबन्ध लाग्नुभन्दा पहिल्यैदेखि नै ती मुलुकमा घरेलु कामदारका रूपमा काम गरिरहेका र पछि अवैध रुपमा गएका महिलाहरू परिवार भेट्न नेपाल आउन नसकेको भन्दै उनीहरुको पक्षमा निर्णय गर्न सिफारिस गरेको थियो । प्रतिबन्ध नलाग्दै खाडी पुगेका तथा पछि अवैध बाटोबाट गएका घरेलु कामदारहरू रोजगारदाताको व्यवहार र कमाइ राम्रो भए पनि नेपाल फर्केपछि श्रम स्वीकृति नपाउने भएकोले फर्किन सकेका थिएनन् ।

पहिलेकै रोजगारदातासँग सम्झौता नविकरण गरी विदामा स्वदेश आई फर्कने वा पहिलेकै रोजगारदातासँग सम्झौता नविकरण गरी रोजगारीमा जाने महिलालाई कानुनी शर्त पुरा गरेर पुन: श्रम स्वीकृति दिने र सम्वन्धित देशको नियोग र वैदेशिक रोजगार कार्यालयले उनीहरुको छुट्टै अभिलेख राख्ने व्यवस्था गरिएको छ ।
खाडी लगायत देशमा महिला कामदार पठाउन प्रतिबन्ध लगाइए यता महिलाहरू अनौपचारिक मार्ग प्रयोग गरी विदेशिने गरेका छन् । जसले गर्दा उनीहरूलाई जबरजस्ती श्रम र बेचबिखन जस्ता जोखिममा पारेको छ । प्रतिबन्धका कारण महिलाहरू सुरक्षित हुने भन्दा थप जोखिममा परेको मन्त्री श्रेष्ठले बताए ।

अवैध रूपमा गएका महिलाको कुनै अभिलेख नहुनु, शोषण, बेचबिखन तथा ठूलो सङ्ख्यामा श्रम गन्तव्य मुलुकमा अलपत्र परेका छन् । २० चैत २०७३ मा व्यवस्थापिका–संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले खाडी र अन्य मुलुकमा घरेलु कामदार पठाउन पूर्णरूपमा प्रतिबन्ध लगाउन निर्देशन दिएको थियो ।

सरकारले घरेलु कामदार पठाउन प्रतिबन्ध लगाएका कारण अवैध बाटोबाट जाने कामदार झनै जोखिममा परेका छन् । यसको समाधानका लागि पनि सरोकारवालाहरुसँग फलफल गरी छिट्टै निर्णयमा पुगिने मन्त्री श्रेष्ठले बताएको रातोपाटीले छापेको छ ।


सम्बन्धित शीर्षकहरु

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

प्रतिकृयाहरू
...